0
भाद्र ३१, २०७३- नाकाबन्दी हटेको करिब ३ महिनासम्म खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेपछि सरकारले उडिसा राज्यस्थित पाराद्वीपबाट पनि ग्यास भित्र्याउने निर्णय गर्‍यो। आपूर्ति मन्त्रालयले जेठ महिनामा पाराद्वीपबाट ल्याउने निधो गरे पनि हालसम्म आयात हुन सकेको छैन। 
मन्त्रालयको निर्णयसँगै आयल निगमको सञ्चालक समितिले पनि आयात गर्ने प्रस्ताव पारित गरेको थियो। तर, तीन महिना बित्दा पनि ग्यास भने आउन सकेको छैन। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आयात गर्दा लाग्ने ढुवानी भाडामा सहमति हुन नसक्दा ग्यास नउठाइएको हो। 
'निगमले गरेको निर्णयअनुसार पाराद्वीपबाट ढुवानी गर्दा प्रतिसिलिन्डर ११ रुपैयाँ ८३ पैसा नोक्सान छ। उक्त रकम उद्योगले ढुवानीकर्तालाई दिन सक्दैन,' संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, 'जसले गर्दा पाराद्वीपबाट आयात हुन सकेको छैन।'
संघका अनुसार निगमले पाराद्वीपका लागि साढे ३ महिनादेखि कोटा निर्धारण गर्दै आएको छ। तर, ग्यास उद्योगीहरूले प्रोडक्ट डेलिभरी अर्डर -पीडीओ) बनाएका छैनन्। पीडीओ नबन्दा ग्यास आउन सकेको छैन। सरकारले छुट्टै समिति गठनगरी सत्यतथ्य भाडा निर्धारण गरे सबै ग्यास तत्काल सबै उठाउन सकिने व्यवसायीहरू बताउँछन्। 
'मन्त्रालय, निगम, भारतीय आयल निगम (आईओसी), ग्यास उद्योगी र ढुवानीकर्तासहितको छुट्टै समिति गठन गर्ने निर्णय भएको थियो तर हालसम्म समिति गठन हुन सकेको छैन,' घिमिरेले भने, 'समितिले भाडा निर्धारण गरे त्यहाँ ग्यास तत्काल ल्याउन सक्छाैं ।'
निगमका एलपी ग्यास विभाग प्रमुख दीपक बरालले ढुवानी भाडामा कुनै समस्या नभएको बताए। हाल ग्यासको माग नभएकाले पाराद्वीपबाट ग्यास नउठेको उनको भनाइ छ। 'बरौनी, हल्दिया र मथुराबाट ३० हजार टन कोटा छ। तर, आयात र खपत २१ हजार मात्रै छ,' उनले भने, 'जसले गर्दा पाराद्वीपबाट नउठेको हो।' 
बरालका अनुसार कोटा निर्धारण गर्दा पाराद्वीपका लागि भने भने निर्धारण गरिएको छ। 'अगस्ट र सेप्टेम्बरमा करिब ५/५ हजार टन छुट्याएका छौं,' बरालले भने, 'तर उक्त ग्यास उठेको छैन।' साउन महिनाका लागि ३७ हजार टन कोटा निर्धारण भएकामा साढे २१ हजार टन मात्रै उठेको निगमले जनाएको छ। कोटाअनुसार ग्यास नउठ्दा आईओसीका कर्मचारीहरू रुष्ट बनेको निगमको भनाइ छ। 'हाम्रो माग्ाअनुसार आईओसीले उत्पादन गर्नुपर्छ। तर, उठाउन नसक्दा ग्यास होल्ड भएर बस्ने गरेको छ,' बरालले भने। 
पाराद्वीप प्रशोधन केन्द्रबाट ग्यास खरिद गरेर वीरगन्ज हुँदै उपत्यका भित्रिन्छ। पाराद्वीप बन्दरगाह झन्डै १३ सय ५० किलोमिटर टाढा रहेको छ भने अन्य ठाउँको तुलनामा थप दुई दिनको समय लाग्छ। भारतको आन्तरिक मागमा देखिएको चापका कारण नयाँ प्रशोधन केन्द्र पाराद्वीपबाट ग्यास दिन सहमत भएको हो। आन्तरिक मागका कारण जाडो महिनाम बरौनी र हल्दिया नाकाबाट पर्याप्त मात्रा दिन सक्दैन। जसले गर्दा नेपालमा ग्यासको अभाव हुँदै आएको छ। पाराद्वीपबाट पनि आयात हुन सके जाडो महिनामा हुने समस्याबाट मुक्त हुने व्यवसायीहरू बताउँछन्। 
'बरौनी र हल्दियाको तुलनामा पाराद्वीपको रिपाइनेरी र पोर्ट धेरै ठूलो छ,' अध्यक्ष्ा घिमिरेले भने, 'अन्य रिफाइनेरीमा समस्या हँुदा पाराद्वीपबाट मागअनुसार भित्र्याउन सकिन्छ।' आईओसीले इन्धन भण्डारण गर्ने ट्यांकी बर्सेनि सरसफाइ गर्छ। सरसफाइ करिब एक महिनासम्म हुन्छ।
त्यसक्रममा पयर्ाप्त मात्रामा भित्रिन नसक्दा अभाव हँुदै आएको छ। त्यसलाई व्यवस्थित गर्न सकेसम्म धेरै रिफाइनेरीबाट आयात गर्नुपर्ने विज्ञहरू बताउँछन्। हाल बरौनी, हल्दिया, मथुरा, कर्नाल रिफाइनेरीबाट ग्यास आयात हुन्छ। 
निगमका अनुसार हाल ग्यासको माग नभए पनि तिहारपश्चात् भने ग्यासको खपत ह्वातै बढ्छ। तिहारपश्चात् जाडो महिना सुरु हुने भएकाले ग्यासको माग ह्वातै बढ्ने जानकारहरू बताउँछन्। 'ग्यास प्रशस्त आयात भएको छ। माग पनि छैन,' ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले भने, 'कारोबार करिब ३० प्रतिशतले घटेको छ।' 
चाडपर्वमा अभाव नभए पनि त्यसलगत्तै माग बढ्ने हुँदा आपूर्तिमा सचेत हुनुपर्ने उनले बताए। 'तिहारलगत्तै ग्यासको माग बढ्छ,' थापाले भने, 'विगतको दिनझैं अभाव हुन नदिन सरकारले बेलामै पहल गर्नुपर्छ। मागअनुसार आपूर्ति बढाउनुपर्छ।'

Post a Comment

 
Top