0
अहिले सम्झना भएअनुसार बल्लभमणि दाहाल, बासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, कुमारबहादुर जोशी, कृष्णप्रसाद पराजुली आदि थिए मञ्चमा । नेपाली भाषाको हिज्जे (ह्स्व/दिर्घ, पातलो/मोटो श) आदिमा एउटा मानक तयार गरेका छौं भन्दै ‘त्यो निर्णय कक्षाकक्षामा पुर्याउन आदेश दिइएको’ थियो ।
भाद्र २४, २०७३- ७७ बर्षीय मुकुन्दशरण उपाध्याय एक चिनिएका भाषाबिद् एवं साहित्यकार हुन् । ‘प्राकृत पोखरा’ काव्यकृतिका लागि उपाध्यायले २०२१ सालमा मदन पुरस्कार पाएका थिए । भाषिक शुद्धताको अभियानमा आधा शताब्दीयता ‘एक्लो बृहस्पती’ बनेर लागिपर्दै आएका उपाध्यायले लामो समय पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरे । विश्वबिद्यालयबाट अवकाश भएपछि काठमाडौं, टङ्गालमा बसेर भाषिक/साहित्यिक चिन्तनको दैनिकीमा रमाइरहेका उपाध्याय अहिले उब्जिएको भाषिक, हिज्जे र ब्याकरणको भाँडभैंलोलाई त्रिभुवन बिश्वबिद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानको ‘उट्पट्याङ काम’ भनेर सम्झन चाहन्छन् । उपाध्यायसँग भाषिक सहजीकरण र सरलीकरणका नाममा अहिले मच्चिएको होहल्लाबारे देवेन्द्र भट्टराईले गरेको कुराकानी : 
अहिले सतहमा आएको भाषिक सहजीकरण र सरलीकरणको जरो कहाँ जोडिएको छ । यो अहिले आएर किन यति सस्वर बनेको हो ?
हेर्नुस्, यो कुरा अहिले एकाएक उब्जिएको होइन । सम्वत २०३४ सालमा त्रिभुवन विश्वबिद्यायले नेपाली भाषा पढाउने गुरुहरुको आकस्मिक भेला गराएको थियो । त्यसबेला म पोखरामा प्राध्यापन गर्थे । नेपाली भाषाका बारेमा एउटा गोष्ठी भनेर बोलाइएकोमा देशभरबाट झण्डै १ सय नेपाली पढाउने गुरुहरुको प्रतिनिधि भेला भएको थियो—पद्म कन्या क्याम्पसमा । अनि एकाएक, ‘हामीले नेपाली भाषाको बर्णबिन्यास, हिज्जेमा परिवर्तन गर्यौ । यसमा तपाईहरुको अनुमोदन हुनुपर्यो’भनियो । यो परिवर्तनबारे केही पछि शिक्षक निर्देशिका पनि आउँछ, निर्देशिकाअनुसार पढ्ने–पढाउनु गर्नु पर्यो भन्दै करतल ध्वनीले यो निर्णयको अनुमोदन गर्न भनियो । न पृष्ठभूमी, न तर्क–बितर्क थियो । एकाधिकारबादी शैलीमा आदेश दिइएको थियो । त्यहाँ उपस्थित सबैजसो गुरुहरुले करतल ध्वनीले स्वागत/अनुमोदन पनि गरे । तर, मैंले भने त्यस्तो अनाहकको निर्णयमा बिरोध जनाएँ । मलाई खुबै सकस परेको थियो । यसरी कसरी हुन्छ, एकाधिकारबादी भएर (?), भन्ने जिज्ञासा राखेको थिएँ । तर, ‘तपाईले बहुमतको अनुमोदनलाई स्वीकार्नुपर्छ’ भनेर चुप लगाउने काम भयो । हाम्रो भाषाको गला थिच्ने काम त्यही बेलाबाट सुरु भएको हो ।
त्यो अभियानमा को–को अग्रज गुरु थिए ? त्यो हेरफेरमा के कुरा थियो ?
अहिले सम्झना भएअनुसार बल्लभमणि दाहाल, बासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, कुमारबहादुर जोशी, कृष्णप्रसाद पराजुली आदि थिए मञ्चमा । नेपाली भाषाको हिज्जे (ह्स्व/दिर्घ, पातलो/मोटो श) आदिमा एउटा मानक तयार गरेका छौं भन्दै ‘त्यो निर्णय कक्षाकक्षामा पुर्याउन आदेश दिइएको’ थियो । त्यो भेलाको दुई बर्षपछि हाम्रा क्याम्पसहरुमा विश्वबिद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट निर्देशिका पुस्तक आइसकेको थियो । त्यसमा ‘अब उप्रान्त आगन्तुक शब्द जतिमा तालबे ‘श’ हटाइएको छ, सबै पातलो ‘स’ लेख्ने । जस्तो— शहरको ठाउँमा सहर । शहीद, शर्वत, शेयर, शायद आदि पातलो ‘स’ भयो भनिएको थियो । एभ्रेष्ट, डिष्टीलरी पनि पातलो ‘स’ मा बदलिने भए । आगन्तुक शब्दमा भएको दीर्घलाई ह्स्व लेख्ने भनियो—जस्तो स्कूल, कानून, गरीब, शहीद, मजदूर आदि । यसबाट मात्रै नेपाली भाषाका २० हजारभन्दा बढी शब्द प्रभावित भएका थिए । यस्तै, तद्भव शब्दको दीर्घलाई ह्स्व गर्ने भनिएको थियो । जस्तै— ठीक, बीच, तीन, तीस, चौबीस आदि । संस्कृतबाट आएका शब्द जतिलाई यथावत राख्ने भनियो । जस्तै—शिव, शंकर, बंश, अंश आदि । यस्तै, शब्दमा प्रत्यय लगाउनासाथ नयाँ बन्ने शब्दमा ‘स’ जति पातलो गर्ने भनियो । जस्तो—बर्ष, शब्द, अंश आदि शब्दमा प्रत्यय लाग्नासाथै बर्सेनी, अंसियार, सब्द्यौली, अंसियार हुने अवस्था आयो । एकप्रकारले भद्रगोल गरिएको थियो ।
भाषाको घर ढलिसक्नै लागेको छ । झ्याल, ढोका उक्काएर फाल्न थालिएको छ ।
विश्वबिद्यालय, प्रज्ञा प्रतिष्ठान सबैले बाटो बिराएका छन् ।
शिक्षामन्त्री शर्माले ‘यो भयानक त्रुटी आफूले जानाजानी गरेको नभएर कुरा नबुझिकनै हस्ताक्षर गरेको’ स्वीकारे ।
नेता बिजुक्छेले पनि ‘भाषा भत्कियो भने हामी सबैतिर भत्कन्छौं’भन्नुभयो । 
यो गम्भीर मामला किन यतिका बर्षसम्म बहसमा आएन ? किन तपाईहरु चुपै रहनुभयो ?
होइन, यो काम किस्ताबन्दीमा गरिएको छ । सुरुमा विश्वबिद्यालयको माथिल्लो तह(एमए)देखि हेरफेर थालिएको थियो । किनभने थोरै बिद्यार्थी/गुरु रहने एमए तहमा यो हेरफेरबारे गहिराइमा पत्तै नपाउलान् भन्ने थियो । त्यसपछि बीए, आइए गर्दै बिद्यालय तहमा आएको हो । पछि आएको निर्देशिका र शैली पुस्तिकामा तीन, तीस, बीस, ठीक आदिलाई ह्स्व गर्ने भनेर अर्को चरणमा भनिएको छ । यसपछि बढी झल्याँस्स भएको स्थिती छ । बिद्यालय तहको पाठ्यक्रममा यो हिज्जेको कुरा आएपछि धेरै शिक्षक/बिद्यार्थी बिच्किएको अवस्था छ । बिद्यालय तहमा आएपछि भने विश्वबिद्यालय, पाठ्यक्रम विकास(सानोठिमी) र प्रज्ञा प्रतिष्ठानको सिफारिशमा फेरि शिक्षा मन्त्रालयले बर्णबिन्यास परिवर्तनको प्रकृया सदर गराएको हो । २०६७ सालमा सम्पन्न ‘नेपाली भाषा संगोष्ठी’ पछि सुरु भएको वर्णबिन्यास हेरफेरको प्रकृया दुई बर्षपछि सदर भएको हो । त्यसपछि नै कक्षा १२/११ हुँदै बिद्यालय तहमा फेरिएको भाषा प्रयोगमा आएको छ । २०६९ साउन २२ गते यो बर्णबिन्यास हेरफेरसम्बन्धी प्रस्तावमा सदर गर्ने तत्कालिन शिक्षामन्त्री दिनानाथ शर्मा ‘भैपरी साक्षी’ जस्तो मात्रै हुन् । पुर्व मन्त्री शर्मा स्वयम् हालै मेरोमा आएर ‘यो भयानक त्रुटी आफूले जानाजानी गरेको नभएर कुरा नबुझिकनै हस्ताक्षर गरेको’ स्वीकार गरेका थिए । अब यो त्रुटी सच्याउन राज्य तह/सरकारले तत्परता लिनुपर्छ भन्नेमा शर्मा अडिग थिए ।
कुरा बिग्रिएपछि र त्रुटीको सूची सामुमा आएपछि अरुलाई दोषारोपण गर्ने नेपाली चलन यो भाषाका मामलामा पनि लागु भएको हो कि ?
 
त्यसो होइन । जे हुँदैछ, जे गरिंदैछ— यो गलत हो भनेर केही बिद्धानहरुले आवाज उठाएकै हो । तर भाषा, हिज्जे हेरफेरमा समेत ‘करतल ध्वनी’को शैली समातिएपछि अन्यत्रबाट उठेका असहमतीका आवाज सिमान्तकृत बनिरहे । म आफैं, शरद्चन्द्र वस्ती, बलदेव गाउँलेजस्ता भाषाका जानकारहरु पहिलेदेखि नै तर्क–बितर्कमा उत्रिएकै हुन् । अहिले संसदमा मजदुर किसान पार्टीसहितको दलगत सांसदहरुले यो भाषिक भद्रगोलका बारेमा कुरा उठाएको स्थिती छ, यो विवाद अख्तियारमा पुगेको सुनेको छु । दुई दिनअघि मात्रै मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँग कुराकानी भएको थियो । उहाँको कुरा थियो—‘भाषा भत्कियो भने हामी सबैतिर भत्कन्छौं ।’ तर मलाई लागेको कुरा के छ भने कांग्रेस, एमाले, माओवादी सबैतिर भाषाका जानकार र बिज्ञ सांसद/नेताहरु समेत हुनुहुन्छ, यो भद्रगोलमा किन उहाँहरु कोही पनि बोलिरहनुभएको छैन ?
भनेपछि विवादको जड अहिले चर्चामा आएझैं शब्दमा खुट्टो काटिने/नकाटिने वा संयुक्त अक्षर छुट्ट्याउने/नछुट्ट्याउनेमा मात्रै सिमित छैन रहेछ । एकाएक यो बिग्रहको स्थिती किन आएको हो ?

खुट्टो काट्ने/नकाट्ने कुरा मात्रै बहसमा आएको होइन । खासमा अंग्रेजी अल्फाबेटको शैलीमा नेपाली देवनागरिकलाई लैजान चेष्टा गरिएको देखिन्छ । हाम्रो बर्णमाला आकारमा सानो छ, थोरै छ तर बैज्ञानिक छ । अब चाइनिज, जापानी हेरौं न—कत्रो बिशाल छ । तैपनि प्रयोगमा छ । यो सबै अभ्यासले हुने कुरा हो । अहिले आएर सरल/सहज भाषाका नाममा हाम्रो बर्णमालाका ‘ण, ऋ, य, श, ष’ आदि अक्षर हटाउनुपर्ने भनेर अनौठो हठ पनि अघि बढिरहेको छ । २०६७ को बहसपछि नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत शब्दकोष खत्तमै छ, त्यहाँ भाषाको ठाडो हत्या भएको छ । बरु चुडामणि गौतमको शब्दकोष, रत्न पुस्तक भण्डारको कोष, प्रज्ञा प्रतिष्ठानकै बालचन्द्र शर्माका कोषमा कुनै समस्या छैन । ती जायज र व्यवहारिक छन् । तर, अहिलेको प्रज्ञा प्रतिष्ठानको बृहत शब्दकोषले नेपाली भाषालाई मरणासन्न स्थितीमा पुऱ्याएको छ ।
तपाईको आफ्नै भाषा र व्याकरण पनि त्यति प्रचलित अथवा मानक बन्न सकेको देखिन्न । साहित्यकार जगदीश शमशेरको ‘सेतो ख्याक’ कृतिमा प्रयुक्त तपाईको भाषा/व्याकरण आफैंमा क्लिष्ट लाग्छ नि ?
त्यसो होइन । जगदीश शमशेरज्यूको लेखाइ र शब्द चयन आफैंमा बढी क्लिष्ट लागेको हुन सक्छ । संस्कृत शब्दावलीको भरपुर उपयोग र त्यही अनुसारको ब्याख्याले कठीनाइ भएको होला । तर, मेरो मान्यताका हकमा शब्दमा बिभक्ति जोडिने कि नजोडिने भन्ने बहसलाई लिएर तपाईले भन्नुभएको होला । यो त धेरैतिर स्वीकार्य भैसकेको छ कि बिभक्तीको प्रयोग नजोडिएकै अवस्थामा लेखिनुपर्छ (जस्तै—वास्तव मा, शर्मा ले, संस्करण मा आदि)। प्रयोग र मौलिक शैलीका हिसाबमा म भानुभक्तीय शैलीको ‘इनी, इनले’ लेख्ने गर्छु, तर भाषामा मानक खोजिरहेको मैंले ‘यस्तै लेख्नु’ भनेर आदेशात्मक हुन सक्दिन । फेरि, कतिपय प्रयोग र बुझाइहरु समयानुकुल पनि हेरफेर हुन सक्लान् । जस्तो, एउटा भाषिक लहड चलेका बेला साहित्यकार तारानाथ शर्माले आफ्नो मोटो ‘श’ लाई हटाएर ‘ताना सर्मा’ लेख्न थाल्नुभएको थियो । यसमा तर्क–बितर्क पनि चल्यो । तर, पछि उहाँ फेरि ‘शर्मा’ तिरै फर्कनुभयो । झर्रोबादका प्रणेता भाषाबिद् बालकृष्ण पोखरेल पनि शब्दहरुको मूलरुपमैं जानुपर्छ भन्न थाल्नुभएको छ । उहाँले बीचमा ‘झर्रो सब्द्यौली’ नामको शब्दकोष निकाल्नुभएको थियो तर, अर्को संस्करणमा फेरि ‘शब्द्यौली’मा फिर्नुभयो । पातलो ‘स’ बाट मोटो ‘श’मैं आउनुभयो । प्राध्यापक बासुदेव त्रिपाठी पनि यो भाषिक पौंठेजोरीभन्दा मानक–भाषाको यथास्थिती रुपलाई स्वीकार गर्ने बिन्दूमा आउनुभएको छ ।
अब यो विवाद र बिग्रहको बिसौनी के त ? कि अनेक समुह बनाएर यस्तै भाषिक पौठेजोरीमैं सधैं लागिरहने ?
त्यसो होइन । अब यो भाषिक बितण्डतालाई शुद्ध ठाउँमा नपुऱ्याइन्जेल यो अभियानको भारी बिसाउनुहुन्न । ढुङ्गो पहाडबाट गुल्टिसकेको अवस्था छ, अब तल बिसौनीमा नआइकन हुँदैहुन्न । त्यो भनेको हामी २०३४ साल अघिकै स्थितीमा पुग्नुपर्ने हुन्छ । भाषाको घर ढलिसक्नै लागेको छ । झ्याल, ढोका उक्काएर फाल्न थालिएको छ । विश्वबिद्यालय, प्रज्ञा प्रतिष्ठान सबैले बाटो बिराएका छन् । अब ‘घर फर्क’ अभियान गर्नैपर्छ । यो द्विविधा र अन्यौल हटाउन सरकारले हस्तक्षेप गरेर भाषाको भद्रगोल सच्याउनेतर्फ तत्काल पहलकदमी लिनैपर्छ । 
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top