0
  • खुद्रा पसलदेखि डिमार्टमेन्ट स्टोरसम्म छुट : आपूर्तिमन्त्री बोहरा
  • अधिकांश सामानमा एमआरपी मूल्यको २५ रुपैयाँसम्म छुट दिन्छौं : खुद्रा व्यापार सघ

  • आश्विन १, २०७३- चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। दैनिक उपभोग्य सामग्री बिक्री गर्ने सरकारी संस्थान र जिल्ला प्रशासन कार्यालयहरूको सहकार्यमा सरकारले यस्ता पसल सञ्चालन गर्न लागेको हो। उपभोग्य वस्तुमा विशेष छुटसहित यस्ता पसल सञ्चालनको सबै तयारी सकिएको मन्त्रालयले जनाएको छ।
    ‘सहुलियत पसलका लागि सम्पूर्ण तयारी भइसकेको छ,’ आपूर्तिमन्त्री दीपक बोहराले भने, ‘असोज १ गते (शनिबार) देखि सर्वसाधारणले छुट पाउनेछन्।’ चाडपर्वलाई लक्षित गरी खुद्रा पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म छुट हुने बोहराले बताए।
    सहुलियत पसल उपत्यकामा १३ र जिल्लाबाहिर २५ ठाउँमा सञ्चालन हुनेछन्। अन्य जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासनले माग गरे पसलको व्यवस्था मिलाइने बोहराले बताए। यस्ता पसलबाट चाडपर्वमा चाहिने आवश्यक खाद्यान्न, खसीबोकालगायत बिक्री हुनेछन्। पसलका लागि नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र खाद्य संस्थानले व्यवस्थापन गर्दै आएका छन्। साल्ट ट्रेडिङले नुन, चिनी, चामल, पिठो, मैदा, दाल, गेडागुडीको व्यवस्था मिलाउनेछ। साल्टले प्रतिकिलो चिनीमा ५ रुपैयाँ छुट दिनेछ। नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइनेछ। यस्तै अन्य ७८ प्रकारका खाद्य वस्तुहरूमा थप छुट दिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए।
    नेसनल ट्रेडिङले विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा उपलब्ध गराउँछ। खाद्य संस्थानले चामल र गहुँ उपलब्ध गराउँछ। संस्थानले १५ थरीका चामल, चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ। दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ। पनिरमा प्रतिकिलो ५ रुपैयाँ छुट दिनेछ। उपत्यका चक्रपथ आसपासका मुख्य बजारमा तीनवटा गाडीद्वारा घुम्ती सेवा पसल सञ्चालन हुनेछ। त्यस पसलबाट एक व्यक्तिले नुन ३ केजी र चिनी ६ किलोसम्म किन्ने पाउनेछन्।
    चाडपर्वकै लागि मन्त्रालयले इन्धनको मूल्य करिब ५५ दिन नबढाउन आयल निगमलाई निर्देशन दिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ। हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ छ।
    मन्त्रालयका अनुसार सहुलियत पसलहरू उपत्यकाभित्र रामशाहपथ (सिंहदरबार), थापाथली, नख्खु, टेकु, जडीबुटी (कोटेश्वर), सूर्यविनयाक (भक्तपुर), बूढानीलकण्ठ (नारायणस्थान), बौद्ध, सतुंगल, नयाँ बानेश्वर, कालिमाटी (साल्ट ट्रेडिङ परिसर) मा सञ्चालन हुनेछन्। उपत्यका बाहिर कृष्णनगर, सुर्खेत, नेपालगन्ज, टीकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशूली, बैतडी, हटौंडा, पोखरामा सञ्चालन हुनेछन्।
    अछाम, बाजुरा, बझाङ, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, बाग्लुङ, भैरहवालगायत स्थानमा पसल सञ्चालन गरिनेछ। यीबाहेक उपत्यकामा मोबाइल भ्यानबाट पनि बिक्रीको व्यवस्था गरिएको जनाएको छ। यसअघिको वर्षमा पनि मोबाइल भ्यानबाट बिक्री गर्ने भनिए पनि पूर्ण रूपमा कार्यान्वयन भने हुन सकेको छैन।
    चाडपर्वकै अवसरमा खुद्रा व्यापारीले पनि छुट दिने भएका छन्। व्यापारीले हरेक सामानको खरिदमा ५ देखि २५ रुपैयाँसम्म छुट दिने जनाएका छन्।
    ‘सामानको एमआरपीमै २५ रुपैयाँसम्म छुट दिनेछौं,’ खुद्रा व्यापर संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘छुट संघसँग आबद्ध पसलहरूमा पाइनेछ।’ उनका अनुसार संघसँग आबद्ध व्यापारीले दसैंतिहारको ब्यानर नै राखेर बिक्री गर्नेछन्। यसको सुरुवात असोज १ गते इन्द्रचोकबाट औपचारिक कार्यक्रममार्फत घोषणा गरिने बज्राचार्यले बताए। दसैंको अवसरमा खुद्रा व्यापारीहरूले नुन, तेल, चिनी, दाललगायतका खाद्यान्नमा छुट दिने मन्त्रालयँसग समझदारी गरिसकेका छन्।
    जसअनुसार खुद्रा व्यापारीले नुनमा २ रुपैयाँ चिनीमा ५ रुपैयाँ, खाने तेलमा १० रुपैयाँ र दालमा १० रुपैयाँ छुट दिनेछन्। यसका लागि साल्ट टेड्रिङले ५ हजार बोरा (२ सय ५० क्विन्टल) चिनी, ३ हजार बोरा (एउटा बोरामा ५० किलो) नुन र १ लाख लिटर तेल संघलाई बिक्री गर्नेछ। सोहीअनुसार खुद्रा व्यापारीले सर्वसाधारणलाई छुट दिनेछन्। भाटभटेनी सुपर मार्केटले पनि २ सय ४० प्रकारको खाद्यान्नमा करिब १५ प्रतिशतसम्म छुट दिने समझदारी भएको मन्त्रालयले जनाएको छ। चाडवाडमा उपभोक्तालाई खाद्यान्नलगायत अत्यावश्यक वस्तुमा सहुलियत दिन सरकारले बर्सेनि सहुलियत पसल सञ्चालन हुँदै आएको छ। सुपथ मूल्य पसलमा गेडागुडी, तरकारी, फलफूल चिउरालगायत वस्तु सार्वजनिक संस्थानबाट मुनाफा घटाएर बिक्री वितरण हुन्छ। उक्त पसलबाट उपभोक्ताले बजार भाउभन्दा केही प्रतिशत सस्तोमा सामान किन्न पाउँछन्। उपभोक्तालाई दिइएको छुट रकम अर्थ मन्त्रालयले उपलब्ध गराउँछ। तर, सार्वजनिक संस्थानहरूले भने क्षतिपूर्ति रकम प्राप्त गर्ने गरेका छैनन्।
    हवाई इन्धन सस्तियो
    नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ घटाएको छ। चाडपर्वको अवसरमा सर्वसाधारणलाई सहुलियत दिन शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य घटाएको हो।
    ‘दसैंको अवसरमा उपभोक्तालाई राहत दिन मूल्य घटाउने निर्णय गरेका हौं,’ आपूर्तिमन्त्री दीपक बोहराले भने, ‘घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुन्छ।’ दुर्गम जिल्लाका सर्वसाधारणलाई मध्यनगर गर्दै हवाई इन्धनमा मूल्य घटाइएको उनको भनाइ छ। निगमका प्रवक्ता भानु खनालका अनुसार हाल हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९९ रुपैयाँ छ।
    राति १२ बजेदेखि ९४ रुपैयाँमा उपलब्ध हुनेछ। यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ९४ रुपैयाँ छ। अब ८९ रुपैयाँमा उपलब्ध हुनेछ। उनले भने, ‘अब हवाई जहाजको टिकट मूल्य पनि घट्ने विश्वास छ।
    Source: http://kantipur.ekantipur.com

    Post a Comment

     
    Top