0

आश्विन १, २०७३- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा २१ वर्ष नेतृत्व गरेका गणेश थापालाई दस वर्ष प्रतिबन्ध लगाएको दस महिना भइसकेको छ। तर, उनी अहिलेसम्म पनि नेपाली फुटबलमा प्रभावशाली छन्। उनी कारबाहीमा परेयता कार्यवाहक अध्यक्षका रूपमा नरेन्द्र श्रेष्ठले नेपाली फुटबल हाँकिरहेका छन्। उनी थापाका विश्वासपात्र हुन्।
उपाध्यक्ष कर्माछिरिङ शेर्पाले तीन वर्षअघि एन्फामा भ्रष्टाचार गरेको र एक्लौटी ढंगले सञ्चालन गरेको भन्दै थापाविरुद्ध अभियान थालेका थिए। त्यसबीच उनीसहित विद्रोहमा लागेका चार पदाधिकारीलाई थापाले निलम्बन गरेका थिए। तर, थापालाई कारबाही गरेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले उनीहरूलाई पुनर्बहाली गरिदियो। त्यसैले कात्तिक ८ गते हुने एन्फा अध्यक्षको निर्वाचन कर्माछिरिङविरुद्ध गण्ोश थापाको अघोषित प्रतिस्पर्धा बनेको छ।
सार्वजनिक रूपमा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा तासी छिरिङले मात्र गरेका छन्। एन्फाको पूर्वउपाध्यक्षसमेत रहेका उनी मनाङ–मस्र्याङदीका पूर्वअध्यक्ष पनि हुन्। प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा पनि अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ। उनी पनि गणेश थापानिकट मानिन्छन्। त्यसैले थापा नरेन्द्र श्रेष्ठलाई जिताउन लागेपछि शर्माको उम्मेदवारी अनिश्चित बनेको छ। उनले खुलेरै चुनावी अभियान थालेका पनि छैनन्।
टासी, कर्माछिरिङ र नरेन्द्रको अभियान भने तीव्र बनेको छ। आ–आफ्ना समर्थकलाई समेट्न विशेष अधिवेशनका लागि जिल्ला, क्लब र विभिन्न समितिको प्रतिनिधि छनोटमै सक्रिय भएका छन्। ‘एएफसी र फिफालाई देखाउन पनि एकपटक नरेन्द्र श्रेष्ठलाई जिताउनुपर्छ भनेर गणेश थापाले फोन गरेरै भनेका छन्,’ एक जिल्ला प्रतिनिधिले भने, ‘फुटबल गतिविधिमा सहभागी हुन प्रतिबन्ध लागेका व्यक्ति यसरी सक्रिय हुनुले नेपाली फुटबललाई राम्रो गर्दैन।’
प्रतिनिधि छनोटमै विवाद
एसियाली फुटबल महासंघ (एएफसी) र फिफाको निर्देशनमा हुन लागेको विशेष अधिवेशनमा ६९ जना मताधिकारसहितका प्रतिनिधि हुनेछन्। त्यसमा ४५ जिल्ला, राजधानीका ‘ए’ डिभिजनमा १२ क्लब ‘बी’ डिभिजनका ५ र ‘सी’ डिभिजनका ३ क्लब हुनेछन्। त्यस्तै, प्रशिक्षक, खेलाडी संघ, महिला र रेफ्री समितिलाई पनि १–१ मताधिकार रहेको छ। उनीहरू सबैले महाधिवेशन प्रतिनिधि शुक्रबारसम्म दर्ता गराएका छन्। त्यसमध्ये सिन्धुपाल्चोक, पर्सा र सर्लाही जिल्ला तथा फ्रेन्ड्स क्लबको प्रतिनिधि छनोट विवादित बनेको छ। ‘उनीहरूबाट २–२ वटा लिस्ट आएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘एन्फा सचिवालयबाटै विवाद टुंग्याउने प्रयास गर्नेछौं। त्यसमा सहमति नभए पुनरावेदन समितिले विवाद सल्टाउनेछ।’
जिल्ला र क्लबबाट कसको समर्थक प्रतिनिधि हुने भन्नेमै विवाद देखिएको हो। एन्फामा मनोनीत उपाध्यक्षसमेत रहिसकेका वीरबहादुर खड्काले सहायक महासचिवबाट राजीनामा दिएर अधिवेशन प्रतिनिधि बन्न गएपछि सिन्धुपाल्चोकमा विवाद निस्किएको हो। गणेश थापाका विश्वास पात्र रहेका उनी अहिले नरेन्द्र श्रेष्ठको प्रचार अभियानमा सक्रिय छन्। श्रेष्ठ गुटबाट गणेश थापाका सालो मणि कुँवरलाई उपाध्यक्ष (ललितकृष्ण श्रेष्ठको मृत्युपछि रिक्त रहेको पद) लाई उम्मेदवारका रूपमा प्रचार गरिएको छ।
थापानिकट गुटलाई भत्ता वृद्धि
गणेश थापाका छोरा गौरव थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ नियुक्त गरेका नरेन्द्र श्रेष्ठले आफू निकट पदाधिकारीलाई भत्ता वृद्धि गरेको रहस्य खुलेको छ।
विद्रोही पदाधिकारीलाई पुनर्बहाली गरिएको १९ जेठको कार्यसमिति बैठकले यातायात तथा इन्धन र अन्य सुविधाका लागि भन्दै कार्यवाहक अध्यक्ष श्रेष्ठलाई मासिक ३५ हजार, महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र प्रमुख कार्यकारी अधिृकत तुलाधरलाई ३०–३० हजार, सहायक महासचिव सञ्जीव मिश्र, सहायक कोषाध्यक्ष रवीन्द्र जोशी, सहायक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने र केन्द्रीय सदस्य दिनेश व्यञ्जनकारलाई २०–२० हजार दिने निर्णय गरेको थियो। श्रेष्ठलगायत पदाधिकारीले यसअघि मासिक १२ हजार रुपैयाँ मात्र पाउने गर्थे। मिश्र भने थापानिकट मानिंदैनन्।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top