भाद्र २७, २०७३- १६ औ शताब्दीको अन्त्यतिर मुगलले कश्मिरमा कब्जा जमाए । तिनले श्रीनगरको पहाडमा किल्ला बनाए । कश्मीरमा एउटा किंवदन्ती प्रचलित छ– ‘जब मुगल सैनिक चुचुरोबाट तलतिर झर्थे तिनले आक्रोशित कश्मीरी युवाका हातबाट ढुङ्गाको स्वागत पाउथे । भिन्न–भिन्न समूहमा छरिएका युवाले ढुङ्गा वर्षाउदै मुगल सेनालाई हायलकायल पार्थे । त्यसैले ती युवाले उपाधी पाएका थिए–दिलवार अर्थात बहादुर ।’
चार शताब्दीपछि त्यही आदिम ढुङ्गे हतियार अर्को पुस्ताका आक्रोशित कश्मीरी युवाको रोजाई र जीवनको अभिन्न अंग बनेको छ । तिनीहरु भन्छन्– उनीहरु ढुङ्गे हतियारमार्फत स्वतन्त्रताको झिल्का बालिरहेका छन् । संयोग नै मान्नुपर्छ ४ सय ३० वर्षपछि पनि नवहट्टा ढुङ्गे हतियार प्रदर्शनको केन्द्र बनिरहेको छ, जहाँ इतिहासको कुनै कालखण्डमा युवा कश्मीरीले मुगल सेनालाई ढुङ्गा हान्दै धपाउथे ।
ढुङ्गामुढाको श्रृङ्खला श्रीनगरको डाउनटाउनमा सीमित छैन । गाँउ–सहर हुदै यो मुसलमान बहुल जम्मुको चेनाव उपत्यकासम्म फैलिएको छ । सन् २००८ को अमरनाथ गुठीमा वनक्षेत्र सार्ने निर्णयपछि बढ्न थालेको ढुङ्गामुढा श्रृङ्खला २०१० को आन्दोलनपछि अझै बढ्यो । त्यसपछिका वर्षहरुमा ढुङ्गामुढा हरेक शुक्रबारे प्रार्थनापछिको साप्ताहिक कर्म बन्यो, जुन यसपालीको वर्षायाममा कश्मीरी युवाको दैनिकी नै भयो ।
५२ दिन लामो कफ्र्यु सकिएपछि पनि कश्मीरी सडक सामान्यीकरणतर्फ उन्मुख छैनन् । सामान्य छ त–युवाको समूह र तिनका हातमा उही आदीम ढुङ्गे हतियार ।
शिक्षित र प्रविधिप्रेमी यी युवाले किन गहिरो घृणा पालिरहेका छन् ? तिनीहरुको ‘आजादी’को अवधारणा के हो ? के ले तिनलाई ज्यान दिन प्रेरित गरिरहेको छ ? ढुङ्गामुढाका पछाडी कसैको लगानी पो छ की ? यी र यस्तै धेरै प्रश्नको उत्तर खोज्न आउटलुकले कडा कफ्र्युकाबिच बेचैन डाउनटाउन पुगी चारजना युवा ढुङ्गामुढाकर्तालाई भेट्यो । जहा भित्ताभरी लेखिएको थियो– ‘गो इन्डिया गो ब्याक’, ‘इन्डियन डग्स् गो ब्याक’ र ‘पाकिस्तान जिन्दावाद ।’
चार युवा, जो किशोरावस्था पार गर्दैछन्, तिनले क्यामेरासामु अनुहार देखाउन मानेनन् अनि आफ्नो पहिलो नाम मात्र सार्वजनिक गर्न चाहे । तिनले सुरक्षा फौजद्वारा गरिने दुव्र्यवहार, यातना, ज्यादती र अपमान बारे एकै खालको अनुभव सुनाए । जुन उनीहरुले देखेका मात्र हैनन्, अनुभव समेत गरेका छन् । तिनले ढुङ्गामुढा असन्तुष्टी र विद्रोही मनोदशा जाहेर गर्ने एक माध्यम भएको स्वीकारे । ‘ढुङ्गा हानेर हामी राजनीतिक अभिव्यक्ति दिइरहेका छौ,’ तिनको कथन छ, ‘भारत एक अतिक्रमणकारी हो, जुन हामीलाई मान्य छैन ।’
युवाको मनमा रहेको अन्तिम कुरा भनेको सफल ‘करियर’ बनाउनु नै हो । पृथक्तावादी, पाकिस्तान वा पाकिस्तानी गुप्तचर संस्था आइएसआइबाट पैसा पाएर तिनीहरु ढुङ्गामुढा गर्छन् भन्ने जिज्ञासालाई सबै युवाले हाँसोमा उडाए (हुन त भारतीय प्रशासन संयन्त्र समेत पैसाका लागि ढुङ्गामुढा हुन्छ भन्ने पुष्टी गर्न असमर्थ भइसकेको छ) । उनीहरुलाई थाह छ–तिनको ढुङ्गाले कश्मीरमा भारतको शासन अन्त्य हुने छैन, निकट भविश्यमा भइहाल्ला भन्ने संकेत पनि छैन । अनि तिनलाई थाहा छ–ढुङ्गाले केवल गोली, पेलेट र अश्र्रुग्यासलाई मात्र निम्ता दिन्छ, जसले उनीहरुलाई जीवनभरका लागि अन्धो बनाउन सक्छ र मृत्युको मुखमा पुर्याउन सक्छ ।
मूलधारका केही समूहद्वारा गरिने शंकाजस्तो यी युवालाई कुनै धार्मिक उत्तेजनाले सडकसम्म तानेर ल्याएको हैन । यद्यपी उनीहरु पाकिस्तान समर्थित मुखौटा लगाउन, झण्डा देखाउन र कहिले त इस्लामिक स्टेटको झण्डा उचाल्न पछि पर्दैनन् । तर कसैले पनि कुराकानीमा इस्लाम र कश्मीरमा इस्लामीकरण बारे उच्चारण समेत गरेनन् । ती चार ढुङ्गामुढाधारी युवाको कथा उनीहरुकै शब्दमा :
फारुक (१७), विद्यार्थी : मेरा तीन दिदीबहिनी छन् । बा बुढो भइसक्नुभयो, परिवारले मलाई नै पालनकर्ताको रुपमा हेर्छ । मलाई थाहा छ, ढुङ्गामुढामा सहभागी भएकाले म प्रहरी खोजी सूचीको अग्रपंक्तिमा छु । चाडै नै म पक्राउ पर्न सक्छु, थुनिन र मारिन सक्छु । मलाई यो पनि थाहा छ, पक्राउपछि मेरा बा अथवा दिदीबहिनी स्थानिय थानेदारसँग मेरो जीवनको भीख माग्न र घुस खुवाउन तयार हुनेछन् । यत्ति हुदाहुदै पनि मैले ढुङ्गा हान्ने अभियानलाई रोजेको छु । जब म सुरक्षाफौजलाई ढुङ्गा हानिरहेको हुन्छु, मलाई थाहा हुन्छ म मारिन पनि सक्छु । तर, ममा पक्राउ पर्ने र मारिने डर हराइसकेको छ । परिवारले समेत अहिले यो कुरा बुझिसकेका छन् । पहिले उनीहरुले मलाई रोक्ने कोशिस गर्थे, अहिले गर्दैनन् ।
जब तपाई मृत्युलाई एकदमै नजिक देख्नुहुन्छ, जीवन अर्थहिन र खाली–खाली लाग्छ । मभित्र आक्रोशको ज्वाला बढिरहेको छ । यस्तो अवस्थामा कुन बेला अतिवादी बन्छु दिमागले समेत थाहा नपाउन सक्छ । विगत ५० दिनमा म मुस्किलले कुनै रात घरमा बसे होला । मेरा अभिभावक र दिदीबहिनी लामो समयसम्म मलाई भेट्न आतुर भइरहे । तर मलाई थाहा छ ‘आजादी’ यति सस्तोमा आउदैन । तपाइले आफ्नो लक्ष्य प्राप्तिका लागि त्याग गर्न छाड्नु हँुदैन । मैले २०१० को आन्दोलनमा धेरै साथीहरु गुमाए, जबकी म त्यसबेला मात्र ११ वर्षको थिए । यसै वर्ष पनि यासिर नामको साथी मेरै अगाडी गोली लागेर मर्यो । जब तपाई त्यस्तो घटना आफ्नै आँखा अगाडी देख्नुहुन्छ, तपाईलाई कसैले पनि ढुङ्गा हान्न उत्प्रेरित गरिरहनु पर्दैन ।
हामीले ढुङ्गा हान्दा सुरक्षा फौजको अश्लिल कटाक्षभन्दा कम केही पनि पाउदैनौ । तपाईलाई लाग्छ दुई चार सयका लागि कोही गोली र पेलेट खान तयार हुन्छ ? तपाईलाई थाहा छ, गोली लाग्दा वा अश्रुग्यास खादा कस्तो दुख्छ भनेर ? त्यो पीडा मृत्यु बराबरको हुन्छ । भारतीय फौज भन्छ–तिनीहरु हाम्रो सुरक्षाका लागि आएका हुन् । यो सरासर गलत हो । तिनीहरुलाई पो पैसा दिइएको छ हामीलाई मार्नका लागि । यो अभियान त्यसबेला रोकिन्छ, जब अन्तिम भारतीय सेना कश्मीरबाट फर्किन्छ । म ‘आजादी’को बिहानी त देखिरहेको छैन, तर पनि अहिले आन्दोलन जारी राख्नु हाम्रो कर्तव्य हो । स्वतन्त्रताको झिल्कालाई हामीले अघि बढाइरहनु पर्छ । एकदिन हामी एउटा स्वतन्त्र मुलुक बन्नेछौ ।
बसिर (१९), बिक्रेता : ढुङ्गामुढा गर्नु क्रिकेट खेल्नु होइन । यो त बन्दुक बोक्नु र हतियारधारी समूहको सदस्य बन्नु जत्तिकै संवेदनशील हो । यो भारत विरुद्ध फरक तरिकाको विद्रोह हो । मैले सुनेको छु, यहुदीहरु ढुङ्गा हानेकै आरोपमा प्यालेस्टाइनीलाई २० वर्ष थुन्छन् । मलाई लाग्छ, त्यस्तै कानुन कश्मीरमा पनि आउदैछ, आउनसक्नेछ । यत्ति हो त्यस्ता कानुनले हामीलाई थप कठोर बनाउनेछ, हामीले हान्ने ढुङ्गा जस्तै ।
हामीलाई ढुङ्गा हान्न कसैले पैसा दिएको छैन । भारतीयहरु भन्छन्–ढुङ्गामुढा गर्नेलाई पाकिस्तानले ५ सय रुपैयाँ दिन्छ । तपाईलाई लाग्छ, मात्र ५ सय रुपैयाँका लागि म गोली खान तयार भएको हुँला ? त्यो त एकदमै सस्तो भएन एउटा जीवनदान गर्नलाई ? ढुङ्गा हानिसकेपछिको अवस्था भनेको जाहेरी, यातना, जेल र परिवारलाई लगातारको दुव्र्यवहार हो । ५ सय रुपैयाँका लागि कस्ले यस्तो त्रासदीपूर्ण कदम उठाउन तयार हुन्छ ?
अश्रुग्यासबाट बच्न आँखा वरिपरी मञ्जन दल्दा र जिब्रोमुनी नुन राख्दा सहयोग पुग्छ । त्यसबाहेक हामीसँग अरु कुन विकल्प बच्न सक्छ र ? जब तिनीहरु शान्तिपूर्ण प्रदर्शनलाई समेत अश्रुग्यास र गोलीले जवाफ दिन्छन् भने । हामी ढुङ्गाबाट नै आफुलाई कठोर बनाउन सक्छौ । २००८ मा बालख नै थिए जब पहिलो पटक मैले सुरक्षा फौज विरुद्ध ढुङ्गा उठाए । त्यसपछिदेखि ममा भारतप्रतिको घृणा उकालो लागेको लाग्यै छ । तर सबैभन्दा ठूलो चिन्ताको विषय भनेको नेताहरुले हामीलाई २००८ र २०१० मा जस्तै हामीलाई बेच्नु हुदैन भन्ने हो । यसपटक पनि हाम्रा नेताहरुले कश्मीर समस्या समाधानका लागि उपयुक्त कदम उठाएनन् भने म यातनाकारी फौजसँग भिड्न सडकमा निस्किरहने छैन ।
मेरो दाजु भारतीय प्रहरी हुन् भन्दा तपाईलाई अचम्म लाग्छ सक्ला । तर मेरा लागि उ पनि अरु सिआरपिएफ (सेन्ट्रल रिजर्भ पुलिस फोर्स) जवान जस्तै हो । दुवै कश्मीरमा भारतको प्रतिनिधित्व गर्छन् । उसले भारत एउटा दमनकारी हो भन्ने बुझेको छ, त्यैपनि उसले भारतकै पक्ष लियो । कहिलेकाही हाम्रो तर्क वितर्कले वादविवादको रुप लिन्छ । यसर्थ म दमनकारी विरुद्ध घरभित्र र घर बाहिर संगसगै लडिरहेको छु ।
वामिक (१५), विद्यार्थी : केही समयअघि मात्र मेरो पेटमा गोली लाग्यो र म गम्भिर घाइते भए । सुरक्षाफौजले मलाई ‘प्वाइन्ट ब्ल्याङ्क रेन्ज’ बाट मार्नकै लागि ताकेर गोली हानेको थियो । तर, भगवानको कृपाले म बाचे र चाडै निको भएँ । म घाइते भएको थाहा पाएपछि मेरा बा आमाले मलाई ढुङ्गामुढा नगर्न अनुनय विनय गरे । उनीहरुलाई मैले कुनै नखरा नपारीकन भने म सहादत प्राप्त गर्न चाहन्छु । केही दिन अघि श्रीनगर डाउनटाउनको फत्तेकदलमा प्रहरीले इरफान नामको १८ वर्षीय साथीलाई मार्यो । यो एकदमै दुखद घटना हो । इरफान म जस्ता धेरै ढुङ्गामुढा गर्ने युवा जन्माउने मान्छे थियो । उसका विरुद्ध श्रीनगरका विभिन्न प्रहरी चौकीमा २१ वटा त जाहेरी मात्र दर्ता थिए । तिनीहरुले उसलाई सिकारी कुकुरले खोजेझै खोजिरहेका थिए । दुई वटी विवाह नगरेका बहिनी र विधवा आमा नभएको भए उ धेरै पहिले कुनै ससस्त्र समूहको सदस्य भइसकेको हुने थियो । म अझै पनि उ जस्तै ढुङ्गामुढा गर्ने युवा कश्मीरभर खोजिरहेको छु । अहिले बन्दुक सजिलै पाइदैन, यद्यपी मैले एउटा खोज्ने कडा प्रयत्न गरेको थिए । त्यसैले बन्दुकको साटो ढुङ्गा बोकिरहेको छु । म हातमा बन्दुक बोकेर लड्दै गरेको हाम्रो दाजुभाई र हातमा ढुङ्गा बोकेर मारिएकोमा कुनै फरक देख्दिन । तिनीहरु हाम्रा लागि एकै हुन्, कश्मीरको स्वतन्त्रताका लागि सहिद हुन् ।
हाम्रा हातले उठाउने ढुङ्गा भारतीयका लागि चिन्ताको विषय बनेको छ । तिनीहरुले अहिले आफ्ना एजेन्टलाई हामै्र पथमा लगाइरहेका छन् । तर यसले हाम्रो अभियान समाप्त पार्न सक्दैन । २०१० मा पिपुल्स डेमोक्र्याटिक पार्टी (पिडिपी)का भिजिलान्ते थिए अहिले नेसनल कन्फ्रेरेन्सका छन् । मैले तिनीहरुलाई देखेको छु । भारत भाडामा ढुङ्गा हान्नेको कुरा गर्छ भन्ने तिनीहरु होलान् । तिनको आरोप सत्य होला । तर भारतीयहरु पाकिस्तान वा हुरियतले पैसा दिएर हामीले ढुङ्गा हानेको भन्छ भने त्यो आधारहिन आरोप बाहेक केही होइन । म कुनै राजनीतिक दल वा नेतालाई मान्दिन । साँच्चै भन्ने हो भने हामीले हान्ने ढुङ्गालाई सबै राजनीतिक दल र तिनका नेताले चुनौतीकोरुपमा लिन्छन् । जबसम्म ढुङ्गामुढा चलिरहन्छ, तिनको यहा केही जोर चल्दैन । मैले व्यक्तिगतरुपमा कुनै हुरियत नेतालाई भेटेको छैन । तर म तिनलाई सम्मान गर्छु अनि तिनले गर्ने शान्तिपूर्ण प्रदर्शनमा सहभागी समेत हुन्छु । म ढुङ्गा र तर्कद्वारा लडिरहेको छु । मेरा दुइजना काका प्रहरीमा काम गर्थे तर मैले एउटालाई राजिनामा गर्न राजी गराए ।
केही व्यक्तिहरु हामीलाई हाम्रो अभियानको प्रतिक्रिया खतरनाक हुन्छ भन्दै निरुत्साहित गर्न खोज्छन् । त्यो त हामीले देखि सकेका छौ । रातीराती मैले मेरो घाउमा मलम पट्टी लगाउन दौडेको छु । म मेरा शत्रुलाई भन्न चाहन्छु– कश्मीरमा ढुङ्गा हान्न बन्द गर । आखिर तिनीहरुले सबै ढुङ्गा हान्नेलाई मार्न सक्छन् र ? के हामीसँग हिंसाले बनाएका ५० हजार टुहुरा बालबालिका छैनन् र ?
रायन (१५), विद्यार्थी : मलाई थाहा छ, ढुङ्गा हान्दैमा भारतीय शासन सकिने छैन । भारत शक्तिशाली मुलुक हो र हामीलाई तह लगाउन युद्ध सम्बन्धी सबैखाले हत्कण्डा अपनाउछ । तर यो सांकेतिक प्रतिरोध हो । हामी भारतलाई भन्न चाहन्छौ– ‘तँ हाम्रो भुभागमा शासन जमाउन सक्छन्, तर हाम्रो मन मस्तिष्कमा सक्दैनस् ।’ जब तपाई ८ वर्षको बालक समेत मरणासन्न हुने गरि कुटिएको देख्नुहुन्छ तब सामान्य अवस्थाको कल्पना गर्न सक्नुहुन्न । तपाई अतिक्रमणकारीलाई घृणा गर्न थाल्नुहुन्छ अनि जे सक्नुहुन्छ त्यहि गर्नुहुन्छ, जसले गर्दा त्यसलाई पनि चित्त दुखोस् । ‘आजादी मार्च’ का लागि कसैले लगानी गरेको हुनसक्ला तर ढुङ्गामुढाका लागि कसैको पैसा आएको छैन । जसले पैसाका लागी हामी ढुङ्गा हान्छौ भन्छ, त्यसले कश्मीरी मनोबिज्ञान बुझेकै छैन । यदी १९९० ताकाजस्तो बन्दुक सजिलै उपलब्ध हुने भए अहिले पनि यहा बन्दुकको मार्चपास हुन्थ्यो । म त्यस्तै होस भन्ने चाहन्छु । त्यस्तो भए पहिलेको भन्दा व्यवस्थित आन्दोलन हुने थियो । बन्दुक उठाउने म सायद पहिलो युवा हुन्थे ।
कश्मीरी नेतृत्वले शान्तिपूर्णरुपमा समस्या समाधान गर्न खोजेको हो । तर, हरेक पल्ट हामीलाई धोका भएको छ । वास्तवमा नयाँ दिल्लीलाई पटक–पटक विश्वास गर्नु हाम्रा नेताहरुमा समझको अभाव हो । तर नयाँ दिल्लीले के बुझ्न जरुरी छ भने, जत्ति उसले कश्मीरमा दमन गर्छ उत्ति नै बढी उस विरुद्धको रोष उत्पन्न गराउनेछ । स्वतन्त्रता धेरै टाढाको कुरा होला, तर प्रतिरोध हाम्रो रगतमा छ, त्यसैले हामी प्रतिरोधलाई अघि बढाई रहनेछौ ।
(भारत प्रशासित कश्मिरमा उग्रवादी युवा बुरहान वानीलाई सुरक्षा फौजले मारेपछि गएको दुई महिनादेखि हिंसा भड्किएको छ । स्थानीय सञ्चार माध्यमका अनलाइन संस्करणमा जनाइए अनुसार आइतबारसम्म ७९ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । ११ हजार ५ सयभन्दा बढी घाइते छन् । अझै श्रीनगरका कतिपय स्थानमा कफ्र्यु जारी छ । पुरानो श्रीनगर क्षेत्रमा दैनिक स्थानीय युवा र सुरक्षा फौजबीच ढुङ्गामुढा भइरहेको छ । यस्तो खाले ढुङ्गामुढाको श्रृङ्खला पहिलो पटक सन् २००८ मा सुरु भएको थियो । गत वर्षसम्म सातामा एक–दुई पटक हुने ढुङ्गामुढा हाल दैनिक भइरहेको छ । श्रीनगरको ढुङ्गामुढा र त्यसमा सहभागी युवाको मनविज्ञान बारे अन्तर्राष्ट्रिय चर्चा हुने गर्छ । यसै साताको आउटलुकमा सोही विषयमा स्थलगत रिर्पोट प्राकशित भएको छ । यहाँ विष्णु पोखरेलद्वारा गरिएको आउटलुकमा प्रकाशित ‘आर्मड विथ दी ओरिजिनल वेपन’ रिपोर्टको नेपाली भावानुवाद प्रकाशित गरेका छौं ।
Source: http://kantipur.ekantipur.com/
Post a Comment