0
Image result for yatayat vechel cartoon bus pic
आश्विन ४, २०७३- मोटरबाटो गाउँगाउँसम्म पुगेपछि यातायात व्यवसायीले सवारी साधनमा लगानी बढाएका छन् । ऋण दिन बैंक तथा वित्तीय संस्थाबीचको प्रतिस्पर्धासँगै प्रक्रिया सरलीकरणले पनि यस्तो भएको हो ।

व्यवसायीको आकर्षणसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि सवारीसाधनमा लगानी बढाएका छन् । आव ०७२/७३ सदरमुकाम बेनीमा रहेका कृषि विकास बैंकबाहेकका सात वाणिज्य बैंक, तीन विकास बैंक, फाइनान्स कम्पनीले १९ करोड ११ लाख १८ हजार र २७ वटा बचत तथा ऋण सहकारी संस्थाहरूले ४ करोड २५ लाख रुपैयाँसमेत अटो बजारमा २३ करोड ३७ लाखभन्दा बढी लगानी गरेका छन् । बैंकको आकर्षण अटो बजारमा पर्न थालेको हो । बैंक तथा वित्तीय संस्थाहरूको अटो बजारमा भएको यो लगानी अघिल्लो वर्षभन्दा झन्डै दोब्बर भएको बैंकर्सहरूले दाबी गरे । ‘पछिल्ला दुई वर्षयता बैंकहरूको गाडीमा आकर्षण बढी छ । निजी, होटल क्षेत्र र सार्वजनिक तथा मालवाहक गाडीमा लगानीको माग बढी छ,’ गरिमा विकास बैंका शाखा प्रबन्धक कमल ढुंगानाले भने, ‘जति सडक विस्तार भयो, बैंकहरूको लगानीको क्षेत्र उति नै बढ्ने रहेछ ।’

व्यापारिक तथा होटल व्यवसायीले भित्र्याएका गाडी २५ लाखदेखि ६० लाख रुपैयाँसम्मका छन् । जिल्लाका लागि महिन्द्रा कम्पनीको अधिकृत बिक्रेता रारा अटो मोबाइल्सका सञ्चालक हरि भण्डारीका अनुसार गत मंसिरयता महिन्द्राका सय वटा नयाँ गाडी बिके । निजी गाडी किन्नेमा अधिकांश व्यापारी छन् । महिन्द्रा तथा अन्य पिकप गाडीहरू जिल्लाका ग्रामीण कच्ची सडकमा सामान बोक्न उपयुक्त भएकाले पनि यस्ता गाडीको बिक्री बढेको हो ।
सार्वजनिक यातायात मात्र होइन सामान ढुवानी र होटल व्यवसायीले पाहुना सुविधाका लागि गाडी थप्न थालेका हुन् । निजी प्रयोगका गाडी पनि हवात्तै बढेका छन् । गाउँमा सडक विस्तारसँगै व्यापार शैली फेरिएको छ । पहिला ग्राहक व्यापारी खोज्दै सहर झर्ने गरेकामा अहिले गाडीमा सामान बोकेका व्यापारी ग्राहकको दैलोमा पुग्न थालेका छन् । बेनी, तातोपानी, दरबाङ, भुरुङ तातोपानीलगायत ठाउँका किराना, खाद्यान्न, तरकारी, भाँडा र कपडा व्यवसायीले पछिल्लो समय गाडीमा सामान बोकेर बस्तीबस्तीमा ग्राहक खोज्दै जान थालेका छन् । ‘मोटरबाटोको सुविधापछि सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री घर नजिकै पुग्न थालेपछि व्यापारमा वृद्धि भएको छ,’ व्यवसायी उत्तम कर्माचार्यले भने ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top