0
आश्विन ४, २०७३- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दल युनाइटेड रसिया पार्टी (यूआरपी) ले संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याएको छ । यूआरपीले स्पष्ट बहुमत ल्याएपछि उनलाई चौथो कार्यकालका लागि रूसको नेतृत्व सम्हाल्न चाहेमा मार्ग प्रशस्त भएको छ । राष्ट्रपति पुटिनको कार्यकाल २०१८ मा अन्त्य हुँदै छ ।
सोमबारसम्म घोषित ९८.३ प्रतिशत मत परिणाममध्ये पुटिनको यूआरपीले ५४.२ प्रतिशत मत प्राप्त गरेको छ । यसले संसद्मा यूआरपीको संवैधानिक बहुमत स्पष्ट देखाएको छ । पुटिनको पछिल्लो कार्यकालमा लामो आर्थिक संकट सामना गर्नुपरे पनि क्रेमलिनले पछिल्लो मत परिणाम आउनुमा वर्तमान उनको प्रसिद्धिले नै काम गरेको बताइएको छ ।‘पुटिनको कार्यक्रमलाई रूसी जनताले पुन: एकपटक अनुमोदन गरेका छन् र दललाई बहुमत दिलाएका छन्,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपनि पुटिनले जनताबाट एकपटक पुन: विश्वासको मत पाउनुभएको छ ।’ तर यस वर्ष संसदीय निर्वाचनमा मात्रै ४७.८ प्रतिशत मतदाता सहभागी भए । यो सहभागिता २०११ मा ६० प्रतिशत थयो ।
यस वर्ष मस्को र सेन्ट पिटर्सवर्गमा साहै्र थोरै अर्थात् ३० प्रतिशत मतदाताले मात्र मतदानमा सहभागिता जनाएका छन् । यसैबीच, लिबरल प्रतिपक्षी दलहरूको समूहले संसद्मा प्रभाव पार्न असफल भए ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top