0
आश्विन १, २०७३- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी छन् । केटिएम सेक्युरिटी सर्भिसमा कार्यरत २४ वर्षीया महिलाले केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह र कलाकार पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजूरी दिएकी हुन् ।
कलाकार पन्त केटिएम सेक्युरिटी सर्भिसका ब्राण्ड एम्बेसडर हुन् । शुक्रबार मध्यरातमा प्रतिष्ठानको  गर्ल्स होस्टेल प्रवेशद्वारमा सुरक्षाका लागि उभिइरहेको बेला आफूलाई पन्तले संवेदनशील अंगमा हात लगेको र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधेको आरोप उजूरीमा छ ।
त्यसबेला पन्तसँगै केटीएमका सञ्चालक अध्यक्ष रामेश्वर साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङलागयत पाँच जनाको समूह महिला होस्टलमा पुगेका थिए । प्रतिष्ठानको महिला होस्टलमा बेलुका ११ बजेपछि जोसुकै आएपनि प्रवेश निषेध गरिएको छ ।
केटिएमकै अध्यक्ष साहले ‘हामी आएपछि केको नियम चाहिन्छ, महिला होस्टलको गेट खोल’ भनेर हप्काएपछि गेट खोल्नु बाध्य भएको पीडित महिलाले बताइन् । साहले पनि आफूलाई श्रीमान् भए नभएको, छोराछोरी भए नभएको, केटिएममा काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबड भएको भनेर सोधेको पीडित महिलाले बताइन् । उनले भनिन्, ‘सुरक्षा गार्ड नै आफ्नै सिनियरहरुबाट र कलाकार भनौदाहरुबाट असुरक्षित भएपछि कसरी अरुको सुरक्षा गर्न सकिन्छ ? यस्ताहरुलाई कारवाही नभए काममा फर्किन्न ।’
साहले नीजि प्रश्न सोधेर हैरान बनाए लगत्तै पन्तले यौन दुव्र्यहार गरेको पीडित महिलाले बताइन् । केटीएम सेक्युरीटि सर्भिसमा १२ महिला सुरक्षाकर्मी कार्यरत छन् ।
महिला अधिकारकर्मी मन्जु भण्डारीले दोषीउपर कारवाही गर्न माग गरिन् । भण्डारीले भनिन्, ‘रातको समयमा चिकित्साशास्त्र अध्ययरत युवतीहरु बस्ने गर्ल्स होस्टलमा प्रवेश गर्नुको उदेश्य के थियो र आफ्नै महिला सुरक्षा गार्डमाथि यौन दुर्व्यवहार गर्नुको कारण नखुलेसम्म छाड्ने छैनौं ।’
प्रहरी नायव निरीक्षक ढकेन्द्र खतिवडाले उजूरीको आधारमा आरोपित पक्षलाई पक्राउ गरी अनुसन्धान गर्ने बताए ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top