0
आश्विन १, २०७३- पाटनदेखि कीर्तिपुर कहिले पैदल, कहिले माइक्रोबसमा । संस्कृतिविद् सत्यमोहन जोशीको दैनिकी सार्वजनिक यातायातमै बित्दै छ । समाजशास्त्री चैतन्य मिश्र बसको समाज चिहाउँदै चाबहिल–कीर्तिपुर गरे । टेम्पोका पछिल्ला सिटतिर नियाल्यो भने भौतिकशास्त्री उदयराज खनाल, नेता चित्रबहादुर केसी, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, रघु पन्त, लालबाबु पण्डित, प्राध्यापक पी खरेल, लालदेउसा राई, विद्यानाथ कोइराला, कृष्ण भट्टचन, सूर्यराज आचार्य भेटिन सक्छन् । पत्रकार भैरव रिसाल, नारायण वाग्ले भेटिने साझा बस र सार्वजनिक सवारी नै हुन् । सहरमा नयाँ–नयाँ गाडीका मध्यमवर्गीय मालिक थपिँदै छन् । आम आदमीका बीच भेटिने यस्ता ‘खास आदमी’ कति होलान्, सम्झेर सकिँदैन । लेखक खगेन्द्र संग्रौला भन्छन्, ‘सहरका सबै गाडी मेरा । माइक्रो, बस र टेम्पोभित्रको भद्रगोल मेरो हैसियत ।
 
’ यस्ता पात्र थुप्रै छन्, जसमध्ये कतिपयका लागि सार्वजनिक सवारी अनिवार्य आवश्यकता हो, कतिपयका लागि समाज हेर्ने ऐना । पुग्दो आर्थिक हैसियत बनाएका राजधानीका रैथाने मास्टर मिश्र निजी गाडीमा गुड्न सक्थे । उनी सधैंं साझा बस र माइक्रोमा कोचिएर चाबहिलदेखि कीर्तिपुर, सडकदेखि सेमिनार धाइरहे । ‘बसमा चढ्दा एउटा वर्गको जीवनसँग अभ्यस्त भइन्छ । मानिसहरू के कुरा गरिरहेका छन् भन्ने थाहा पाइन्छ,’ मिश्रले माइक्रोबस र टेम्पोमा हिँड्नुको अर्थ केही अघि खोले, ‘त्यसैले समाजशास्त्रीहरूले बस चढ्नु आवश्यक छ । गाडीवाला समाजशास्त्रीले पनि हप्तामा कमसेकम एक दिन बस चढेको राम्रो ।’ ख्यातनाम् भौतिकशास्त्री उदयराज खनाल अघिल्लो बुधबार हरिहरभवनबाट नयाँ बानेश्वर आउँदै गर्दा टेम्पोमा भेटिए । बुवा सरदार यदुनाथ खनालले बेलायती महारानी एलिजावेथ नेपाल भ्रमणमा आएका बेला सरकारबाट पाएको सुविधा पाउनुअघिसम्म सक्ने ठाउँ पैदल, अपायक परे सार्वजनिक यातायात नै प्रयोग गर्थेछन् । भारत, चीन र अमेरिकाजस्ता शक्तिसम्पन्न तीन मुलुकको राजदूत भइसकेका एक्ला नेपाली यदुनाथको अति सामान्य जीवनशैलीबाट प्रभावित छोरा उदयराजले आजसम्म त्यही शैली पछ्याइरहेछन् । उसो त उनीसँग आफ्नै कार नभएको होइन, तर भन्छन्, ‘काठमाडौंका बाटामा गाडी दौडाउन अप्ठ्यारो लाग्छ, म त बिदाको दिन मात्रै निकाल्छु । अरू बेला टेम्पोमै सजिलो ।
 
’ बानेश्वर हाइटबाट त्रिवि जाँदा बस चढी जाने गरे पनि आउँदा प्राय: सहज थिएन, खनालले पढाउँदा । सँगैका साथीमध्ये कतिपयले मोटरसाइकल चलाउने गरे पनि खनाल आफ्नै विद्यार्थीसँग कोचिँदै फर्किरहे । ‘कतिपल्ट त चढ्ने अवस्था नहुँदा कीर्तिपुरबाट घरसम्म हिँडेरै आइयो,’ उनले सुनाए, ‘अहिले त गाडीहरू थपिइसके, बाटो पनि अलि राम्रो भएको छ ।
 
’ आफ्ना युरोपेली, अमेरिकी प्राध्यापक साथीहरू अहिले पनि सार्वजनिक यातायातमै भर गर्ने गरेको सम्झन्छन्, खनाल । अमेरिकामा सार्वजनिक यातायात सुविधा राम्रो नभएको अनुभूति लिएका उनले युरोपमा भने असाध्यै राम्रो पाए । ‘संस्कृतिको कुरा होला, अमेरिकामा अलि व्यक्तिगत स्वतन्त्रताको प्राथमिकताले आ–आफ्ना कार गुडाएर टाढासम्म काम गर्न जानेहरू छन्,’ उनी थप्छन्, ‘युरोपतिर चाहिँ अलि समूहमै बाँच्ने खालको भएर हुनुपर्छ ।’ काठमाडौंमा सुविधाजनक सार्वजनिक यातायात नभएकोमा सबैको एकमत छ । अझ सानो माइक्रोमा त ग्यास गन्हाएर हैरान । उमेर ढल्किएका पब्लिक अनुहारहरूमध्ये बढीजसो सहजताका लागि टेम्पो चढ्ने भेटिए । कोही मास्कमा हुन्छन्, कोहीचाहिँ त्यत्तिकै धूलोमा मुख छोप्दै । प्राध्यापक सूर्यराज आचार्य भन्छन्, ‘काठमाडौंंको धूलो यति छ कि, यहाँ मास्क लगाउनु र नलगाउनुको कुनै अर्थै छैन ।
 
’ पाटन बखु:बहालदेखि जोशी बस चढ्ने भनेको कि त रत्नपार्क कि त कीर्तिपुरकै लागि हो । बेलुकीपख परेको छ भने त माइक्रोमै कोच्चिएर फर्कन्छन् । कोही दलका मान्छे हुन्छन्, दलकै कुरा गर्ने । सर्वसाधारण भने आफ्नै जिन्दगीका सुखदु:ख, समस्या बताइरहेका भेटिन्छन् । चिन्नेले नमस्ते गर्दै भीडमा पनि सिट छाडिदिइहाल्छन् । अशक्त, वृद्धको सिटमा उनी बस्छन् नै भन्ने छैन । तर ठान्छन्, ‘यहाँ कल्चर अझै भएन । विदेशतिर यहाजस्तो ढोकामा कन्डक्टर बसेको हुन्न । पैसा खसाल्ने सिस्टम हुन्छ युरोपतिर,’ उनी भन्छन्, ‘अफिस समयका बेला भीडभाड भए पनि अरूतिरभन्दा बेलायतको राम्रो लाग्यो, अमेरिकामा भने साथीको गाडीमा चढियो । त्यहाँ कस्तो छ, थाहा भएन ।
 
’ काठमाडौंमा ट्राफिक बत्तीको उपयोग राम्ररी नभएको जोशीको अनुभव छ । ठिमीबाट बस चढी आउँदा भने भक्तपुरतिर अवस्था सुध्रेको उनले पाए । ‘बाटो साह्रै मिच्छन्, बत्तीको काम खै ?’ उनी थप्छन्, ‘त्यो बत्ती शोभाको लागि राखेको हो भने त झिकिदिए हुन्छ, नत्र काममा ल्याउनुपर्‍यो ।’ एमाले नेता दीपकप्रकाश भट्ट जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीका लागि दिल्ली ट्रान्सपोर्ट कर्पोरेसनले व्यवस्था गरेको साठी रुपैयाँ बराबर छ महिना नि:शुल्क व्यवस्था सम्झन्छन् । काठमाडौंका सार्वजनिक सवारीमा त्यस्तै व्यवस्था मिलाइए विद्यार्थीहरूले सुविधा पाउने उनको ठम्याइ छ । नाइटबसको फोल्डिङ सिटमाथि झ्यालमा मुन्टो अड्याउँदै हावाको झोंक्का खानु । कुनै बेला लेखक खगेन्द्र संग्रौलाका लागि यत्ति जीवन भन्नु काइदाको कुरो थियो । काठमाडौंको भद्रगोलमा सार्वजनिक सवारी भेटिएपछि उनले केही अवधि मोटरसाइकल चलाए । मोटरसाइकलमा दिल नबसेपछि फेरि पुरानै पार्टीमा आए । छाँटछन्द नमिलेका आवास, भद्रगोल सडक अर्थात् काठमाडौं ।
 
 अफिस जाने/आउने बेला गुन्द्रुकझैं कोच्छन् । त्यो बेलाबाहेक अरू बेला संग्रौला भेटिने टेम्पोमै हो । ‘कोही मलाई यो देशको भीआईपी गाडीमै चढ्ला भन्ठान्दा रहेछन् । यहाँ भेट्दा छक्कै पर्छन् । कोहीचाहिँ यो नाथेको हैसियत पनि देखियो भन्ने टाइपका गतिविधि गर्छन्,’ उनी भन्छन्, ‘एउटा कपनवाले भाइले मलाई माइक्रोमा भेटेपछि साथीहरूलाई सुनाएछ— खगेन्द्र टेम्पो चढ्दो रहेछ र पो यस्तो लेख्दो रहेछ ।’ कोही प्रशंसकचाहिँ उनी छेउको साथीलाई अर्को सिटमा सारेर भए पनि टेम्पोमै सेल्फी हान्दा रहेछन् । आलोचकचाहिँ दुई चार प्रशंसाबाट कुरा सुरु गरेर ट्वाक्कटुक्क समालोचना पनि ठोकिहाल्दा रहेछन् । दुई पटक मन्त्री भइन्, एमाले नेतृ अष्टलक्ष्मी शाक्य । पति अमृतकुमार बोहरा पनि दुई पटक नै मन्त्री भए । साठीको दशक नाघ्न लाग्दा दुवै सार्वजनिक यातायातमै भेटिन्छन् । ‘चिनेका गुरुजीले पैसा लिन मान्दैनन्, तपाईंंहरू यसैमा चढ्नुपर्छ, हामीले देख्न पाउनुपर्छ भन्छन्,’ शाक्य सुनाउँछिन्, ‘अरू मान्छेचाहिँ हामी पनि माइक्रोमा भनेर विश्वासै मान्दैनन् ।’ रातिका पार्टी कार्यक्रम वा भोज छाड्ने हो भने शाक्यलाई अहिलेसम्म सार्वजनिक यातायात चढेर कहिल्यै हैरानी झेल्नुपरेको छैन । ‘कतिपय गाडीवाला साथीहरू बरु कार्यक्रमहरूमा ढिलो पुग्नुहुन्छ, हामी त जहिल्यै समयमै पुग्छौं, यो सबै समय व्यवस्थापन कसरी गर्ने भन्ने कलामा भर पर्ने हो,’ उनी थप्छिन्, ‘पार्टी वा सरकारले राम्रो काम गरेको छ भने जनताले गाडीमै राम्रो भनिहाल्छन् । आलोचना गरे भने गल्ती हुँदै रहेछ भन्ने थाहा पनि हुन्छ ।
 
’ सके पैदल, नभ्याए सार्वजनिक सवारी पत्रकार नारायण वाग्लेको चिनारी हो । उनले मोटरसाइकल हाँक्ने रहर कहिल्यै गरेनन् । साइकल लेनको जालो कहिले बनिसक्ला, अनि त तीन सहरभरि पाइडल दाब्ने उनको सपना छ । ‘सार्वजनिक यातायातप्रतिको आस्था कतिसम्म छ भने, म तिम्रो प्रश्नको जवाफ दिल्लीको मेट्रोमा चढेर लेख्दै छु,’ पत्रकार वाग्लेले इन्बक्समा जिज्ञासा शान्त पारे, ‘लेखक/पत्रकारका लागि सार्वजनिक यातायात अक्सिजन नै हो ।’ अहिलेको प्रदूषणकारी यातायात व्यवस्था प्रवद्र्धन गर्दै जाने हो भने काठमाडौं बसोबासका लागि अयोग्य हुने देख्छन् उनी । ‘यो सहरलाई संस्कृति र पर्यटनमैत्री बनाउने हो भने साइकलमार्गलाई पहिलो प्राथमिकता दिनुपर्छ,’ वाग्ले भन्छन्, ‘अहिले त सार्वजनिक यातायात कहाँ छ ? साझा बसबाहेक हाम्रो यातायात ठगी र शोषणको जालो हो । हरेक स्वाभिमानी यात्रुले हरेक दिन यातना र अपमान बेहोर्नुपरिरहेको छ ।
 
’ यति भनिसक्दा पनि उनको चित्त शान्त भएन । वाग्ले थप्छन्, ‘सार्वजनिक यातायातको खुला व्यापारीकरणबाट भुक्तमान हुनुपर्दा मलाई त हरेक दिन सहरमा लोकतन्त्र हारिरहेको र नागरिकको अस्मिता राज्यले लुट्न दिएको महसुस हुन्छ ।’ भोक्ताहरूको भनाइमा काठमाडौंंका सडकमा गुड्ने धेरैजसो माइक्रोबस र लामो बसमा चली थोत्रिएका सार्वजनिक सवारी साधनले राजधानी सहरमा गुड्न अनुमति नै नपाउनुपर्ने हो ।
 
 ‘यी साधन यात्रुहरूका लागि पटक्कै सुविधाजनक छैनन् र यिनको रूपरंगले यातायात व्यवस्थापनको तन्नम अवस्था संसारलाई देखाइरहेछ,’ प्राध्यापक आचार्य भन्छन्, ‘विदेशका विकसित सहरको त कुरै छाडौं हाम्रोजस्तै विकासशील देशकै तुलनामा हाम्रा सार्वजनिक यातायातका यात्रुहरूको अवस्था निकै दयनीय छ ।’ अझ सहचालकको रूखो व्यवहारका कारण सार्वजनिक यातायातका यात्रु हीनताबोधको सिकार भएको उनी ठान्छन् । थप्छन्, ‘यातायात प्रयोगकर्तामा ‘वर्ग बिभाजन’ को जोखिम बढेको हो कि भन्ने लागेको छ ।’

Post a Comment

 
Top