0
भाद्र ५, २०७३- बैंकक-एसिया प्रशान्त रोबोट प्रतियोगिता-२०१६ मा आइतबार नेपाल ले 'वेस्ट इञ्जिनियरिङ एवार्ड' र 'पानासोनिक एबार्ड' प्राप्त गरेको छ । उक्त प्रतियोगितामा १६ देशका प्रतियोगीले भाग लिएका थिए ।
इञ्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक क्याम्पसको रोबोटिक क्लवले तयार पारेको रोबोटले आइतबार को अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको हो ।
यस अघि नेपाल र  मलेसियाबीचको पहिलो खेलमा दुबै देशले ६० अंक प्राप्त गरेपछि ड्र भएको थियो । पुन अर्को पटकको खेलमा मलेसिया ले नेपालले ल्याएको ६० अंकको दाँजोमा १००अंक ल्याएर  नेपाललाई उछिनेको थियो ।
पुनः भारतसँगको खेलमा नेपालले ६० अंक प्राप्त गर्‍यो भने भारतले १०० अंक बटुल्यो । भारतको हातले सञ्चालन(म्यानुवल) गर्ने रोबोट थियो भने नेपालको पूर्ण स्वचालित रोबोट थियो ।
नेपालले दुई खेले गरी १२० अंक प्राप्त गर्‍यो । शुन्य अंक  ल्याउने देश हरूमा कोरिया,फिजी, कजाकिस्तान, पाकिस्तान, इजिप्ट थियो ।
आइतबारको प्रदर्शनमा हाइब्रिड रोबोटले इको रोबोटलाई हावाको शक्ति दिँदै खेल मैदानमा अगाडि बढाएको थियो । सञ्चालनको लागि हाइब्रिड रोबोटसँग ब्याट्रीको शक्ति भएपनि इको रोबोटसँग आफ्नो कुनै शक्ति थिएन ।
खेल अन्तर्गत इको रोबोटले हावाबाट विद्युत निकाल्ने मिलको लागि गन्तव्यसम्म पखेटा बोकेर गएको थियो ।

खेलको अन्तमा हाइब्रिड रोबोटले इको रोबोटवाट पखेटा लिएर मैदानमा बनाइएको विन्ड मिलमा चढेर माथि टुप्पामा पखेटा लगाएको थियो ।
प्रतियोगितामा यो सबै काम रोबोटहरूले अधिकतम ३ मिनेट मा पुरा गर्नु पर्थ्यो । सबभन्दा कम समयमा आफ्नो काम फत्ते गर्ने रोबोट नै प्रतियोगितामा विजयी हुने थियो ।
रोबोट प्रतियोगिताको फाइनलमा मलेसियाले चीनलाई पराजित गर्दै विजयी भयो । नेपालको पहिलो खेल मलेसियासँगै भएको थियो । नेपाल भन्दा ५ राष्ट्रले मात्र बढी  अंक ल्याएका थिए ।
नेपाल, चीन, जापान, भारत, कोरिया, पाकिस्तान, मलेसिया, श्रीलंका, हङकङ, इजिप्ट, फिजी, इन्डोनेसिया, मंगोलिया, भियतनाम, कजाकिस्तान र थाइल्याण्ड गरी १६ देशका १७  टोली सहभागी थिए।
प्रतियोगितामा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक राजेश कायस्थ, अरुण तिमिल्सिना, शरद घिमिरे, जगत श्रेष्ठ, प्रकाश घिमिरे, इन्स्ट्रक्टर रमेश चौघरी र विद्यार्थीहरु गरेर ४९ जना सहभागी थिए ।
गत १६ वर्षदेखी रोबोटिक क्लव यो प्रतियोगितामा भाग लिँदै आएको छ।
रोबोटिक क्लवले यस्तै प्रतियोगिताहरूमा  भारतलाई यसअघि ६ पटक पराजित गरेको थियो ।
यति मात्र नभई नेपालले पाकिस्तान, रूस, दक्षिण कोरिया, फिलिपिन्स, कजाकिस्तान, फिजि, श्रीलंका, इरान, मलेसिया लगायतका राष्ट्रलाई पनि यस अघिका विभिन्न रोबोट प्रतियोगितामा हराएको हो ।
सिमित साधन स्रोत भएपनि बर्सेनि नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट हुँदै आएको छ ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top