0
भाद्र २६, २०७३- इन्टरनेट सेवाप्रदायकबीच विभिन्न प्रविधिमा चल्ने टेलिभिजन सहितका ‘प्याकेज’ बिक्रीमा प्रतिस्पर्धा बढ्न थालेको छ। केही वर्षअघिसम्म इन्टरनेट मात्र बिक्री गरिरहेका कम्पनीहरू अहिले केबल, डिजिटल तथा इन्टरनेट प्रोटोकल (आईपी) टीभीका प्याकेजसहितका सेवा बिक्रीमा प्रतिस्पर्धा गर्न थालेका हुन्। इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुबिसु, ब्रोडलिंक, वेबसर्फर, भायनेटलगायतले यस्ता प्याकेज बिक्री सुरु गरेका हुन्। 
राजधानीमा जारी सूचना प्रविधि मेला ‘क्यान कमटेक–२०१६’ मा समेत इन्टरनेट सेवाप्रदायकले विशेष छुटसहित यस्तै प्याकेज बिक्री गरिरहेका छन्। मेलामार्फत ब्रोडलिंक, वर्डलिंक र भायनेटले इन्टरनेट प्रोटोकलमा आधारित टेलिभिजनका छुट प्याकेज ल्याएका छन्। वेबसर्फरले केबल टेलिभिजनसँग मिलेर प्याकेज ल्याएको छ भने सुबिसुले डिजिटल टेलिभिजन र इन्टरनेटसहितको प्याकेजमा विशेष छुट दिएका छन्।
‘अहिले ग्राहकले छुट्टाछुट्टैभन्दा एकीकृत सेवा मन पराउँछन््,’ ‘क्यान कमटेक–२०१६’ आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघका अध्यक्ष विनोद ढकालले भने, ‘त्यसैले कम्पनीहरूले पनि इन्टरनेट र टीभीका प्याकेज ल्याएका हुन्।’ उनले मेलामा आउने धेरैको चासो यिनै प्याकेजमा भएको बताए। 
इन्टरनेट सेवाप्रदायक संघ (आइस्प्यान) का अध्यक्ष सुमनलाल प्रधानका अनुसार प्रविधिको विकासका कारण अहिले इन्टरनेट र टीभीका प्याकेज एकैसाथ चलाउन सम्भव भएको हो। ‘प्रविधिले गर्दा सम्भव भएपछि व्यवसायी पनि यस्ता प्याकेजमा आकर्षित भएका हुन्,’ उनले भने, ‘अहिले जमाना नै ‘टेक्नोलोजी कन्भर्जन’ को रहेको छ, यो पनि त्यसैको प्रतिफल हो।’ प्रधानले अन्य विकसित मुलुकमा पहिलेदेखि नै यस्तो प्रविधि आएको भए पनि नेपालमा भने भर्खर भित्रिएको बताए। ‘हाम्रोमा पूर्वाधार थिएन, अहिलेचाहिँ सबैजसो सेवाप्रदायक फाइबर बेसमा गएकाले सम्भव भएको हो,’ उनले भने। 
सुबिसु केबल नेटले केही वर्षदेखि एउटै तारबाट इन्टरनेट र केबल टेलिभिजन सेवा चलाउँदै आएको छ। मेलामार्फत कम्पनीले सेटअप बक्स र वायरलेस केबल मोड्युम सित्तैमा दिने योजना सार्वजनिक गरेको छ। कम्पनीले २ हजार ९ सय ९९ रुपैयाँदेखिका विभिन्न प्याकेज ल्याएको जनाएको छ । 
भायनेटले नेट टीभीसँगको सहकार्यमा इन्टरनेट र टीभीका प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले १ सय १६ वटा च्यानलसहितको प्याकेज ल्याएको हो। कम्पनीले भ्याटबाहेक १ हजार ३ सय रुपैयाँदेखि माथिका प्याकेज ल्याएको छ। यी प्याकेज लिने ग्राहकले इन्टरनेटका लागि रकम तिर्नु पर्दैन भने एक महिनासम्म प्याकेजसमेत सित्तैमा पाउने कम्पनीले जनाएको छ। 
वल्र्डलिंकले फाइबर इन्टरनेट सेवामा आईपीटीभीसमेत जोडेर ल्याएको प्याकेज मेलामार्फत सार्वजनिक गरेको छ। वल्र्डलिंकले ल्याएकामध्ये सबैभन्दा सस्तो प्याकेज ७ हजार ९ सय ९९ मा उपलब्ध छ। दुई महिने यो प्याकेजमा उपभोक्ताले ५ मेगाबिट प्रतिसेकेन्ड (एमबीपीएस) गतिको १ सय २० गिगाबाइट (जीबी) डाटा चलाउन पाउनेछन्। यो प्याकेज किन्दा उपभोक्ताले ३० भन्दा बढी ‘फुल हाई डेफिनेसन (एचडी)’ च्यानलसहित १ सयभन्दा बढी च्यानल हेर्न पाउने कम्पनीले जनाएको छ । 
अर्को इन्टरनेट सेवाप्रदायक ब्रोडलिंकले पनि इन्टरनेट, आईपी टीभी र भ्वाइस कल तीनवटै सेवाको संयुक्त प्याकेज ल्याएको छ। कम्पनीले फाइबरमार्फत तीनवटै सेवा सञ्चालन गर्ने जनाएको छ। ब्रोडलिंकले घरायसी प्रयोगका लागि दुईखाले र साना तथा मझौला उद्यमका लागि एउटा प्याकेज सार्वजनिक गरेको हो। घरायसी प्रयोगका लागि ल्याइएको ‘आई लाइक’ प्याकेजमा कम्तीमा ५ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध छ। 
वेबसर्फरले ल्याएको ‘टीभीनेट’ प्याकेजमा भने ग्राहकले केबल टेलिभिजन र इन्टरनेट सेवा एउटै तारबाट लिन सक्नेछन्। ७ सय ६८ किलोबिट्स प्रतिसेकेन्ड (केबीपीएस) गतिको इन्टरनेट र केबल टीभीसहितको प्याकेज सबैभन्दा सस्तोमा ल्याएको छ। यो प्याकेज लिने ग्राहकले भ्याटबाहेक मासिक १ हजार ४ सय ७० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ। 

Post a Comment

 
Top