0

भाद्र २५, २०७३- नेपालमा बिहान ९ बज्दा कतारमा ६ बज्छ । फरक त तीन घन्टाको न हो, तर बेलाबेलामा यसले हैरानी भने निकै दिन्छ । कदाचित बेलुकी सुत्ने बेला मोबाइलको ‘स्विच अफ’ गर्न बिर्सिइयो भने बिहान नेपालबाट आएको फोनले निद्रा भगाइदिन्छ । यसरी कैयौं रात त्यत्तिकै अनिदो भइएको छ । बिहानको ६ बजे भनेर हुन्न, त्यति बेला मेरो निद्राचाहिँ मध्यरातकै हुन्छ, अघिल्लो दिनभर रिपोर्टिङमा दौडिँदा भेटिएका पीडितसँगको दौडधुपको थकाइ जो छ ।  वैदेशिक रोजगारीका क्रममा कतार पुगेर पीडित बनेकाहरू ‘समाचारको पात्रभन्दा आफ्नो उद्धार’ चाहन्छन् । आफूले पाइरहेको पीडा, हन्डर र तनाव सकभर परिवारसँग बाँड्न चाहँदैनन् । ‘मैले यहाँ पाएको हन्डर भनौंला । तपाईंले पत्रिकामा छापिदिनु पनि होला । पत्रिका हेरेपछि परिवार आत्तिन्छन्,’ उनीहरू भन्छन्, ‘आफूलाई त कसले सम्झाइदिओस्जस्तो भएका बेला उताबाट परिवारले फोन गर्दै रुन थाल्छन् । अर्को तनाव लिन चाहन्नँ ।’ उनीहरूको आग्रह हुन्छ, ‘म काम गर्न चाहन्नँ । कसरी हुन्छ, कसलाई भनेर हुन्छ ? नेपाल पठाइदिन पहल गरिदिनुस् ।’   पीडितहरू यति धेरै आशा गरेर सम्पर्कमा आउँछन् कि त्यो पूरा गर्न सानोतिनो मिहिनेत र ‘लबिइङ’ले पुग्दैन । स्वदेश फिर्न उनीहरूले गरेका कैयौं असफल प्रयास, कम्पनीका व्यवस्थापनले उनीहरूमाथि गरेको ज्यादती देख्दा आफ्नै मन अमिलो हुन्छ । क्याम्पबाट कम्पनीले निकालिदिए फोन गर्दै हामीलाई बस्ने व्यवस्था मिलाइदिन अनुरोध गर्छन् । क्याम्पमा बिजुलीबत्ती, पानी काटिदिए जोड्नका लागि अनुनय गर्छन् । उनीहरूको चाहना हुन्छ, ‘सीधै कम्पनी मालिकलाई भनिदिनुपर्‍यो । प्रहरी लिएर क्याम्प आइदिनुपर्‍यो ।’ जुन सम्भव हुने विषय होइन । तैपनि दूतावासको ध्यानाकर्षण गराउँछौं । र, दूतावासले आवश्यक परे कूटनीतिक कर्मचारी र जनसम्पर्क अधिकृत (पीआरओ) खटाइदिन्छ । यसले धेरथोर उनीहरूको पीडामा मलम लगाउन पुग्छ ।  अझ कहिलेकाहीं खाद्यान्न नै जोहो पनि गरेर पुग्नुपर्छ । क्याम्पमा खान नपाएर छट्पटिरहेका कामदारको रिपोर्टिङ गर्न पुग्दा सूचना मात्रै लिएर फर्किने अवस्था हुन्न । उनीहरू खाद्यान्नको जोहो गरिदिओस् भनेरै सम्पर्कमा आएका हुन्छन्् । त्यतिखेर ‘तपार्इंहरूले खान खाना नपाएको कति दिन भयो’ भनी सोधेर फुत्त हिँड्ने अवस्था हुन्न । यस्ता पात्रहरू हरेक गल्लीगल्लीमा भेटिएका हुन्छन् । सुत्न बेला तिनै पात्र आँखाअगाडि आएर फनफनी घुमिरहन्छन् । बल्लबल्ल निदाउन पुगेको बेला मोबाइलको घन्टी बज्यो भने फेरि निदाइहाल्न कठिन हुन्छ ।   कसैको मृत्यु भएको खबर पाएपछि समाचार लेखूँ कि नलेखूँ भनेर सोच्नुपर्छ । ठूलाठूला घटनाबाहेक मैले कामदारको मृत्युसम्बन्धी समाचार लेखिनँ पनि । उसै त नेपालमा ‘विदेशमा मर्नै जाने हो’ भन्ने किसिमको छाप परेको/पारिएको छ । वैदेशिक रोजगारसम्बन्धी विषय प्रवेश गर्नासाथ थेगै जसरी बोलिन्छ, ‘हरेक दिन एयरपोर्टमा तीनवटा शव आउँछन् ।’ नेता, कर्मचारीदेखि अधिकारवादीसम्मले मृत्युदरलाई निकै प्राथमिकता दिइरहेका छन् । संसद्देखि आमसभासम्म, कार्यशालादेखि गोष्ठीसम्म– बिकाउ विषय बनेको छ यो ।  यस विषयलाई बढी उचाल्दा पीर पर्ने तिनै नेपालीलाई हो जो विदेशबाट पैसा पठाएर आफ्नो र देश दुवै चलाइरहेका छन् । उनीहरू भन्छन्, ‘मरेको मात्रै समाचार आइरहन्छ । कहिलेकाहीं त निद्रै लाग्दैन । अरूजस्तै आफू पनि फ्याटै हुने पो हो कि !’    काठमाडौंबाट दुईथरी फोन/इमेल प्राप्त नभएको कुनै बिहान हुँदैन । मेरा हरेक दिनहरू मृत्युसम्बन्धी सूचना लिने–दिनेबाट सुरु हुन्छ । त्यसरी सूचना लिनेमा माननीय, सरकारी कर्मचारी, मानवअधिकारवादीदेखि पीडित परिवारसम्म हुन्छन् । पीडित परिवारको आग्रह हुन्छ, ‘काम गर्ने क्रममा मृत्यु भयो भनेर फोन आयो । सक्नुहुन्छ भने तपाईं कम्पनीको अफिसमा गएर वास्तविकता बुझिदिनुस् न ।’ उनीहरूले पाएको धेरै सूचना वास्तविक हुँदैनन् । मान्छेको मृत्यु भएको त हुन्छ, तर प्रकृति फरक हुन्छ । कतिले कम्पनीले मारेको ठान्छन्, कतिले उपचार नगरिदिंदा आफ्नो मान्छेको ज्यान गुमाएको विश्वास गर्छन् । अझ कतिले मृतकको अंग नै निकालिदिएको खबर पाएको भन्दै अस्पताल पुगेर शव हेरिदिन भन्छन् ।  धेरै पीडित परिवारलाई लाग्छ, ‘विदेशको ठाउँ । के हुन्छ ? थाहा हुन्न । कम्पनीले छलकपट गरी जथाभावी कागजात बनाइदिने पो हुन् कि ? मृत्यु भएपछि राम्रोसँग छानबिन कसले गरिदिन्छ र ?’ तर, कम्पनीले चाहेअनुसार त्यस्तो छलकपट गर्न मुस्किल छ । हरेक देशका आआफ्नै कानुन हुन्छ । त्यसको परिधिभित्र रहेरै तिनले काम गरिरहेका हुन्छन् । एउटा प्रणाली बनेको हुन्छ । त्यहीअन्तर्गत कम्पनी, प्रहरी, अस्पतालदेखि दूतावाससम्मले काम गरिरहेका हुन्छन् ।   पीडित परिवारले ‘शव छिट्टै पठाइदिओस्’ भनेर चाहना राख्नु स्वाभाविक हो । सकभर कम्पनी पनि छिट्टै शव पठाएर आफ्नो भार कम गराउन खोज्छ । बरु दूतावासले हतारमा फाइल सदर गरिदिंदैन । मृतकका परिवार क्षतिपूर्तिबाट वञ्चित हुनु नपरोस् भनेर उसले फाइल रोकिदिन्छ । शव पठाउनअघि आवश्यक कागजात खोज्ने कारण कारण हो । यही कुरालाई धेरैले दूतावासले शव पठाउन नै ढिलो गरिदियो भनेर बुझ्छन् । यो विषय बुझाउन अलि कठिन छ ।   विदेशको ठाउँमा नेपाली कामदारलाई सकेको सघाउन पाउँदा मलाई कुनै झिँजो लाग्दैन, उल्टो आनन्द मिल्छ । हैरानी त उही माथि भनिएझैं काठमाडौंले बजाउने अनावश्यक ‘अलार्म’ ले हो ।  एकथरी फोन र इमेल यस्ता हुन्छन्, जो सधैं शव खोजिरहन्छन् । उनीहरू आफ्नो रुचि जेमा छ त्यसैअनुसारका शव चाहन्छन् । महिला अधिकारको क्षेत्रमा कार्यरतहरू महिलाकै शव खोज्छन् । त्यसमा पनि घरेलु कामदारको शव । लेबनान, ओमन र कुबेतमा कार्यरत घरेलु कामदारले बढी आत्महत्या गर्ने गरेका छन् । ‘घर मालिकको दुव्र्यवहार सहन नसकेर आत्महत्या गरेकी महिलाको शव चाहिएको थियो,’ एक संस्थाले इमेल पठायो, ‘सबै आत्महत्या भने पनि कतिपय मालिकको कुटाइले मर्ने गरेको सूचना हामीलाई आउँछ । त्यस्ता शवलाई नेपालमा पुन: पोस्टमार्टम गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं । त्यस्तो घटनालाई केस बनाएर गहिरो रूपमा बुझ्न चाहन्छौं । तपाईंले त्यो शव आउने समय बताइदिनुपर्‍यो ।’ अर्कोथरी विदेशी संस्थाहरूका लागि काम गर्नेहरू छन् । उनीहरू देशै तोकेर शव विवरण माग्छन् । उल्लेखनीय के भने उनीहरूका लागि साउदी, युएई र कुबेत, ओमन, बहराइन, इराकमा मृत्यु भएका नेपालीको शव प्राथमिकतामै पर्दैन । कतारमै मृत्यु भएका शव चाहिन्छ उनीहरूलाई । ‘कतारमा मृत्यु भएको कुनै नेपालीको शव कहिले आउँछ होला ?’ बिहान ४ बजे नै फोन गर्दै एकजनाले सोधे, ‘कतारमा मृत्यु हुने नेपालीको विषयमा अन्तर्राष्ट्रिय चासो छ ।’  ‘यति बिहानै फोन गरेर शवको सोधखोज गर्न तपाईंलाई अप्ठ्यारो लाग्दैन ?’ म रिसाइदिए पनि ।  ‘त्यहाँ कति बज्यो र ?’  ‘बिहानको चार बज्दै छ ।’  ‘थाहा नै भएन,’ उसले माफी माग्दै भन्यो, ‘हामी कतारमा मर्ने नेपालीको विषयमा एउटा प्रोजेक्टमा काम गर्दै छौं । तपाईंको सहयोगको अपेक्षा राखेको छु ।’ मैले जवाफ दिएँ, ‘वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा पीडित परिवारले शव झिकाइदिन आवेदन दिन आउँछन् । त्यहीं गएर पीडितलाई भेट्नुुस् । उनीहरूलाई थाहा हुन्छ ।’ काठमाडौंमा शव पुगेपछि त्यसकै पछिपछि लाग्दै कति पीडितको घरसम्म पुग्दा रहेछन् । त्यही भएर उनीहरू मसँग विमानस्थलमा शव आइपुग्ने यकिन समय मागिरहेका हुन्छन् ।  कति त शव खोज्दै कतारसम्मै आइपुग्छन् । ‘कतारमा मृत्यु भएका नेपाली कुन अस्पतालमा राखेको छ ?’ दोहामा एकजना विदेशीसहितको टोली आइपुग्यो । उनीहरू कतारबाटै शवसँगै नेपाल जाने तयारीमा आइपुगेका थिए । ‘हमाद अस्पतालमा राखिएको हुन्छ । त्यहाँ आफन्त र दूतावासलाई मात्रै पहँुच हुन्छ । भिडियोग्राफी त झन् गर्नै मुस्किल पर्छ । अनुमतिबिना जाँदा त समातिएला नि,’ मैले  सजग गराएँ ।  ‘कुन प्लेनमा कति बजे जान्छ ?’ ‘कतारमा मर्नेको शव खासगरी कतार एयरवेजमै जाने गर्छ । कतारबाट दैनिक ३ वटा उडान छ । अब कुन शव कुन समयमा जान्छ भन्ने पत्ता लगाउन कम्पनीलाई मात्रै थाहा हुन्छ,’ मैले जवाफ दिएँ, ‘कम्पनी पत्ता लगाएर सोध्नुहोला ।’  उनीहरूबाट म जसोतसो उम्किएँ तर लामो समयसम्म ‘फलो’ गर्न छोडेनन् । निर्माण क्षेत्रमा काम गर्ने बेला मृत्यु भएका कामदार खोजिरहेका थिए उनीहरू । ‘सुतेको सुत्यै’ भएर मरेका वा सडक दुर्घटनामा परेर ज्यान गुमाएका नेपाली उनीहरूको प्राथमिकतामा थिएनन् । यसरी कतारमै त्यसमा पनि काम गर्दागर्दै मृत्यु भएकाको शव मात्रै किन खोजिन्छ ? कारण प्रस्ट छ— कतारमा कामदारहरूलाई सुरक्षित मापदण्डअन्तर्गत काम गराइन्न भन्ने प्रमाणित गर्ने ध्येय हुन्छ उनीहरूको ।  पछिल्लो समय सन् २०१४ अक्टोबर देखि २०१५ जुलाईसम्म त यतिसम्म हैरानी पाइयो कि, नयाँ नम्बरबाट आएका जुनसुकै फोनमा शवकै लागि सोधिएको हुन्थ्यो । ‘मान्छेहरू शवका लागि किन यति धेरै फोन गरिराख्छन् ?’ एक दिउँसो नेपाली चिकित्सक नरेन्द्र शाक्यले मलाई प्रश्न र  अनुरोध एकसाथ गरे, ‘नेपालमा सही सूचना गइरहेको छैन कि ? तपाईंले विदेशमा मान्छे के कति मर्छन् भन्नेबारे अध्ययन गरी सूचना दिनुपर्‍यो ।’ डाक्टर शाक्यले भनेअनुसार मैले कतारमा मृत्यु भएका नेपालीको चार वर्षको रेकर्ड (२०११ देखि २०१४ सम्म) संकलन गरें । यस अवधिमा ७ सय ५ जना नेपाली कामदारको ज्यान गएको थियो । तथ्यांक विश्लेषण गर्न कतार विश्वविद्यालयका एक विदेशी प्रोफेसरले सहयोग गरे । सबैभन्दा बढी अर्थात् ४९. १ प्रतिशतको ‘सडेन कार्डियक एरेस्ट’ भएर ज्यान गएको थियो । जसलाई चलनचल्तीका भाषामा ‘सुतेको सुत्यै’ भन्ने गरिन्छ । चिकित्सकहरूका अनुसार पहिलेदेखिकै रोगी, प्रेसर, मुटुको बिमार भएकाहरू यसको सिकार हुने गरेका छन् । दोस्रोमा सडक दुर्घटनामा परी १६.९ प्रतिशत, त्यसपछि मानसिक तनाव भएर आत्महत्या गर्ने ८.५ कार्यस्थलमा खसेर ६.५, प्राकृतिक कारण ३.८, विद्युतीय झड्काबाट २.४, डुबेर १.५ प्रतिशत र बाँकी श्वासप्रश्वास, विस्फोट, निमोनिया, हत्या र मादकपदार्थ सेवनबाट मृत्यु भएको देखिएको छ । गर्मी महिनामा मृत्यु हुने दर बढी छ । गर्मी हुने अप्रिलदेखि सप्टेम्बर (५ महिना) मा ५७.५ प्रतिशत, जनवारीदेखि मार्च (३ महिना) मा २२.८ प्रतिशत र अक्टोबरदेखि डिसेम्बर (३ महिना) मा १९.७ प्रतिशत नेपालीको मृत्यु भएको देखियो ।   अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले २०१३ को जुलाई (३२ नेपालीको ज्यान गएको महिना) को तथ्यांकलाई आधार मानेर एउटा सनसनीपूर्ण विज्ञप्ति निकाल्यो, ‘कतारमा विश्वकप खेल्नुअघि ४ हजार कामदारको ज्यान जानेछ ।’ त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा कतार कामदार मर्ने देशको रूपमा कतार दर्ज भयो । विश्वकप प्रोजेक्ट सुरु नै भएको छैन, काठमाडौंबाट सोधिन्थ्यो, ‘रंगशालामा मर्ने नेपाली कतिजना पुगे ।’ ‘कतारमा रंगशाला प्रोजेक्टकै लागि भनेर नेपाली आएकै छैन त मर्नेको सूचना मैले कसरी दिनु’ भन्दै फोन राखिदिन्थें । काठमाडौंका केही सञ्चार माध्यममा पनि रंगशालामा यति नेपालीको मृत्यु  भन्ने समाचारहरू आउन थाले । यसको पुष्टि कतै गर्नु परेन !  केही महिनाअगाडि मात्रै रंगशालासम्बन्धी दुइटा प्रोजेक्टलाई अवार्ड गरिएको थियो । यसमा कामदार झिकाई सकिएकै थिएन । फेरि पहिलेकै झैं शव खोज्नेहरू बढेर गए । दिनमै ७/८ वटासम्म इमेल आए । ‘विश्वकपको रंगशाला बनाउने क्रममा मृत्यु भएका नेपालीको विषयमा काम गरिरहेका छौं । त्यहाँ मृत्यु भएका कामदारको विवरण र नेपालमा परिवारको सम्पर्क दिन सक्नुहुन्छ ?’ उनीहरूको जिज्ञासा हुन्थ्यो, ‘शव आउने फ्लाइट डिटेल पनि पठाइदिनुस् न ।’  रंगशालामा काम गर्दागर्दै अहिलेसम्म एकजना नेपालीको पनि ज्यान गएको छैन भनेर सूचना दिन्थें । ‘आधिकारिक रूपमा एकजना भारतीय कामदारको ज्यान गएको छ, त्यो हृदयाघातबाट भएको उल्लेख छ,’ सम्पर्कमा आउनेलाई म यही सूचना दिन्थें । कतिले विश्वास गर्दै भन्थे, ‘त्यस्तो जानकारी आएमा भन्नुस् है ।’ कतिले विश्वास नै गर्दैनथे, चिनजानका अरू साथीभाइका नाम लिंदै सहयोग गर्न अनुरोध गर्थे । यस्तालाई सम्झाउनै गार्‍हो !  यसरी बिहानै शव, दिउँसो शव, बेलुकै शव खोज्दै फोन आइराख्दा मलाई घरी घरी लागिरहन्छ, ‘काठमाडौं किन शव मात्रै चाहिरहेको छ ?’  

Post a Comment

 
Top