0
भाद्र ३०, २०७३- कुनै बेला सांगीतिक अभ्यासका क्रममा (बायाँबाट) गायकहरू जेम्स प्रधान, योगेश्वर अमात्य र सुनील बर्देवा। 
मैले सुनीललाई चिनेको बीस वर्ष भइसकेको रहेछ। कसले पो हो 'एउटा राम्रो गिटारिस्ट छ, चिनाइदिन्छु' भन्दै मलाई पुतलीसडकतिरको रेकर्डिङ स्टुडियोमा लगेको सम्झन्छु। त्यसपछि मैले एउटा हँसिलो गिटारिस्ट भेटेको थिएँ।
सन् १९९८ मा पहिलो पटक भेटेको त्यो राम्रो गिटारिस्ट सुनील बर्देवा थियो। त्यो बेला म भर्खर संगीत क्षेत्रमा लाग्दै गरेकाले जतिसक्दो धेरै संगीतकर्मीसँग चिनजान गर्न चाहन्थेँ। अतः सुनीलसँग परिचय गर्न पाउँदा रमाएँ। 
त्यसपछि मेरा गीतमा सुनीलले गिटार बजाइदिन थाल्यो। कार्यक्रमहरूमा पनि ब्याक-अप भोकल्स वा गिटारवादक चाहियो भने उसैलाई गुहार्थें। उसका कार्यक्रममा मैले पनि सहायक भएर काम गरेको छु।
हामी एकअर्कालाई 'मित्र' भनेर सम्बोधन गथ्र्यौं। देशविदेशका कार्यक्रमहरूमा धेरै पटक सँगै गइयो। गीत लेख्ने, संगीत भर्ने, अरेन्जमेन्ट गर्ने, गिटार, पियानो र बाँसुरी पनि बजाउने गर्‍यौं।
धेरै थोकमा सिपालु थियो सुनील। साथीभाइसँग जिस्किन र अरूको खिल्ली उडाउन पनि माहिर थियो ऊ। ऊसँग संगत गर्दा मज्जा आउँथ्यो।
तैपनि मलाई उसका दुई-चारवटा बानी मन पर्दैनथ्यो। अरूले भनेको मनन नै नगर्ने र जिद्दी गर्ने स्वभाव थियो। पहिले-पहिले हल्काफुल्का रक्सी पिउने मान्छे, पछिल्लो समय बढी नै खान थालेछ। हामीले सम्झाउँदा 'हुन्छ, हुन्छ, अबदेखि खान्नँ' भने पनि उसले खान छोडेन। रक्सीकै कारण उसको ज्यान गयो।
सुनीलले आफूले आफैंलाई मार्‍यो भन्छु म त। उसले आफू स्वयंलाई माया गरेन। तीन-चार वर्षअघि हो क्यारे, 'म अब सुधि्रन्छु मित्र, काम गर्छु' भन्दै मकहाँ आएको थियो। तर, केही दिन काम गरेपछि हरायो। 
विगत दुई वर्षदेखि ऊ आफ्नो पुरानो सांगीतिक सर्कलबाट टाढिएको थियो। म, योगेश्वर अमात्य, न्ह्यू बज्राचार्य कोहीसँग पनि सम्पर्कमा थिएन। मसँग बेलाबेलामा फोनमा कुरा गथ्र्यो तर भेटघाट, सहकार्य सबै टुटेको थियो। कार्यक्रम गरौं भनेर धेरैचोटि म्यासेज पनि पठाएको थिएँ। तर, उसले कुनै उत्सुकता देखाएन। रिहयाब (सुधारगृह) तिर जान थालेको छ भन्ने सुनेको थिएँ, एकताका। उसकी श्रीमती पनि पोहोर बितिन्, आत्महत्या गरेकी हुन् भन्ने हल्ला मेरा कानमा पनि परेको थियो।

केही दिनअघि मात्रै नवीन (के भट्टराई) र मैले एउटा नयाँ प्रोजेक्टमा जसरी पनि सुनीललाई लिनुपर्छ भनेर सल्लाह गरेका थियौं। तर, मंगलबार राति उसका भिनाजुले फोन गरेर सुनील बितेको खबर सुनाउनुभयो। म राति नै टिचिङ हस्पिटल पुगें।
हामीले कस्तो बेलामा योजना बनाएछौं भनेर थकथक लागिरहेको छ। आज -बुधबार) उसको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन जाँदा उसको हँसिलो अनुहारले मलाई रुवायो।

Post a Comment

 
Top