0
अपरिचितसँग हाँसेर बोल्ने, छोटा कपडा लगाउने, पार्टी वा रक कन्सर्टमा मस्ती गर्ने अनि रक्सी पिउने युवती दक्षिण एसियामा मात्र होइन, पश्चिमा समाजमा पनि ‘ चिप’मा दरिन्छन् । जब कि, यस्तै काम केटाले गर्दा उसको मर्दपन र गौरवसँग जोडिन्छ । एक्काइसौँ शताब्दीको दोस्रो दशकमा पनि महिलाप्रतिको दृष्टिकोण बदलिएको छैन ।

अमिताभ बच्चन स्टारर पिंकले यही पुरुषप्रधान सोचमाथि प्रहार गरेको छ, बडो तार्किक र कलात्मक शैलीमा । विषयवस्तु र प्रस्तुतिमा यो वर्ष प्रदर्शित अन्य फिल्मलाई पिंकले पछाडि छोडेको भन्न अनकनाउनु पर्दैन । यो सफलताका हकदार हुन्, अमिताभ र निर्देशक अनिरुद्ध रोय चौधरी । पुरुषको बदनियत र महिलाको स्वतन्त्रताबीचको द्वन्द्वलाई भावनात्मक शैलीले पटकथा बुनिएको छ ।

फरासिलो स्वभावकी मिनल (तपसी पन्नु) आफ्ना दुई साथीसँग दिल्लीमा बस्छिन् । एक कन्सर्टमा उनीहरूको भेट सम्पन्न र पहुँचवाला परिवारको सदस्य राजवीर (अंगल वेदी)सँग हुन्छ । राजवीरका अरू दुई साथीसँगै उनीहरू डिनर गर्छन्, त्यसपछि ड्रिंक । त्यही क्रममा असमझदारी उत्पन्न हुन्छ र मिनलले बोतलले हानेर राजवीरको टाउको फुटाइदिन्छिन् । बदलामा राजवीरले चरम ‘टर्चर’ दिन्छ । पुलिसले मिनललाई समात्छ र मुद्दा अदालतसम्म पुग्छ । मिनलमाथिको अत्याचारलाई नियालिरहेका रिटायर्ड वकिल दीपक (अमिताभ) उनको पक्षमा मुद्दा लड्छन् । त्यसपछि खुल्दै जान्छ, असझदारी के थियो र दोष कसको थियो ?

निम्न वर्गका अशिक्षित मात्र होइन, शिक्षित र मध्यम वर्गका युवती पनि मानसिक र शारीरिक दुव्र्यहारको सिकार भइरहेका हुन्छन् । तर, थोरैले मात्र प्रतिकार गर्छन्, धेरै सहन्छन् चुपचाप । आफूमाथिको त्यही अन्यायको प्रतिवाद गर्दा युवतीले भोग्नुपर्ने थप मानसिक पीडाको फेहरिस्त हो पिंक । मिनलचाहिँ प्रतिनिधि पात्र हुन् । समाजको यो तीतो–यथार्थ यति गहन र संवेदनशील ढंगमा यसअघि पर्दामा नअटाएकाले पनि पिंक हेर्दा आँत भरिन्छ । तर, यो पुरुषविरोधी फिल्म भने होइन । यसले सिर्फ महिलाको समानताको पक्षमा वकालत गरेको छ ।

मध्यान्तरपछि अदालतको बन्द कोठाभन्दा बाहिरका दृश्य करिब देख्न पाइन्न । तैपनि, बुलन्द संवाद र कथ्यशैलीले कहीँकतै झिँजो लाग्दैन । सुरुआतको १५ मिनेट कथाको भेउ पाउन मुस्किल पर्न सक्छ । निर्देशक अनिरुद्धले ‘फ्ल्यासब्याक’ बडो चलाख र रसिलोमा खोल्दै गएका छन् । यसो हुँदा अन्त्यसम्मै दर्शक ‘ इन्गेज’ भइरहन्छन् ।

वयोवृद्ध वकिलको भूमिकामा अमिताभ फिट छन्, उनको लुक्स, बोल्ने शैली, भावभंगिमा र तर्कले चरित्रलाई जीवन्त बनाएको छ । मुख्य कुरा स्टारडमको ह्यांगबाट मुक्त छन् उनी । तपसीको भूमिका मायालाग्दो त छँदै छ, अभिनयमा उत्तिकै मनोवैज्ञानिक अन्तद्र्वन्द्व झल्कन्छ । उस्तै पीडाका सिकार भएका कीर्ति कुल्हरी र आन्द्रिय तरिङले पनि तारिफयोग्य काम गरेका छन् । अंगदका वकिल पियुष मिश्रा अर्का प्रभावशाली अभिनेता हुन् । अभिनयसँगै नक्कलझक्कलबिनाको सिनेमाटोग्राफी र लोकेसनले फिल्मलाई एक तह माथि राखेको छ ।

चाहे श्रीमती वा प्रेमिका र वेश्या नै किन नहोऊन् ? स्वीकृतिबिनाको यौन सम्बन्ध बलात्कार हो । अर्थात्, आफ्नो यौनिकताको हकदार युवती आफैँ हुन् र हुनुपर्छ भन्ने पिंकको मूल मर्म हो । विषय, शैली, अभिनय र प्राविधिक हरेक कोणबाट हेर्नैपर्ने फिल्म हो यो । किनभने, हलबाट निस्केपछि पनि दिमागमा सवालहरू सलबलाइरहने यस्ता सिनेमाहरू विरलै बन्छन् ।
Source: http://nepal.ekantipur.com

Post a Comment

 
Top