0

आश्विन १, २०७३- पहिले प्रेम, त्यसपछि विवाह अनि केही कुरामा मनमुटाव भएलगतै सम्बन्ध विच्छेदसम्मको घटना हुने गरेको छ। विश्वका अधिकांश विवाह पारपाचुकेमा गएर समाप्त हुने गर्छन्।
खासगरी इलिट वर्ग र धनाढ्यहरूमा यो घटना सामान्य मानिन्छ। अचेल मध्यमवर्गीय दम्पतीहरूमा पनि यो रोग बिस्तारै सर्दै भयानक बन्दै गएको छ। पछिल्लो समय चीनमा एक अर्बपतिको सम्बन्ध विच्छेद मिडियाका लागि मसाला बनेको छ। आफ्नै लगन, परिश्रम र अथक प्रयासबाट अर्बपति बनेका ३९ वर्षीय चिनियाँ उद्यमी झोउ याहुईले आफ्नी डार्लिङसँग पारपाचुके लिएका छन्। उनले फ्रिलेन्स (स्वतन्त्र) पत्नीसँगको सम्बन्ध विच्छेद गर्दा ठूलो मूल्य चुकाउनुपर्‍यो।
याहुईले आफ्नो पसिनाबाट अर्जित गरेको कुल सम्पत्ति ३ दशलमव ४५ अर्ब अमेरिकी डलरबाट १ दशमलव १ अर्ब डलर बराबरको धन पत्नीलाई दिए। उनको यो सम्बन्ध विच्छेदलाई पछिल्लो समयकै ‘सर्वाधिक महँगो’ भनिएको छ। चीनका चर्चित इन्टरनेट टाइकुन र ग्रिन्डर कम्पनीका मालिकसमेत रहेका याहुईको पत्नीसँगको पारपाचुके चीनकै इतिहासमा महँगो र विश्वकै तेस्रो हो। यसअघि सन् २००९ मा रुपर्ट र अन्ना मर्डोकले १ दशमलव ७ अर्ब अमेरिकी डलरमा पारपाचुके गरेका थिए। वैवाहिक बन्धनमा बाँधिएको ३२ वर्षपछि मर्डोकले रुपर्टलाई छाडिन्। रुपर्टले अन्नालाई १ सय १० मिलियन अमेरिकी डलर क्यास र बाँकी रकम बराबरको सम्पत्ति दिएका थिए। तर, अचम्म त के भयो भने अन्नासँग छुट्टिएको १७ औं दिनमै उनले ३० वर्षीया वेन्डी डेङसँग अर्को विवाह गरे। यसैगरी सबैभन्दा महँगो सम्बन्ध विच्छेदको सूचीमा २४ वर्षसम्मसँगै बसेका बर्नी र स्लाभिका इसेल्टोन छन्।
१ अर्बदेखि १ दशमलव २ अर्ब अमेरिकी डलरमा यी दम्पत्ति एक अर्कासँग सन् २००९ मा अलग्गिए। यसैगरी सन् २०१२ मा २४ वर्षसम्म सँगै बिताएका हारोल्ड हम्म र सुइ अन्न अर्नालको सम्बन्ध विच्छेद पनि सर्वाधिक महँगोमध्येको एक हो। अर्नालसँग छुट्टिँदा हारोल्डले ९ सय ७४ दशमलव ८ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति दिएका थिए।
जहाँसम्म याहुईको कुरो छ, लोकप्रिय चिनियाँ अनलाइन गेमिङका सञ्चालक उनले बेइजिङस्थित आफ्नो कम्पनीको करोडौं अमेरिकी डलर बराबरको सम्पत्ति पत्नी लि क्विओङलाई प्रदान गर्दै सम्बन्ध विच्छेद गरेका हुन्। पिपुल्स डेली अनलाइनका अनुसार ली एकजना स्वतन्त्र महिला हुन्। अमेरिकी अखबार फोब्र्सझैं विश्वासिलो चीनको ‘हुरुन रिपोर्ट’ मा लीसँगको साझेदारीमा डेटिङ एप ग्रिन्डरका मालिक याहुईको कुल सम्पत्ति ३ दशमलव ४५ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ। लीलाई हिस्सा दिए पनि कम्पनीलाई कुनै प्रभाव नपर्ने जनाइएको छ।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top