0
आश्विन १, २०७३- मकवानपुरको हर्नामाडी गुम्बाडॉडामा शनिबारदेखि अन्तराष्ट्रिय चित्रकला कार्यशाला सुरु भएको छ  ।
चीन, भारत, बंगलादेश र बेलायतका चारसहित ३३ चित्रकारहरु सहभागी कार्यशालाको बंगलादेशकी ख्यातीप्राप्त चित्रकार फहमिदा इनाम काकोलीले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा वरिष्ठ चित्रकार गोविन्दराज डंगोल, भारतीय चित्रकार सुरेश के नायर, लक्ष्मण भुजेललगायतले चित्रकला कार्यशालाबारे प्रकाश पारेका थिए ।
‘अन्तराष्ट्रिय ख्याति प्राप्त चित्रकारहरुलाई एकै स्थानमा भेला गरेर चित्र बनाउन लगाएको नेपालमा नै यो पहिलो हो’, वरिष्ठ चित्रकार केके कर्माचार्यले भने, ‘यस्तो कार्यशालाले चित्रकारहरुको ऊर्जा बढाउँछ ।’ हर्नामाडी कला प्रतिष्ठानले कार्यशाला आयोजना गरेको हो ।
हेटौंडा बजारबाट १८ किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा २०६९ मंसिरमा १५ दिने अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो ।
सोज ५ गतेसम्म सञ्चालन हुने कार्यशालामा ४ विदेशीसहित अन्तर्राष्ट्रियस्तरका ३३ जना चित्रकारहरु रहेको आयोजक डा. तारालाल श्रेष्ठले बताए । कार्यशालामा कोरिएका चित्रहरु गुम्बाडाँडामा नै राखिने छ ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top