आश्विन ४, २०७३- नागरिकता बनेको तीन वर्ष
बितिसक्यो तर ७५ वर्षीय कृष्णबहादुर चेपाङले वृद्ध भत्ता पाएका छैनन् ।
त्यही उमेरकी पत्नि सुन्तलीको नागरिकता पनि बनेको छैन ।
भार्ता गाविस–६, डाँडागाउँका कृष्णबहादुरले २०७० मा कालिटारको कटुन्जेमा
सञ्चालित एकीकृत घुम्ती शिविरमा नागरिकता लिएका थिए । नागरिकता लिएर घरमा
राखिरहेका कृष्णबहादुरलाई ७० वर्ष काटेपछि वृद्ध भत्ता पाइन्छ भन्ने
जानकारी समेत पनि रहेनछ ।
गाउँ घुम्नेक्रममा उनको घर पुगेका एक विकासे
कार्यकर्ताले नागरिकता बनाएको छ कि छैन भनेर सोध्दा बनाएको जानकारी गराए ।
तर, वृद्ध भत्ता पाइन्छ भन्ने कुरा अहिलेसम्म जानकारी नभएको बताए ।
घुम्ती शिविरमा नागरिकता बनाउन पनि उनलाई स्थानीय युवकले जबर्जस्ती गरेर
ल्याएका थिए । छोराछोरी कोही नभएका दम्पत्तीको बस्ने घर, घामपानी दुवै
छिर्ने छ । खरको छानो छ । खरबाट पानी चुहिएर घरभित्रै घुम ओढेर बस्नु पर्ने
अवस्थाको छ । खर छाउन पनि उनीहरुसाग पैसा छैन । छानामाथि चढेर छाउन उनी
सक्तैनन् । चार औले लगौटी लगाएर लाँज ढाक्दै आएका कृष्णबहादुरको अवस्था
दयनीय छ ।
‘वर्ष दिनमा १० महिना यी दम्पत्तीले गिठ्ठा भ्याकुर खाएर प्राण धान्ने
गरेका छन्’ कालिटार कटुन्जेका सामाजिक कार्यकर्ता नरेन्द्र रिजालले भने,
‘कृष्णवहादुर बस्ने क्षेत्र भार्ता गाविसमा परे पनि दम्पत्ती विगतमा
कटुन्जे बजारमा मजदुरी गरेर घर फर्कने गर्थ्यो ।’ तर अहिले उनीहरु मजदुरी
गर्न सक्ने अवस्थामा छैनन् ।
कृष्णबहादुरभन्दा सुन्तली चेपाङ अलि फूर्तिली छिन् । उनले नै यताउती मजदुरी
गरेर प्राण धानेकी छिन् । आफ्नो नाममा एकधुर जमिन पनि नभएका यी दम्पत्तीले
भिरालो जमिनमा मकै र कोदो लगाउने गरेका छन्, त्यहाँको उत्पादनले मुस्किलले
दुई महिना खान पुग्छ । मकै र कोदो आएपछि जाँड–रक्सी बनाएर खाने गरेका छन् ।
सन्तानविहिन चेपाङ दम्पत्ती नचिनेका मानिस आए भने अझै पनि लुक्न खोज्छन् ।
भार्ता गाविस कार्यालय यी दम्पत्तीले देखेको पनि छैनन् । गाविसका प्राविधिक
सहायक टंक मोक्तान आफ्नो गाविस घुम्नेक्रममा आइतबार कृष्णबहादुरको घर
पुगेका थिए । उनले प्राविधिक सहायक मोक्तानलाई डराउादै नागरिकताको
प्रमाणपत्र देखाए । दसैंमा वृद्ध भत्ता लिन गाविसमा आउन पनि अनुरोध गरे ।
‘उनलाई वृद्ध भत्ता पाइन्छ भन्ने थाहा नै रहेनछ’ प्राविधिक सहायक मोक्तानले
भने, ‘नागरिकता बनाएदेखि नै उनले वृद्ध भत्ता पाउँथे ।’
हेटौडा बजारको अनुहारसमेत नदेखेका चेपाङ दम्पत्ती उमेरमा स्थानीय शिकारी
थिए ।
कृष्णबहादुर बन्दुक बोकेर राती घरमाथिको जंगलमा शिकार खेल्न जान्थे,
सुन्तलीले उनलाई साथ दिन्थिन् । सशस्त्र द्वन्द्वकालमा उनको घरबाट बन्दुक
नै हरायो । त्यसपछि उनले शिकार खेल्न छाडे । ‘उमेरमा दुवैजना शिकारी हुन्’
स्थानीयवासी वीरबहादुर चेपाङले भने, ‘राती जंगलमा कृष्णबहादुरसँग हामी
हिँड्न सक्दैनथ्यौं । उनी अहिले उमेरले हिड्न नसक्ने भए । ‘यी दम्पत्तीको
हेरविचार गर्ने कोही पनि छैनन्’, चेपाङले थपे ।
Post a Comment