त्यसको करिब १ वर्षपछि २०५१ सालमा बझाङ भ्रमणमा आएका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि आफ्नो सरकारले यो नाका खोल्न ठोस पहल गर्ने आश्वासन दिए । उनी बझाङ लगायत सुदूर पश्चिम र पश्मिाञ्चलका केही जिल्ला भ्रमण गरेर काठमाडौं पुग्दा—नपुग्दै उनको सरकार ढल्ने अवस्थामा पुगिसकेको थियो । केही दिनभित्र उनको सरकार अल्पमतमा पर्यो । उनले दिएको आश्वासन पनि केही दिनका लागिमात्र भयो ।
त्यसयता बझाङ आउने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराईदेखि माधव नेपालसम्म र साना—ठूला दलका नेताहरू जोकोही आए पनि उनीहरूको भाषणको पहिलो एजेन्डा चैनपुर–ताक्लाकोट सडक नै हुने गरेको छ । यो नाकालाई औपचारिक रूपमा खोल्ने, उच्च गुणस्तरको सुरुङ मार्गसहितको सडक निर्माण गर्ने, कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको मार्ग बनाउने, तीन देश बीचको प्रमुख व्यापारिक मार्ग बनाउने जस्ता मिठा भाषण बझाङीहरूले सुन्न थालेको झन्डै २४ वर्षपछि केपी ओली नेतृत्वको सरकारले चैनपुर ताक्लाकोट सडकको नाममा ४० करोड विनियोजन गर्यो । यो सडकको नाममा आएको यो नै पहिलो बजेट हो ।
सरकारले यस नाकालाई महत्त्वमा नराखे पनि प्रदेश नं ७ का बासिन्दाहरूबीच भने यो नाका खोल्नुपर्ने विषयलाई लिएर ठूलै बहसको सिर्जना भैसकेको छ । प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रिय नाका हुनुपर्ने विषयसँगै यस नाकाबाट सुदूरको समृद्धि हुन्छ भन्नेमा अहिले सिंगो सुदूर पश्चिम एकमत भइसकेको छ भन्छन्, सुदूर पश्चिम पर्यटन विकासका सूत्रधार एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोपाल हमाल । उनी भन्छन्, ‘यो नाका खोल्दा चीनसँग हाम्रो सम्बन्ध जोडिने मात्र हो । फाइदा लिने भारतबाट हो ।’ यो नाका खुलेपछि यो बाटो भएर कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि सहज हुने र यसको फाइदा नेपाललाई हुने उनको बुझाइ छ । नाका खोल्नका लागि सरकारलाई दबाब दिन सबैभन्दा बढी भूमिका बझाङकै हुने र यसमा प्रदेश नं ७ का निजी क्षेत्र र नागरिक समाजले पनि साथ दिनुपर्ने उनको तर्क छ ।
हमालको यस तर्कमा सहमति जनाउँदै कैलालीका अग्रणी पर्यटन व्यवसायी कृष्ण महरा भन्छन्, ‘यस नाकाको सञ्चालनपछि भारत, चीन र नेपाल बीचको व्यापारिक सम्बन्ध त बलियो हुन्छ नै । सुदूर पश्चिमले धान्न नसक्नेगरी भारतीय पर्यटकहरू यो बाटो भएर यात्रा गर्ने सम्भावना छ । अहिले हामी पर्यटन व्यवसायीहरू यो कुरालाई ध्यान राखेर पर्यटन पूर्वाधार विकास गर्नुपर्छ भन्ने बहसमा जुटेका छौं ।’ भारतका कर्नाटक, केरला, तामिलनाडु, उत्तरप्रदेश लगायत विभिन्न राज्यहरूले कैलाश मानसरोवर जाने भारतीयहरूलाई सरकारी अनुदानको समेत व्यवस्था गरेको बताउँदै उनले भने, ‘यो नाका नै सबैभन्दा छोटो र सस्तो भएकाले भारतीय पर्यटकको प्रमुख आकर्षणमा पर्ने निश्चित छ ।’ भारतको राजधानी दिल्लीबाट कञ्चनपुरको महेन्द्रनगरसम्मको दूरी ३ सय ५० किलोमिटर छ । यहाँबाट बझाङ सदरमुकाम चैनपुरसम्मको दूरी ३ सय ३५ किलोमिटर छ ।
सेती लोकमार्गको निर्माणपछि यो बाटोको लम्बाइ झन्डै ८६ किलोमिटर कम हुनेछ । चैनपुरदेखि चीनको सिमाना उरै भञ्ज्याङसम्म ८० किलोमिटर लम्बाइ अनुमान गरिएको छ । केही ठाउँमा सुरुङ निर्माण गर्ने हो भने यो दूरी आधाले घट्न सक्छ । त्यहाँबाट ताक्लाकोटसम्म १६ किलोमिटर सडकको लागि प्राविधिक सर्वेक्षण भई चीन सरकारले निर्माणको काम सुरु गरिसकेको छ । यसरी दिल्लीबाट झन्डै ७ सय किलोमिटरभन्दा कमको सडक दूरीमा चीन जोड्न सकिने यो नै नेपालको सबैभन्दा छोटो त्रिदेशीय नाका भएको र यो नाका खोल्नसके प्रदेश नं ७ को समृद्धिमा वरदान सावित हुने सुदूर पश्चिमाञ्चल पर्यटन तथा सांस्कृतिक विकास मञ्चका अध्यक्षसमेत रहेका इन्जिनियर रमणचन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘भारतका ठूलठूला सहरहरू दिल्ली, गुजरात, हरियाणा लगायतको नेपालको पश्चिमतर्फ नै पर्छन् । पश्चिमी क्षेत्रमा झन्डै १० करोड भारतीय बसोबास गर्छन् । यस अघि झन्डै ३३ सय किलोमिटरको यात्रा गरी तातोपानी नाकाबाट भारतीय तीर्थयात्रीहरू कैलाश पुग्ने गरेको र सस्तो खर्चमा लिपुलेकको बाटो भएर हिँडेर जान खोज्ने कैयौं भारतीय तीर्थयात्रीले वर्षेनि ज्यान गुमाइरहेको सन्दर्भमा यो नाका खुलेमा उनीहरू यतैतिर ओइरिने श्रेष्ठको तर्क छ ।
यो नाकाबाट सडक खुलेमा भारतीय पर्यटकमात्र हैन, सुदूर पश्चिमका साना हिमाल आरोहण गर्न चाहने र जडिबुटीको विषयमा अध्ययन—अनुसन्धान गर्न चाहनेका लागि पनि बझाङ आकर्षणको थलो हुने नेपाल पर्वतारोहण संघ साइपाल हिमाल शाखाका सचिव किशोर खड्का बताउँछन् । उनी भन्छन्, ‘साइपाल, राक्सियो, इङल्दार, निलकट्टी लगायतका साना हिमाल यही बाटोमा पर्छन् । सहज आवागमन हुनसकेमा पर्यटकहरू यतातिर उल्लेख्य मात्रामा आउने सम्भावना रहन्छ ।’ यार्सागुम्बा लगायत बहुमूल्य जडिबुटी र हिमाली जैविक विविधताको अध्ययन—अनुसन्धानको लागि पनि उपयुक्त भएकाले यसमा रुचि राख्नेहरूको लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको उनको भनाइ छ ।
त्रिदेशीय व्यापारको सम्भावना
तातोपानी नाका सञ्चालनमा रहेको बेला पनि भारतीय व्यापारीहरूले नेपाली व्यापारीमार्फत खासाको सामान कैलालीको गौरीफन्टा र कञ्चनपुरको वनवासा हुँदै दिल्लीसम्म पुर्याउने गरेका थिए । तातोपानी नाका बन्द भएपछि पनि अहिले पूर्वका अन्य चिनियाँ नाकाबाट आएको सामान यिनै नाका भएर पश्चिम भारतको विभिन्न सहरहरूमा पुग्ने गरेको व्यापारीहरू बताउँछन् । लामो दूरीको कारण ढुवानी भाडा बढी हुने भएकोले सामान महँंगो पर्ने र गौरीफन्टा वा वनवासा नाकालाई चीनसँग जोड्नेगरी सडक बनेमा यो नाकाबाट व्यापार गर्न सजिलो हुने उनीहरूको भनाइ छ ।
यस्तै भारतीय सामानप्रति चिनियाँहरूको पनि उत्तिकै आकर्षण छ । चीनको ताक्लाकोटमा भारतीय सामानहरूको व्यापार गरिरहेका दार्चुलाका सोमपाल व्यासी भन्छन्, ‘मान्छे खच्चरमार्फत ढुवानी गरेर ल्याएको सामानको मूल्य यहाँ ल्याइपुर्याउँदा दोब्बर पर्न जान्छ । त्यसको दोब्बर नै फाइदा लिएर हामी चिनियाँहरूलाई सामान बेचिरहेका छौं’ सडकमार्ग खुलेमा सामानको मूल्य सस्तो हुने र बिक्री बढी हुने उनको बुझाइ छ । भारतमा बनेका भाँडाकुँडा, शृङ्गारका सामान क्युरियोका सामानहरूमा चिनियाँहरूको विशेष रुचि रहेको उनले बताए ।
यो नाका खुलेमा व्यापारिक हिसाबले सबैभन्दा बढी फाइदा निर्यातमा रहेको ताक्लाकोटका एक व्यापारी तथा नेपाल—चीन उद्योग व्यापार संघ अन्तर्गतको कैलाश व्यापार संघका सचिव जगत तामाङ बताउँछन् । नेपाल सरकारले चीन सरकारसंँग समन्वय गरेर निर्यात सहज बनाउनसके कृषि, पशु र काठजन्य उत्पादनको राम्रो बजार ताक्लाकोट रहेको उनको भनाइ छ । यस्तै बाँस, निगालो र काठबाट बनेका हस्तकलाका सामग्रीहरू र जडिबुटीको निर्यातबाट पनि नेपालले ठूलो फाइदा लिनसक्ने सम्भावना रहेको उनले बताए । उनले भने, ‘यी सामानहरूको मूल्य नेपालको भन्दा यहाँ दसौं गुणा बढी पर्छ । ताक्लाकोटमा मात्र नभएर तिब्बतभरि र पूर्वी चीनमा नेपाली उत्पादनको माग उच्च छ ।’ अहिले प्राय: सबै सामानहरू अवैध तरिकाले निकासी भइरहेको बताउँदै उनले भने, ‘सडक खोल्ने र वैधानिक निकासी प्रक्रियाको तारतम्य मिलाउने हो भने ढुवानी लागत कम भएर उत्पादक तथा व्यापारीलाई पनि फाइदा हुन्छ । सरकारले पनि अर्बौं राजस्व प्राप्त गर्न सक्छ ।’
‘स्टोरी टेलिङ रुट’ को सम्भावना
सन् १९५५ को अक्टोबर महिनातिर हिमाल आरोहणका लागि बझाङको उरै भञ्ज्याङसम्म पुगेका बेलायती नागरिक सिड्नी बिग्नेलले आफ्नो यात्रा संस्मरण ‘स्पे अन द रुफ अफ द वर्ल्ड’मा चैनपुरदेखि उरैसम्मको यात्राको रोचक विवरण प्रस्तुत गरेका छन् । पुस्तकमा उरै भञ्ज्याङबाट फर्किने क्रममा आफू एक्कासी सेतीको खोँचमा खसेको र आफूलाई अदृश्य शक्तिले बचाएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘त्यसपछि मैले बाटोमा पर्ने एक मन्दिर (टाँड भन्ने ठाउँमा रहेको लाँगा देवताको मुख्य मन्दिर) मा आफूसँग भएको केही सिक्का र कागजी नोट चढाएँ र बाँकी बाटोको यात्रा सुरक्षित होस् भन्ने कामना गर्दै त्यो मन्दिरबाट पित्तलको घण्टी र चारवटा चाँदीका सिक्का बोकेर लिएँ’, यो बाटोको बारेमा वर्णन गर्ने क्रममा उनले साँच्चिकै मनमोहक र अद्भुत भएको कुरा पुस्तकमा लेखेका छन् । बिग्नेलले भनेजस्तै बझाङ्गीहरूको तिब्बत (भोट) जाने यो बाटोको बारेमा अनौठो विश्वास यहाँका बासिन्दाहरूमा पनि परापूर्व कालदेखि विद्यमान छ ।
प्रचलित किंवदन्ती अनुसार यो बाटो भएर पहिलोपटक लाँगा देवता अन्य केही देवताहरूलाई साथ लिएर मानसरोवर कैलाश हिँडेका थिए । यस क्रममा बाटोमा विभिन्न दानवीय शक्तिहरूलाई परास्त गर्दै लाँगा देवता मानसरोवर पुगेको र मानसरोवर जाने बाटो उनैले निर्माण गरेको भन्ने विश्वास अहिलेसम्म पनि कायम रहेको छ । हुन पनि लाँगा देवतासँग सम्बन्धित कथा (स्थानीय भाषामा फाग) मा उल्लेख भएका घटनाहरूलाई पुष्टि गर्ने खालका विभिन्न प्रमाणहरू यस बाटोको यात्राका क्रममा भेटिन्छन् । कथाका अनुसार लाँगासँग महाबलि बाठपाला र अन्य देवताहरूसंँग गएका थिए । एक बिहान लाँगाले आफूसँगै लगेर गएका धलपुरा देवता हराएको थाहा पाएपछि ध्यानदृष्टिले हेर्दा उनलाई राक्षसहरूले नियन्त्रणमा लिई काटकुट गरी भाग लगाउन थालेको देखे । उनलाई बचाउन बाठपालालाई आदेश दिँदा नित्य स्नानपछि बाठपालाले वेद पाठ गरिरहेको र उनको आग्रह नसुनेकाले आत्तिएर उनले पढिरहेको पुस्तकलाई नै ढुङ्गोमा परिणत गरिदिएका थिए । त्यसपछि बाठपालाले धलपुराको अवस्था जानकारी पाई सेती नदी किनारको ठूलो ढुङ्गोले राक्षसलाई प्रहार गरी मारेको र पछि लाँगाले धलपुरालाई पुनर्जीवित गरेका थिए । लांँगाले ढुङ्गो बनाएको भनिने वेदको पुस्तक अहिले पनि यस यात्राका क्रममा इङगल्दारभन्दा केही माथि बाटोमा रहेको छ । यस्तै बाठपालाले राक्षसलाई प्रहार गरिएको भनेको ठूलो ढुङ्गा सोही बाटोमा पर्ने लांँगा देवताको मुख्य मन्दिर नजिकै रहेको छ । झट्ट हेर्दा पुस्तकजस्तै लाग्ने यो ढुङ्गालाई पुस्तक ढुङ्गा भनिन्छ भने बाठपालाले प्रहार गरिएको भनिएको विशाल ढुङ्गामा मान्छेले समाउँदा परेको जस्तो हातको छाप दुरुस्त देखिन्छ ।
लांँगाको कथाले भनेका कुरा प्रमाणको रूपमा भेटिने यो बाटोलाई कथा सुनाएर पर्यटक घुमाउने पदमार्गको रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । लाँगाको कथा (फाग) समेटिएका विभिन्न पुस्तकहरू प्रकाशनमा छन् । त्यो मध्ये मष्टो संस्कृति र परम्परा पुस्तकका लेखक श्यामबहादुर खड्का यो खालको पदमार्ग विकासले पर्यटन व्यवसायमा नै नयाँ आयाम थप्ने बताउँछन् । उनी भन्छन्, ‘१० औं शताब्दीअघि भएका घटनाहरूका जीवन्त प्रमाण अहिलेसम्म पनि भेटिने यो मार्ग, धार्मिक तथा ऐतिहासिक अध्ययनमा रुचि राख्नेहरूका लागिमात्र नभएर पदयात्रा गर्नेहरूलाई पनि अनौठो अनुभूति गराउन सक्ने भएकोले यसलाई स्टोरी टेलिङ रुटको रूपमा विकास गर्न आवश्यक छ ।’
‘ताक्लाकोट सडकको निर्माण धिमा गतिमा छ’
रमेश लेखक, यातायात मन्त्री
सुदूर पश्चिमलाई चीनसँग जोड्ने उत्तरी नाका खोल्ने विषयमा सरकारले कस्तो पहल गरिरहेको छ ?
हाम्रो उत्तर र दक्षिणतिर विश्वकै दुइटा ठूला अर्थतन्त्र भएका मुलुकहरू छन् । यी दुवै मुलुकलाई छोटो दूरीमा जोड्न सक्ने नाका चैनपुर ताक्लाकोट नाका हामीसँंग भएकोले भोलिका दिनमा यसले प्रदेश नं ७ को मात्र नभएर समग्र देशको आर्थिक समृद्धिमा समेत ठूलो योगदान पुर्याउने निश्चित छ । त्यसैले ताक्लाकोट लगायत महेन्द्र राजमार्गबाट उत्तर पर्ने ७ नं. प्रदेशका सबै नाकाहरूमा सडक सञ्जाल पुर्याउनुपर्छ र दक्षिण भारतलाई जोड्ने नाकाहरू पनि अहिले आवत—जावतका लागिमात्र प्रयोगमा आएको हुनाले यिनलाई पनि व्यापारिक नाकाको रूपमा विकास गर्नसकेमा ठूलो आर्थिक विकासको सम्भावना रहन्छ ।
यस्तो सम्भावना हुँदा पनि यी नाका खोल्ने विषयमा सरकारले किन तत्परता देखाउन नसकेको ?
कैलालीको टिकापुर बौनिया हुँदै बझाङको चैनपुरबाट ताक्लाकोटसम्म जोड्नका लागि सेती राजमार्गको निर्माण कार्य सुरु भैसकेको छ । तर यसको काम धिमा गतिमा छ । यसलाई तीव्र रूपमा अगाडि बढाउनका लागि प्रयास गरिरहेको छु । यस्तै खुटिया दिपायल दु्रतमार्ग पनि सरकारले विशेष रूपमा हेरेर बेग्लै आयोजना कार्यालय स्थापना गरेर काम थालनी हुनुपर्छ र छिट्टै सम्पन्न गर्नुपर्छ भनेर लागिरहेका छौं ।
छिटो काम गर्नका लागि के समस्या रहेछन् त ?
सबैभन्दा ठूलो समस्या भनेको वातावरणीय अध्ययन हो । विभिन्न ठाउँमा जंगल काट्नु पर्नेछ । कैलालीसँग जोडिएको चुरे क्षेत्र संवेदनशील भएकोले वातावरणीय अध्ययनमा समय लागिराखेको छ । अर्को समस्या भनेको भौगोलिक जटिलता पनि हो । समग्रमा भन्दा अहिले जे—जे समस्या देखिएका छन्, ती समस्यालाई सम्बोधन गरेर चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्नुपर्छ भन्नेतिर हामी लागेका छौं ।
अघिल्लो सरकारले चैनपुर ताक्लाकोट सडककै लागि भनेर पहिलोपटक केही बजेट पनि छुट्याएको छ । यसमा तपाईको कुनै योजना छ कि ?
बजेट त छुट्याएको छ, तर छुटाएजति बजेट छ कि छैन, त्यो पनि हेर्नुपर्ने हुन्छ । यदि छैन भने पनि बजेटको कमी हुन नदिने गरेर काम गर्नुपर्छ भनेर म लागिराखेको छु । अर्को कुरा बजेटमात्र छुट्याएर पनि भएन, कार्यान्वयनको पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले यसको कार्यान्वयनमा मैले जोड दिइरहेको छु । अर्को अहिले पूर्वाधार निर्माणमा गुणस्तरको कुरो पनि ठूलो चुनौतीको रूपमा देखिएको छ । मैले गुणस्तर र समयमा कार्यान्वयन नहुने दुवै समस्यालाई सुधार गर्नुपर्छ भन्ने कुरा मूल मुद्दाकै रूपमा उठाइरहेको छु ।
Source: http://kantipur.ekantipur.com
Post a Comment