0
आश्विन १, २०७३- भर्खरै चौथो श्रेणीमा उक्लेको म बाह्रवर्षे ठिटो थिएँ । हामी त्यति बेला पूर्वी इलामको फिक्कलस्थित आदर्श चन्द्र पाठशालामा पढ्थ्यौं । हाम्रा शिक्षक चन्द्रभक्त कसजुले हामी दस बाह्र छात्रहरूलाई दार्जिलिङ र खर्साङ घुमाउन लगेकाले हामी अत्यन्तै उत्सुक र उत्साहित थियौं । त्यसै भ्रमण समूहमा पाठशालाका अध्यक्ष मेरा पिता प्रजापति उपाध्याय पनि हुनाले म अझ बढी रौसिएको थिएँ ।
झन्नै दस किलोमिटर पर्ने पशुपतिनगर फाटकसम्म मात्र होइन, त्यसपछि चार किलोमिटर टाढा सिमाना बजारसम्म पैदलै हिँडेर हाम्रो भ्रमणदलले गाडी भेट्यो र दुइटा सस्याना गाडीमा खाँदखुँद हुँदै हामी दार्जिलिङ पुग्यौं अनि त्यसपछि बस चढेर खर्साङ पुगी त्यहींको धर्मशालामा बस्यौं ।
भोलिपल्ट चियाखाजा खाई हाम्रा शिक्षकले पढेको पुष्परात्री माध्यमिक विद्यालय र क्रिस्तानहरूले चलाएका छात्रहरू मात्र पढ्ने सन्त अल्फोन्सस अनि छात्राहरू मात्र पढ्ने सन्तजोसेफ माध्यमिक विद्यालयहरू घुमेपछि त्यहाँको चलचित्रगृहमा साँझतिर हिन्दी फिलिम पहिलोपल्ट हेर्न पाउँदा हामी गाउँले ठिटाहरू गद्गद् भएका थियौं ।
हामी मक्ख पर्न पाएको अर्को अति स्मरणीय अनुभवचाहिँ पहाडका घुम्तीहरूमा छक्छक् छक्छक् गर्दै कुद्ने रेल हो जसमा दुई दिनपछि खर्साङबाट चढेर २६/२७ किलोमिटर छिचोल्दै र लामो सर्पजस्तै गुँडुल्किँदै हामी दार्जिलिङको धीरधाममास्तिर स्थित बिसौनीमा ओर्लन पाएका थियौं । त्यस रेलयात्रामा धुममा कुइँक्क घुम्दै र बतासे डाँडालाई फन्को मार्दै दार्जिलिङ नगरको हेरिरहुँजस्तो अद्वितीय दृश्यलाई अवलोकन गर्ने अवसर पनि हामीलाई प्राप्त भएको थियो ।
दार्जिलिङमा पनि हामी धर्मशालामै बसेका थियौं र त्यहाँका चोक बजार, चौरस्ता, महाङ्काल डाँडो र अति सुन्दर फूलबारीमा घुमेका थियौं । त्यहाँ रिङ्क् र क्यापिटल नाउँका दुई चलचित्रघर थिए र तिनमा हामीले हिन्दी मात्र होइन हाम्रो जीवनमा सर्वप्रथम अंग्रेजी चलचित्र पनि हेर्‍यौं । चौरस्तातिर जाँदा बायाँतर्फ पर्ने ‘प्लिभा’ भन्ने उच्च वर्गको भोजनालयबाट एकजना सामान्य उचाइका नेपालीलाई हामीले एउटी कुइरिनीसित च्याप्प अँगालो मार्दै बाहिर निस्केका देख्यौं । हाम्रा शिक्षकले मेरा पिताका कानमा खुसुक्क टिप्पणी गरेको मैले सुनें, ‘यिनै हुन् नि दार्जिलिङका सर्वश्रेष्ठ उकिल † यिनले सयौं मुद्दाहरू लडे, तर आजसम्म कहिल्यै हारेका छैनन् †’
मेरा पिताले अलिक उच्च स्वरमा भन्नुभयो, ‘तर भोलि जुन मुद्दालाई यिनले लिएका छन् त्यसमा यी हार्छन् भनेर सारा दार्जिलिङबासी नेपालीहरू त्राहीत्राही भएका छन् भनेर अघि म मेरा मित्र चन्दु अग्रवालको पसलमा जाँदा यहाँका मानिसहरू हल्ला गर्दै थिए ।’
‘यी त असाध्यै सफल उकिल हुन् । मुद्दामा बहस गर्दा दुई पक्षमध्ये एउटा पक्ष नेपाली रहेछ भने उनी अनेपालीले शुल्क तिरेर उनलाई लगाए पनि त्यसको विपक्षीतर्फका नेपालीलाई नै जिताउँछन् रे,’ शिक्षकले भन्नुभयो ।
‘हो त नेपाली भनेपछि यी हुरुक्कै हुन्छन् र त यी दार्जिलिङभरि अत्यन्त जनप्रिय छन् ।’
पिताले भन्नुभयो, ‘यी रूपनारायण सिंह हुन् र यिनको नाम सारा नेपालीका जिब्रैमा अल्झेको छ ।’
‘अध्यक्षज्यू, यी त ठूला र प्रसिद्ध लेखक पनि हुन् । तारा, तिमीलाई मैले अस्ति पढ्न दिएको उनको उपन्यास ‘भ्रमर’ कस्तो लाग्यो त तिमीलाई ?’
‘साह्रै राम्रो, मीठो र सजिलो लाग्यो सर ।’ मैले भनें ।
केही छात्रहरूले जाडो भएकाले सुइटर किन्न अनुरोध गर्दा पिताजीले चन्दुको पसलमा हामीलाई पुर्‍याउनुभयो । त्यहाँ त हूलका हूल मानिसहरू रूपनारायण सिंहको बारेमा कुरा गर्दै रहेछन् ।
एउटाले भन्यो, ‘यसपालि भने रूपनारायणले पक्कै हार्ने भए ।’
अर्काले थप्यो, ‘हार्न त मुद्दाको बहसमा उनी के हार्थे र ? नेपालीलाई नै जिताउने उनको बानीले यसपालि चाहिँ उनलाई खोले खुवाउने भयो ।’
मेरा पिताले सोध्नुभयो, ‘किन नि ?’
त्यसले व्याख्या गर्‍यो, ‘मुद्दा लर्तरो छैन । यहाँको ठूलो गोरा हाकिमकी मेमलाई एकजना नेपालीले बलात्कार गरेको भन्ने उजुरी रहेछ अनि अंग्रेजीहरूको राजमा कसरी नेपालीलाई जिताउनु ?’
अर्काले निष्कर्ष निकाल्यो, ‘इन्द्रको बाबु चन्द्रे आए पनि यसपालि रूपनारायणले नेपालीलाई जिताउन एक सक्तैनन् दुई सक्तैनन्, तीन सक्तैनन् ।’
हाम्रा शिक्षकले सोध्नुभयो, ‘बलात्कारको दोष लागेको नेपालीचाहिँ को परेछ नि ?’
एकजना युवकले सुनायो, ‘रतनलाल ब्राह्मण त हुन् नि । कम्युनिस्ट नेता क्या । उनी ट्याक्सी चलाउँछन् । ट्याक्सीमा हालेर लेबोङतिर लाँदा बाटामा त्यस कुइरिनीलाई उनले पूरै हातपात गरे रे । भोलि तल कचहरीमा मानिसहरूको धुइरो लाग्दैछ । रूपनारायणले सधैं त जसरी पनि बहस जितेरै छाड्थे, उनको पहिलो हार हेर्न पूरै दार्जिलिङ ओइरिँदै छ ।’
हामी पनि भोलिपल्ट भोजन गरी हतारहतार ट्याक्सी बिसौनी नाघेर अलिक तलतिर पर्ने कचहरी भवनको (अर्थात् जिल्ला न्यायालयको) आँगनमा पुग्यौं ।
अत्यन्त रमाइलो बहस थालियो । पुतलीटाई र सुटमा जमेका उकिल रूपनारायण सिंहले कुइरिनीको तर्फबाट बहस गर्ने भनी शुल्क लिए तापनि उनले साम्यवादी नेता ड्राइभर रतनलाल ब्राह्मणलाई नै जिताउलान् भन्ने आशा गर्ने नेपालीहरू त्यहाँ अटेसमटेस भएर भेला भएका थिए । एउटाले भन्यो, ‘रूपनारायणले यसपालि कुइरिनीलाई नै जिताउँछन्, हेरिराख न । अंग्रेजहरू भारतका शासक हुन् र उनको विरुद्धमा उनी के जान्थे, जान सक्थे ? फेरि ठूला हाकिमकी पत्नी मेमसाहेबलाई कम्युनिस्ट रतनलाल बाजेले करुणीजस्तो जघन्य अपराध गरेका छन् ।’
अर्काले टिप्पणी गर्‍यो, ‘हो त । फेरि रूपनारायण सिंह कम्युनिस्टहरूलाई हेरिसक्तैनन् । अन्त ?’
रूपनारायण सिंहले गोजीबाट अत्यन्त होसियारीसाथ एउटा सियो र अलिकति लामो धागो निकाले । धागाको पुच्छर बटारेर उनले त्यस गोरी मेमलाई दिए अनि रतनलाललाई सियो दिँदै बिस्तारी भने, ‘सियोको फेद मेमसाहेबलाई देखाउनू अनि जब ऊ प्वालमा धागो छिराउन खोज्छे नि, बिस्तारी हल्लाइदिनू, छिराउन नसकोस् है ।’
अनि अनोठो र औधि रमाइलो दृश्य हामीले हेर्न पायौं । अग्ली, गोरी र सुन्दरी स्त्री धागाको छेउ बटार्दै रतनलाल बाजेले समातेको सियो ताकेर छिराउने प्रयत्न गर्ने र बाजेचाहिँ सियो केही हल्लाइदिने । जति प्रयत्न गर्दा पनि धागो छिराउन त्यसले सकिन । अंग्रेजीमा त्यसले प्रतिवाद गरी, ‘यो ड्राइभर फटाहा हो, सियो हल्लाउँछ अनि मैले कसरी यो धागो त्यसमा छिराउनु ?’
अनि कुशाग्र बुद्धिका उकिल रूपनारायण सिंहको तर्क प्रकट भयो, ‘न्यायाधीश महोदय, कुरो स्पष्ट छ । यी महिलाले जसरी धागो छिराउन सकिनन् उसरी नै यिनले पनि नमानेकी भए रतनलालले कसरी करणी गर्न सक्थे ? यौनसम्पर्क भएकै भए दुवैको राजीखुसीले नै भएको हो, नत्र बिचरा नेपाली ड्राइभरलाई बिनबिच्चमा यस्तो अपत्यारिलो र दुष्ट दोष लगाउन पाइँदैन । कृपया यो हेपाहा मुद्दा खारिज गरिपाऊँ †’
साँच्चै नै करणी प्रमाणित भएन । मुद्दा खारिज भयो । प्रहरीले समातेर ठिङ्ग्याइएका कम्युनिस्ट नेता रतनलाल बाजे छुटे ।
यो वास्तवमा रुपनारायणले जस्तै अवस्थामा पनि नेपालीलाई नै जिताउने उनको सिद्धान्त तथा बानीको उदाहरण हो । उनी नारीलाई ठूलो श्रद्धा गर्दथे र गर्नु पनि पर्दछ ।
आफू छुटेपछि रतनलालले रूपनारायण सिंहका समक्षमा गई आँसुआँसु हुँदै धन्यवाद प्रकट गरे तर रूपनारायण सिंह साम्यवादका कट्टर विरोधी थिए । रतनलाल नेपाली भएकैले उनले सहयोग गरेका थिए । उनीतिर हेर्दा पनि नहेरी रूपनारायण घरतिर लागे र जीवनभरि फेरि उनी कहिल्यै रतनलालसँग बोलेनन् ।
हाम्रा शिक्षकले भन्नुभयो, ‘तारा, म तिमीलाई ‘कथानवरत्न’ उपहार दिन्छु । नौवटा साह्रै राम्रा कथाहरू भएको त्यो पुस्तक सिंहकै हो । त्यहाँ ‘आमा’ भन्ने कथा पढ्यौ भने तिमीलाई सबै कुरो छर्लङ्ग हुनेछ †’
म बाह्रवर्षे ठिटाले त्यति बेला राम्ररी बुझ्न सकिनँ, तर जब वर्ष बित्तै गए अनि पो थाहा पाएँ रूपनारायण सिंह त महान् र सफल उकिल मात्र नभएर अति विशिष्ट साहित्यिक व्यक्तित्व पो रहेछन्, नेपाली भाषा साहित्यका शैलीशिरोमणि रहेछन् जसको भाषा शैलीलाई अनुकरण गरेर नै म यहाँसम्म आइपुगें ।
यस्ता अद्भुत प्रतिभासम्पन्न व्यक्तित्वको सम्झना मात्र गर्दा पनि मेरो शिर स्नेह र श्रद्धाले झुक्छ ।
Source:http://kantipur.ekantipur.com

Post a Comment

 
Top