0

आश्विन १, २०७३- देव र नागरी मिलेर देवनागरी बन्यो। जन्मदै संयुक्ताक्षर। देवाक्षर स्वतन्त्र छन्। अ, इ, उ, ण आदि। नागरीक्षर संयुक्त छन्। क, अ, त्र र अ आदि। स्वर देवाक्षर हुन्। व्यञ्जन संयुक्ताक्षर। यी सबै बोली हुन्। संस्कृतमा वाक्। देवनागरीमा वाक चार किसिमका हुन्। परावाक। पश्यन्तीवाक। मध्यमावाक। बैखरीवाक। परावाकले परब्रह्म जोड्छ। व्यक्तिगत ब्रह्मलाई
ब्रह्माण्डीय ब्रह्ममा। भावातीत ध्यानको बोली त्यही हो। मुक्तिको बोली त्यही हो। परब्रह्मको बोली। हिन्दु पुर्खाको निरञ्जन बोली। निराकार बोली। अर्थात् चक्रले निकाल्ने बोली। पश्चिमा वैज्ञानिक भाषाविद एवं डाक्टरले नबुझ्ने बोली। अर्थात् नाडी, सन्धी, मर्मस्थान हुँदै चक्रहरूले निकाल्ने बोली।
पश्यन्तीवाक मुटुबाट निक्लन्छ। ॐ वाक त्यही हो। यो वाकले ७२ हजार नाडी एकैसाथ झंकारित गर्छ। देहिक हिसाबले भन्दा सुषुप्तिमा पनि ऊर्जा दिइरहने बोली। झंकारित भइरहने बोली। मध्यमा वाक मन्त्रको बोली हो। ब्रिजमन्त्र केन्द्रमा राख्ने। अरू मन्त्र जोड्न मिल्ने। गोरखनाथ सम्प्रदायका मन्त्रहरू त्यसैगरी जोडिन्छन्। दुर्गा सप्तशतीका ब्रिजमन्त्र पनि त्यही हो। ह्रिं, क्रिङ, श्रीङ्ग। बैखरी वाक लौकिक हो। लोकले बोल्ने। बाह्रखरी त्यही हो। वर्णाक्षर। वर्णमाला। लिपि।

प्रश्न यहीं हो। बैखरी चलाउँदा पश्यन्तीवाक बिथोलिन्छ। मध्यमावाक अल्मलिन्छ। परावाक गडबडिन्छ। त्यही नबिग्रियोस् भनेर पुर्खाहरूले शिक्षा (व्याकरण) बनाए। पाणिनीको व्याकरण त्यही हो। अर्थात् परावाक, पश्यन्तीवाक, मध्यमावाक र बैखरीबीच सहसम्बन्ध स्थापना गर्ने व्याकरण। बैखरी चलाउनेहरूले के बुझ्यौं होला? यी चार वाकहरूबीचको सम्बन्ध हेर्नुपर्ने हो कि हैन? खोज्नुपर्ने थियो कि थिएन? अहिलेझैं तोड्नुपर्ने हो कि हैन? जोडेमा व्यक्तिगत ब्रह्म र देवब्रह्म जोडिन्छ। तोडे देव र नागरी छुट्टिन्छ। लडाइँ यहीं हो, देव र नागरी छुट्याउने कि जोड्ने? संयुक्ताक्षर तोड्ने कि सोच्ने? त्यही नियम बोक्ने हो भने क लेख्न क् + अ गर्ने कि नगर्ने? अंग्रेजीमा जस्तो क लाई प र अ लाई ब लेख्ने कि नलेख्ने? अर्थात् सधैं अन्तरसम्बन्धित हुने र हुनुपर्ने देवनागरीका परा, पश्यन्ती, मध्यमा र बैखरीलाई छुट्याउने कि अन्तरसम्बन्धित बनाउने?
शिक्षा मन्त्रालयको अहिलेको स्कुली पाठ्यपुस्तकले छुट्यायो। त्यो अपराधले हाम्रा वाकहरू छुट्टिने भए। देव र नागरीको सम्बन्ध टुट्ने भयो। संस्कृति भत्किने भयो। धर्म बिथोलिने भयो। छोराछोरीको दैवी नाम राखेर मर्ने बेलामा भने पनि मुक्त भइन्छ भन्ने चिन्तनमा कुठाराघात हुने भयो। संगीतको नाद र रियाज बिग्रिने भयो। गर्ने के हो? अर्थात् जान—अनजानमा पनि बैखरी, पश्यन्ती, मध्यमा र पराको सम्बन्ध सुनिश्चित गर्ने हाम्रा बुद्धिहरू भत्किने भए। बैखरी चलाउनेहरूले सोच्ने कि? अपराध स्वीकार्ने कि? संस्कृतका महाकवि भारवीले जस्तो स्वयं दण्डित हुने कि? सोचौं।
बैखरीले जोड्ने नाडी ऊर्जा क्षेत्र
पुर्खाको तान्त्रिक, मान्त्रिक एवं चिकित्सकीय ज्ञानले भन्यो– अ को उच्चारणले निधारको ऊर्जा प्रवाहित गर्छ। आ ले अनुहारको। इ ले दाहिने आँखाको। ई ले देब्रे आँखाको। उ ले दाहिने कानको। ऊ ले देब्रे कानको। ऋ ले दाहिने नाकको। ऋृ ले देब्रे नाकको। लृ ले दाहिने गालाको। लृ ले देब्रे गालाको। ए ले माथिल्लो ओठको। ऐ ले तल्लो ओठको। ओ ले माथिल्लो दाँतको। औ ले तल्लो दाँतको। अं ले मूर्धन्य स्थानको। अ: ले मुखको।
देवनागरीको मर्म बुझेका पुर्खाले भने स्वर अक्षरले झैं व्यञ्जन अक्षरले पनि शरीरमा ऊर्जा प्रवाह गर्ने स्थानहरू छन्। ती स्थानहरू हुन्— क को उच्चारणले दाहिनेतर्फको काँध र पाखुरा जोडिएको ठाउँमा ऊर्जा प्रवाह गर्छ। ख ले दाहिने कुहिनुमा। ग ले दाहिने काँधमा। घ ले दाहिने हातका औंलाको फेदमा। ङ ले दाहिने हात र औंलाका टुप्पाहरूमा। च ले देब्रे काँधको जोर्नीमा। छ ले देब्रे कुहिनुमा। ज ले देब्रे नाडीमा। झ ले देब्रे हातको औंलाका फेदमा। ञ ले देब्रे हातको औंलाका टुप्पामा। ट ले दाहिने नितम्ब (हिप) को जोर्नीमा। ठ ले दाहिने घुँडामा। ड ले दाहिने गोलीगाँठामा। ढ ले दाहिने खुट्टाको औंलाको फेदमा। ण ले दाहिने खुट्टाकै औंलाको टुप्पामा। त ले देव्रे नितम्बको जोर्नीमा। थ ले देब्रे घुँडामा। द ले देब्रे गोलीगाँठोमा। ध ले देब्रे खुट्टाको औंलाको फेदमा। न ले देब्रे खुट्टाकै औंलाको टुप्पामा। प ले ढाड र छातीको दाहिने पातोमा। फ ले ढाड र छातीको देब्रे पातोमा। ब ले पिठ्युँमा। भ ले नाभीमा। म ले पेटमा। य ले मुटुमा। र ले दाहिने काँधको माथिल्लो भागमा। ल ले गर्धनभन्दा तलको काँधको पाताहरूमा। व ले देब्रे काँधको माथिल्लो भागमा। श ले मुटुदेखि दाहिने हातसम्मको क्षेत्रमा। ष ले मुटुदेखि देब्रे हातसम्मको क्षेत्रमा। स ले मुटुदेखि दाहिने खुट्टाको बुढीऔंलासम्मको भागमा। ह ले मुटुदेखि खुट्टाको बुढी औंलासम्ममा। ल ले मुटुदेखि अनुहारको परिधिसम्मको क्षेत्रमा। क्ष ले मुटुदेखि पेटसम्ममा। त्र र ज्ञको भने ऊर्जा क्षेत्र तोकिएको छैन। यस्तो स्थितिका अक्षर फेर्दा के होला? नेपाली जिब्रोले उच्चारण गर्दैन भनेर अक्षर हटाउंँदा के होला? शरीरमा ऊर्जाको हालत के होला? वर्णविन्यास चलाउने विज्ञको बुद्धिमा केले घात गर्‍यो होला? संयुक्ताक्षर फोर्ने दुस्साहस गर्दा के हुन्छ होला? के द् + य ले द्यको आवाज दिन्छ र? द्य हैन र? सन्धी भएर अलि भिन्न आवाज भएको हैन र? ध्वनि विज्ञानको सिद्धान्त त्यसै भन्छ हैन र?
नेपालीको जिब्रोले तीनवटै श बोल्दैन भन्न हुने हो र? लृ, ऋ हटाएर लिरी र रिसी (ऋषि) लेख्नुपर्ने हो र? अंग्रेजीमा पीएसएलएमको हिज्जे पसालम हैन, साम लेखौं भने र? लेखेका छन् र? उनीहरूलाई किन पीएसएलएम नै पढाउनुपर्ने होला? प्रश्न यहीं हो, विज्ञ भनिनेले जिब्रो बनाउने उपाय सुझाउने कि वर्णविन्यास भत्काउने? अंग्रेजले त जिब्रो बटार्न सिकायो। हिज्जे बिगारेन। वर्णविन्यास भत्काएन। त्यसैले जोन हल्ट जस्ताले हिज्जेमा चिन्ता नगर भनिदिए। हाम्रा विद् र निर्णयकर्ताहरूचाहिँं भत्काउने आपराधिक काममा लाग्यौं। यहीं कुरा आउँछ, वर्णविन्यास चलाउनेहरूले यी कुरा बुझेको भए हुने थिएन र? देवनागरी अक्षर र ऊर्जाको सहसम्बन्ध पनि नबुझ्ने अनि पसालमको हिज्जे पनि थाहा नपाउने विज्ञलाई वर्णविज्ञान चलाउने अधिकार हुन्छ र? चारवटै वाकहरूलाई तोड्ने अधिकार हुन्छ र? अनाधिकार सांस्कृतिक सम्बन्ध बिगार्ने हक छ र? धर्मशास्त्रका ज्ञानहरूलाई तोड्ने हक छ र? बरु हिज्जे सुधार्ने किताब लेखेर पैसा कमाएको भए हँुदैनथ्यो र?
धर्म संस्कृतिसँगको बैखरी सम्बन्ध
अकुप्रेसरका छुने विन्दुहरू धेरैले जानेका छौं। अकुपञ्चरका पनि त्यस्तै विन्दु छन्। यिनमा दीक्षित चिकित्सक र अभ्यस्त जनताले यसको मर्म बुझेका छौं। टाउको दुख्ता कहाँ थिच्ने, कहाँ घोप्ने? घुँडा दुख्ता कहाँ थिच्ने, कहाँ घोप्ने? यी कुराको ज्ञान तिनै स्वर र व्यञ्जनका ऊर्जा क्षेत्रसँग जोडिन्छन्। बैखरी बदल्दा के होला त? सोच्ने कि? ज्ञानमुद्रा, शून्यमुद्रा, पृथ्वीमुद्रा, सूर्यमुद्रा, इन्द्रमुद्रा, बरुणमुद्रा जस्ता मुद्रा चिकित्साका बुद्धिका स्रोत पनि स्वर र व्यञ्जनले चिनाएकै ऊर्जा क्षेत्र हुन्। शरीरमा पृथ्वीतत्त्व घटाउन के गर्ने? जलतत्त्व घटाउन के गर्ने? वायुतत्त्वको कमी गर्न के गर्ने? आकाश तत्त्वलाई सन्तुलनमा ल्याउन के गर्ने? जस्ता मुद्रा चिकित्सकीय बुद्धिका स्रोत पनि स्वर र व्यञ्जन वर्णले आंैल्याएकै विन्दुहरू हुन्। चार वाक तोड्दा यी चिकित्सकीय ज्ञान के होला? एलोप्याथी डाक्टरले नबुझलान्। रोमन लिपिवालाले नजान्लान्। तर नेपाली प्रशासन, राजनीति र भाषाविदले त जान्नुपथ्र्यो होला नि? ‘विद्यालय लेख्नु गल्ती हो, विद्यालय लेख’ भन्नेजस्ता आदेशसहितका कथित नयाँं वर्णविन्यास लागू गर्न निर्देशन जारी गर्ने हिम्मत भएका मतियारा कर्मचारीले बुझ्नुपथ्र्यो होला नि?
दुर्गा सप्तशतीमा पाठ सकेपछि उत्तरन्यास गर्ने प्रावधान छ। त्यसैले भन्छ, हृदयमा छुँदा ॐ ह्रिं भन। शिरमा हुँदा चं। आँखामा छुँदा यैं। यस्ता थुप्रै स्पर्श विन्दुहरू छन्। गायत्री मन्त्र जप्नेहरूले पनि त्यस्तै स्पर्श विन्दु पहिल्याउँछन्। स्पर्श थेरापी त्यही बुद्धिमा बनेको हुन्छ। बैखरी चलाउनेले यति त बुझ्नैपर्ने थियो कि? यसरी चलाउँदा अकुपञ्चर बिथोलिन्छ। अकुप्रेसर अलमलिन्छ। मुद्रा चिकित्सा लुप्त हुन्छ। स्पर्श थेरापी बिग्रन्छ। अथवा ती छुट्टाछुट्टै हुन्छन्। भाइबहिनीहरू फुटेझैं। बैखरीको सहसम्बन्ध टुट्छ। रं नहुँदा ‘रक्तदन्तिका’ टुटेजस्तो।
गर्ने के?
नहुनु थियो, व्याकरणीय अपराध भयो। स्वीकारौं। स्कुली बालबालिकाको एक हुलले आपराधिक वर्णविन्यास पढ्यौं। अह्रौटे बने, बनाइएका शिक्षकले त्यसै गर्‍यौं। परिवर्तित वर्णविन्यासको पाठ्यपुस्तक छपाइमा लाखौं खर्च भयो। सच्याउने सूची (एराटा) छपाएर विद्यार्थी र शिक्षकमाथिको अपराध रोकौं। नयाँ वर्णविन्यासको छपाइ रोकौं। देवनागरी प्रयोगकर्ता, संस्कृतिविद, धर्मविद, संस्कृतज्ञ, संगीतविद, लिपिविद आदिको बृहत् गोष्ठी गरौं। त्यसैका आधारमा बाटो पहिल्याऔं। प्रयोगकर्ताको सहकार्यमा निर्णयमा पुगौं।
सोचौं, लर्ड मेकालेले सन् १८३५ मा बेलायती संसद्मा भने, हिन्दु र अरेबियनका धार्मिक—सांस्कृतिक तथा अन्य ग्रन्थहरूमा ज्ञान नै छैन। त्यही बुद्धिलाई ह्युग बी उडले २०१२ सालको शिक्षा आयोगको प्रतिवेदनमा लेखे। अब २०७३ मा अरू कसैको बुद्धिमा लागेर हाम्रो धर्म, संस्कृति, ज्ञान, ग्रन्थ, लिपिले बोकेको देव र नागरी जोड्ने वर्णविन्यासीय तागत भत्काउँदै छौं। अहिलेको परिवर्तित वर्णविन्यासलाई त्यही निरन्तरतामा हेरौं। अनि देव र नागरी जोड्ने चारै वाकहरूको अन्तरसम्बन्ध बुझौं। हल्लिएर कखरा पढ्दा पनि बैखरी जप हुने। ओठ चलाएर आवाज ननिकाली पढ्दा पनि जप हुने। मनमनै सम्झिए पनि मानसिक जप हुने बैखरीका मन्त्रमयी अक्षरहरूलाई जथाभावी नचलाऔं। ऊर्जाले शरीर चल्छ, ऊर्जा ब्रह्ममय छ। ऊर्जा चलाउन सकिन्छ। ऊर्जा चलाउने अक्षर मन्त्र हुन् भन्ने हाम्रा अनुभवसिद्ध ग्रन्थहरूको सम्मान गरौं। वैयाकरणीय अपराध सच्याउने कि बांँदरलाई लिस्नु दिने आगे निर्णयकर्ताहरूको मर्जी। प्रयोगकर्ताहरू आन्दोलित छौं।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top