0
भाद्र ३१, २०७३- अविरल वर्षाका  कारण पहाड झरेर चट्टानसहित गएको पहिराले चीनसँगको व्यापारिक नाका स्याफ्रुवेसी-रसुवागढी सडक अवरुद्ध हुँदा करोडौं रुपैयाँका दसैंका सामान सीमामा थन्केका छन्। 
पासाङ ल्हामुमार्गको रसुवागढी सडक खण्डअन्तर्गत वृद्धिम १ लिङलिङमा ढुंगाको थुप्रो जम्मा भई यातायता सञ्चालन अनिश्चित बन्दा व्यापारिक कारोबार ठप्प भई सामान थन्केको हो। यसबाट दसैं बजार प्रभावित हुने भएको छ। टिमुरे भन्सारका अनुसार करोडौं रुपैयाँ राजस्व संकलन ठप्प छ। 
सीमा क्षेत्रको दुई किमि सडक तथा भन्सार यार्डमा करिब १ सय ५० मालबाहक कन्टेनर लामबद्ध छन्।

चीनबाट आयातित साामान मुलुकभरका बजारमा बिक्री हुने गरेको छ। यो मौसममा मुख्यतया तयारी कपडा, जुत्ता, चप्पल र बिजुलीका समान, फर्निचर, ब्याग, स्टेसनरी, ब्ल्याङ्केट, स्याउलगायतका सामान आयात हुने गर्छ। टिमुरेको घट्टेखोलाको अर्को पहिराले राजधानीबाट चीनको केरुङ जाने कन्टेनर टिमुरेमा रोकिएका छन्। त्यस्तै घट्टेखोला पहिरामा झरेको ढुंगाले तीन वटा कन्टेनरमा क्षति पुगेको छ। 
भूकम्पपछि तातोपानी नाका बन्द भएकाले त्यताबाट हुँदै आएको व्यापार यता सरेको हो। यो मौसममा दैनिक करोडभन्दा बढी राजस्व संकलन हुँदै आएको थियो। पहिराले भन्सार कारोबार ठप्प भएपछि राजधानीबाट गएका व्यापारी फर्केका छन्। टिमुरे भन्सार अधिकृत ध्रुवकुमार रेग्मीका भन्सार कारोबार ठप्प भई राजस्व संकलन शून्य छ। केरुङबाट ल्याइएका ८० कन्ेटरभन्दा बढी स्याउ कुहिने खतरा बढेको छ। लामो समय बाटैमा रोकिँदा गर्मीका कारण स्याउ कुहिन थालेको व्यवसायी रवि प्रधानले बताए।

Post a Comment

 
Top