0
आश्विन १, २०७३- देखिएका सबै सत्य हँुदैनन्। र, लुकेका कुरा असत्य नै हुन भन्न पनि मिल्दैन। 
साँचो र झूटोको खेल समयले निर्धारण गर्छ। नाटक ‘आरोप’ हेरेपछि दर्शकले यिनै सत्यलाई अनुभूति गर्नेछन्।
उनीहरू आफैंले नाटकमा सत्य र असत्यको अनुमान लगाउन सक्छन्। अन्तरमनको भावना समेटिएको नाटक ‘आरोप’ यतिबेला अनामनगरस्थित मण्डला थिएटरमा नियमित मञ्चन भइरहेको छ। नाटक असीम खनालले लेखका हुन् भने विकास जोशीले निर्देशन गरेका छन्। मञ्चमा देखापर्ने कलाकार, लेखक र निर्देशकको उमेर खासै परिपक्व नदेखिए पनि उनीहरूको काम भने परिपक्व लाग्नेछ।
नाटक सरल छ। पात्रको वास्तविक मनोभाव दुरुस्त निकाल्न निर्देशक विकासले राम्रो प्रयास गरेका छन्।
कम म्युजिकको प्रयोग, संवाद कम र एक्सप्रेसनमा बढी ध्यान दिइएको छ नाटकमा। सुरुका केही दृश्य अनावश्यक लम्किएकाले नाटकको मूल चुरो प्रस्ट हुन सकेको छैन। त्यसैले सुरुमा दर्शकको ध्यान नाटकले खासै तान्न सक्दैन। कहिलेकाहीँ बिनाकारण आरोप खेप्नुपर्दाको पीडाबोध कस्तो हुन्छ? नाटकका तीन पात्रले प्रस्ट पार्ने प्रयास गर्छन्। विश्वासले बाँधिएको सम्बन्ध विश्वास गरेकै कारण टुक्रिन्छ भन्ने गहिरो अर्थ नाटकले बुझाएको छ। आफूले प्रेम गरेको केटासँग बहिनीले आँखा लगाउनु, उल्टै त्यसको आरोप केटा भएकै कारण प्रेमीलाई लाग्नुजस्ता ससाना घटनालाई समातेर नाटक अघि बढ्छ।
एक्लोपनको परिणाम सही निस्किँदैन भन्ने नाटकले भन्न खोजेको छ। रमाइलो दृश्यबाट सुरु भएको नाटक भने वियोगान्त दृश्यमा टुंगिन्छ। करिब एक घण्टाको लामो नाटकको मञ्च सेटिङ कथावस्तु अनुसार सुहाउँदो गरिएको छ। सिंगो घरको परिदृश्य दर्शकले मञ्चमा देख्न पाउँछन्। एना देउजा, परीक्षा लामिछाने, पिटर प्रिन्स र सन्दीप श्रेष्ठले नाटकमा अभिनय गरेका छन्। असोज २ सम्म नाटक जारी रहनेछ।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top