0
नायिका रेखा थापा चलचित्र हिम्मतवालीमा काम गर्दा ६४ किलोकी थिइन् । ‘त्यतिबेला खानपानमा साह्रै रुचि थियो । डाइटिङ र एक्सरसाइज गर्ने फुर्सद पनि थिएन । त्यसैले धेरै मोटाएकी थिएँ । पर्दामा आफैंलाई देख्दा डर लाग्यो ।’ –रेखाले त्यतिबेलाको कुरा सम्झँदै भनिन् । अहिले रेखा अभिनीत ‘पलाँस’ प्रदर्शनका लागि तयार हुँदैछ । ‘पलाँस’ को टिजर युट्युबमा रिलिज भैसकेको छ ।

रेखालाई उक्त टिजरमा देख्नेहरू भन्दैछन्– ‘अब भने रेखा फेरि राम्री भइछन् ।’ हुन पनि ६४ बाट ६० र ६० बाट अहिले ५७ किलो हुन उनले खानपिनदेखि व्यायामसम्ममा सजगता अपनाइन् । आफ्नो तौल ५० किलोसम्म पुर्‍याउने लक्ष्य लिएकी ५ फिट ४ इञ्च अग्ली रेखा भन्छिन्– ‘५ इञ्चको हिल लगाएँ भने त मेरा सामु हिरोहरू नै फुच्चा देखिन्छन् ।’

नायिका प्रियंका कार्की कहलिएका नायिकाहरूमध्ये सबैभन्दा अग्ली छिन् । उनको उचाइ ५ फिट ७ इञ्च छ । प्रियंका केही नायकका अगाडि उभिनु छ भने फ्ल्याट सुज लगाउँछिन् । हिल लगाइन् भने उनी ती नायकहरूभन्दा धेरै अग्ली देखिन्छिन् । नाइँ नभन्नु–४ र वडा नम्बर ६ अघि केही मोटाएकी प्रियंका अहिले भने स्वात्तै घटेकी छिन् । उनको तौल अहिले ५२ किलो छ । केकी अधिकारीलाई उचाइमा सानी तर अभिनयमा अब्बल नायिकाका रूपमा लिइन्छ । उनको उचाइ ५ फिट २ इञ्च पनि छैन, तौल भने ५० किलो ।

कुनै बेलाकी नायिका दीपाश्री निरौलाले आफूलाई नायिकाबाट हास्य अभिनेत्री बनाएपछि टन्नै तौल बढाइन् । ५ फिट ४ इञ्च अग्ली दीपाश्रीको तौल ७० किलोभन्दा माथि पुग्यो । खानपिनकी सौखिन दीपाले अहिले तौल घटाएर ६६ किलोमा झारेकी छिन् । डाइटिसियनले उनलाई थप तौल घटाउन सुझाव दिएका छन् । दीपा भन्छिन्– ‘अहिले त छक्का–पञ्जाको दौडधूपले पनि घटेकी हुँ । व्यायाम गर्ने फुर्सद नै छैन ।’

सामान्यत: नेपाली चलचित्रका नायिकाको उचाइ धेरै हुँदैन । प्रियंका कार्की, ऋचा शर्माजस्ता दुई–चार जनालाई अपवाद मान्ने हो भने बाँकी सबै साढे ५ फिटभन्दा कम छन् । नायिका नीता ढुंगाना ५ फिट ४ इञ्चकी छिन् भने अशिष्मा नकर्मी ५ फिट ३ इन्च । अझ पछिल्लो समयकी व्यस्त नायिका वर्षा राउत ५ फिट २ इन्च मात्र अग्ली छिन् । नायिका नीता ढुंगाना आफ्नो तौल बढ्न नदिन निकै सजक रहन्छिन् ।

उनी अहिले ४८ किलोकी छिन् । अशिष्मा नकर्मी भने कहिले मोटाउने, कहिले दुब्लाउने भैरहन्छिन् । ‘फुर्सद भएर घर बस्नुपर्‍यो भने मेरो तौल एक–दुई किलो बढिहाल्छ, जब काममा व्यस्त हुन्छु, म घटिहाल्छु ।’ –अशिष्माले भनिन् । उनको तौल अहिले ४९ किलो छ । वर्षा राउत म्युजिक भिडियोबाट चलचित्रमा आएकी हुन् । पहिले उनको तौल सामान्य थियो ।

दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी वर्षा व्यायाम गर्न नपाएका कारण मोटाएकी थिइन् । अहिले भने उनी तौल घटाउने अभियानमा छिन् । दसैंसम्ममा ५० किलोमा झर्ने उद्देश्य लिएकी वर्षा हाल ५४ किलोकी छिन् । राउतकै समकालीन नायिका वर्षा शिवाकोटी आफ्नो उचाइ कम भएकाले तौल बढ्दा नसुहाउने बताउँछिन् । ५ फिट ३ इन्चकी वर्षाको तौल ५० किलो छ । चलचित्रतर्फ पाइला बढाइरहेकी मोडल सम्पदा बानियाँ ५ फिट ६ इञ्च अग्ली छिन्, उनको तौल ५६ किलो छ ।
Source: http://saptahik.ekantipur.com

Post a Comment

 
Top