आश्विन ४, २०७३- दु:ख हतपत्ति देखाउने मेरो
बानी छैन । जे जस्तो परिस्थितिमा पनि मनोबल उच्च बनाइरहने स्वभाव छ । सायद,
खेलाडी भएर हुनसक्छ । एउटा खेलाडीमा आत्मविश्वास र मनोबल दुबै हुनुपर्छ
भनिन्छ । जित्ने प्रयत्न सधैं रहन्छ । तर, हार वा जित, परिणाम जे आए पनि
स्वभाविक लिनुपर्छ । किनभने, हरेक हारले जितका लागि प्रेरित गर्छ । त्यसैले
क्यान्सर देखिँदैमा जीवनबाट हार खाइहाल्नु हुन्न भन्ने मनोबल मसँग थियो ।
म खेल नै जीवन हो भनेर लागेको मान्छे ।
स्वस्थ शरीरका लागि मात्र हैन, जिल्ला, क्षेत्र र देश चिनाउनका लागि खेलियो
। यस्तो लाग्थ्यो, मेरो रगतमै खेल मिसिएको छ, नसा–नसामा छ । जिन्दगीमा
थुप्रै भार उठाइयो । किनभने, भार उठाउन सके मात्र जित हुन्थ्यो । तर, अहिले
छुट्टै भार उठाउनुपर्ने भयो, क्यान्सरको ।
घर पुग्दा अनिता भान्सामा
थिइन् । बैठक कोठा छिर्न नपाउँदै रिपोर्टबारे सोध्न आइपुगिन् । म अस्पताल
गएदेखि पर्खेर बसेकी रहिछन् । मभन्दा उनी चिन्तित थिइन् । रिपोर्टतिर
हेर्दै सोधीखोजी गरिन् । उनको आँखामा चिन्ता र चासो छरपष्ट थियो । अब
ढाँट्नु कसरी ? सबै भनाँै पिर मान्लिन् । म दोधारमा परेँ ।
‘क्यान्सरले हल्का छोएको रहेछ’ मैले कुरा मिलाउन खोज्दै भनेँ,– निको हुन्छ रे, तर डाक्टरले उपचारमा ढिलाई गर्नुहुन्न भनेका छन् ।’
क्यान्सर
सुन्नेबित्तिकै अनिता नि:शब्द भइन् । अँध्यारो अनुहार लगाएर मेरो छेउमा
आएर बसिन् । क्यान्सर लागेको भन्दा उनको अनुहारमा देखिएको निराशाले मलाई
पनि दु:खी बनायो । मेरो हात समाएर सान्त्वना दिन खोजिन् । अवाक् त म पनि
भएको थिएँ । तर, मनमा जे पीडा भए पनि मैले लुकाएँ । अनिता खाना पकाउन
बिर्सेर त्यहीँ बसिन् । गह्रौ भएको मन हल्का बनाउन मैले काठमाडौंमा रहेका
दाई बृजेन्द्र, दिदी र आफन्तलाई फोन लगाएँ । रिपोर्टको कुरा भनेँ । सबैले
काठमाडौं आइहाल्न भने । म पनि चाहन्थेँ, उपचार स्वदेशमै गरूँ ।
भोलिपल्टै
काठमाडौं जाने निधो भयो । अनि मात्र खाना खाइयो । त्यस दिनको खानाको स्वाद
थाहै पाइएन । दिन त्यत्तिकै लामो र पट्यारलाग्दो । एक दुई जोर कपडा
ब्यागमा राखेर मात्र सुत्न गयौँ ।
राती अबेरसम्म निद्रा लागेन ।
अनिता पनि उस्तै छटपट्–छटपट् गरिरहिन् । मनमा अनेक कुरा खेल्न थाले । एक
मनले भन्यो, क्यान्सर हुनेखालको मेरो आहारविहार त होइन । सधै अनुशासनमा
बाँधिएको मान्छे । समयमै खाने, समयमै सुत्ने–उठ्ने । स्वास्थ्य अनुकुल
खाने, सकारात्मक सोंच्ने र सफलताको बाटो खोज्ने स्वभाव हो मेरो । जिब्रोको
स्वाद हैन, सधै सन्तुलित खानपिन रोजियो । ‘सुखमा नमात्तिनु, आपतमा
नआत्तिनु’ बुवा सधै भन्नुहुन्थ्यो । मध्य सहरमा राम्रै हुनेखाने परिवारका
छोराछोरी कुलतमा लाग्लान् भन्ने उहाँलाई निकै चिन्ता थियो सायद । त्यसैले
बेला बेलामा सम्झाउनुहुन्थ्यो । कुलतमा नलागेर हामीले बुवाको एउटा इच्छा
पुरा गरेका थियौं ।
‘हामीले के बिगार्यौ र यस्तो आपत्ति आइलाग्यो ?’
सुनसान रातमा अनिताले दुखेसो पोखिन् । मैले सम्झाउन खोजेँ,– ‘भगवानले सबै
हेरेका हुन्छन् । यो पनि परीक्षा लिएका होलान् ।’
० ० ० ० ० ० ०
२०६८ फागुन ६ गते पहिलो फ्लाइटबाट अनितालाई लिएर उपचारका लागि म काठमाडौं उडेँ ।
बुद्ध
एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदा काठमाडौं पहिले
पहिलेको जस्तो लागेन, मनमा चिन्ता थियो । अरू बेला काठमाडौं आउँदा छुट्टै
उत्साह बोकेर आइन्थ्यो । साथीभाइलाई खबर गर्न उत्तिकै हतारो हुन्थ्यो ।
जहाजबाट भए एयरपोर्टबाटै र बसबाट भए कलंकी वा बसपार्कबाटै टेलिफोन गर्थें ।
काठमाडौं बसाइ कहिल्यै बोर भएन । साथीभाइहरूसँगै त्रिपुरेश्वर, सातदोबाटो,
दरवारमार्ग, सुन्धारा झल्झली सम्झनामा आए । हाम्रो घुम्ने ठाउँ तिनै त थिए
।
यसपल्ट छुट्टै थियो अवस्था । मनभरि तनावै–तनाव, दिमागले
राम्रोसँग काम नगरेजस्तो । क्यान्सरले ठूलो आन्द्रामा मात्र हैन, मनमै घर
गर्न थालिसकेको थियो । जो भेटिन्छ, ढिला गर्नहुँदैन, पल–पलको महत्व हुन्छ
भन्दै सम्झाउँछन् । सम्झाएका हुन् कि तर्साएका । बायोप्सी जाँचका लागि मासु
निकाल्नु क्यान्सर फैलाउनु हो भन्दा रहेछन् । त्यसैले यो जाँचपछि जतिसक्दो
चाँडो अप्रेसन गर्नुपर्ने रे । डाक्टरदेखि सुन्ने–जान्ने कहलिएका धेरैले
सुनाए । त्यसैले पनि मन आँत्तिदोरहेछ । जहाजबाट ओर्लिएर प्रतीक्षालयसम्म
आउँदासमेत हतारो मानिरहेको थिएँ ।
बाहिर बृजेन्द्र दाइ, साढु दाइ
दिलबहादुर मल्ल, दिज्यू र भान्जा पर्खिरहेका थिए । दाइ, साढुदाइ र म सोझै
अस्पताल जाने भयौँ । अनिताचाँहि भान्जाको कारमा दिज्यूसँग गइन् ।
एयरपोर्टबाट सोझै भक्तपुर क्यान्सर अस्पताल लाग्यौँ । साढुदाइले पहिल्यै
मेरो नाम लेखाइसकेका रहेछन् । डाक्टरको समय समेत लिइसकेको पछि थाह पाएँ ।
उहाँ भक्तपुर औद्योगिक क्षेत्रका प्रबन्धक हुनुहुन्थ्यो । उहाँको अस्पताल
व्यवस्थापन समितिका अध्यक्षसँग राम्रै सम्बन्ध रहेछ । त्यसैले पनि सजिलो
भयो । डाक्टरले लखनउको रिपोर्ट हेरेपछि भने क्यान्सर हो वा हैन भन्ने
बाँकीको शङ्का पनि निवारण भयो । डाक्टरले भनिहाले, ‘जतिसक्दो छिटो अपरेशन
गर्यो उति राम्रो ।’
उनले अपरेशनको मिति पनि तोके, १२ दिनपछिको ।
डाक्टरहरू
सजिलै भनिदिन्छन् । मर्नु र बाँच्नु त बिरामीले पर्छ । आफूलाई यहाँ जीवन
मरणको कुरा छ, उनी सहजै भन्दै थिए–‘क्यान्सर मौरीको चाका जसरी एकै ठाउँमा
बसेको छ, काटेर फाल्नुपर्छ ।’
मलाई भने एउटै चिकित्सकको भर परेर
अपरेशन गर्ने कि नगर्ने दोधार पर्न थाल्यो । एउटै बिरामीलाई डाक्टरपिच्छे
फरक जाँच र औषधी दिइएका थुप्रै घटना सुनेको थिएँ । कतै अपरेशन गर्नुपर्छ
भनेका बिरामी औषधीबाटै निको भएका पनि छन् । कतै, क्यान्सर शङ्का गरेको हैन
रैछ भन्दै घर फर्केका पनि छन् । एकै बचनमा अपरेशनको निधो गर्न मलाई धौ भयो ।
अपरेशन
गर्ने कुरा परिवारका अरूको पनि सल्लाह लिनुपर्छ भन्ने लाग्यो । ‘एउटै
डाक्टरको भर पर्नुहुन्न’ धेरैको एउटै कुरा थियो । अन्त्यमा, कम्तिमा तीन
जना बिशेषज्ञले समान निर्णय नदिउन्जेल अपरेशन नगर्ने निधोमा पुगेँ ।
‘अपरेशन
नै गर्ने हो भने लखनउको पीजीआई अस्पतालमा गर्दा कसो होला ?’ मैले
भक्तपुरकै डाक्टरसँग सोधे । उनले ‘राम्रो हुन्छ’ भने । पीजीआईमा पालो
पाउनका लागि रिफर गरिएको बिरामी हुनुपर्छ । सोझै जाँदा परीक्षण गर्न
पाइँदैन । त्यसैले रिफर पत्र लेखिदिन अनुरोध गरेँ । उनले विना आनाकानी
स्वीकारे । त्यो दिनभर हामी दिल दाइकहाँ बस्यौँ ।
क्यान्सर बिशेषज्ञ डा.
सुदीप श्रेष्ठलाई भेट्न दिउँसो चावहिलस्थित ओम अस्पताल पुग्याँै । उनले
पनि क्यान्सर नै भनेँ । उनले दुई दिनपछि भर्ना भएर चौथो दिन अपरेशन गर्ने
डेट दिए । छटपटी अब झन् बढ्दै गयो । बेलुका नक्सालस्थित दिज्यूको घरमा
पारिवारिक जमघट भयो । अपरेशन कसैले नेपालमै गर्न भने, कसैले नयाँ दिल्ली
जान सल्लाह दिए । लखनउको पीजीआई वा सहारामा जाऊ भन्ने धेरै भए । अन्तत:
लखनउ जाने टुङ्गो लगाएर सुतियो ।
लखनउ छनोट गर्नुका थुप्रै कारण थिए ।
पहिलो नेपालगन्जदेखि काठमाडौंभन्दा नजिकै रहेकाले आफन्तलाई भेटघाट गर्न र
कुरुवा बस्न सजिलो हुन्थ्यो । दोस्रो मेरो लागि लखनउ धेरै परिचित शहर हो ।
त्यसैले दुई दिनपछि नेपालगन्ज फर्किने र लखनउ जाने मोटामोटी सल्लाह बन्यो ।
बल्ल
मलाई साथीभाइको सम्झना आयो । सँगै खेलेका साथीहरू प्राय: सबै काठमाडौं
बस्थे । घरपरिवार र नातेदारपछिको आफन्त भनेकै साथीहरू त हुन् । सबैभन्दा
पहिले सुनिल जोशीलाई सम्झेँ । काठमाडौंको रैथाने नेवार सुनिल नेपाल
ओलम्पियन सङ्घको अध्यक्ष तथा भारोत्तोलनको प्रमुख प्रशिक्षक थिए ।
ओलम्पिकसम्म यात्रा गरेका उनी मेरो अति निकट थिए । भन्न चाहिँ उनी मलाई
‘सुरेन्द्र दाइ’ भन्छन् ।
‘सुनिल, म काठमाडौं आएको थिएँ, भोलि
फर्कदैछु’– मैले टेलिफोन गरेँ । ऊ दङ्ग पऱ्यो । अरू बेला आउँदा सधैं
भेट्थ्यौ । घुमफिर गथ्र्यौं । यसपटक नभेटेरै जान लाग्दा उसले अचम्म मान्नु
स्वभाविकै थियो । कौतुहलमा नराखेरै स्वास्थ्यबारे सुनाएँ । ‘तपाईँ एकदिन
रोकिनुपर्छ दाइ’ उसले भन्यो –‘यो कुरा देशले थाहा पाउनुपर्छ । जीवनभर देशका
लागि खेलियो । अब चरोमुसो जस्तो भएर मर्नु त भएन नि ।’
उसको कुराले मेरो मन पनि हल्लायो ।
कुरा
ठीक लाग्यो । जीवनभर खेल भनेरै कुदियो । देशको झण्डा उचो बनाउन लागियो ।
सरकारसँग खास ठूलो अपेक्षा त थिएन, तर देशले थाह पाओस् न एउटा खेलाडी
बिरामी छ भन्ने लाग्यो । मैले परिवारलाई उसको सल्लाह सुनाएँ । अनिता त
चाँडो जाऊँ भन्दै थिइन् । कुरो एकै दिनको थियो, त्यसैले धेरै जिद्दी भने
गरिनन् ।
सुनिलले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका
अध्यक्ष दीपक बिष्टसँग मेरो बारे कुरा गरेछन् । दीपकले फोन गरे, लामै कुरा
भयो । सबै स्वास्थ्य अवस्थाबारे भनेँ । उनले विचलित नहुन आश्वस्त पार्न
खोजे ।
‘सबै खेलाडी तपाईंको साथमा छौँ दाइ, चिन्ता नगर्नुहोला’
दीपकले फोनबाटै ढाडस दिएका थिए,–‘अब क्यान्सर रोग ठूलो हुँदै हैन । पक्कै
ठीक हुन्छ ।
नेपाली खेल क्षेत्रका एउटा ख्यातिप्राप्त व्यक्तित्व
हुन् दीपक । दक्षिण एशियाली खेलकुद (साग)मा लगातार चार स्वर्ण, एशियाडमा
दुई कास्य पदक र छनोट चरण पार गरी ओलम्पिक यात्रा तय गरेको प्रतिभावान्
खेलाडी हुन् । खेलाडी संघको अध्यक्ष भएपछि थुप्रै बिरामी खेलाडीलाई सघाउन
उनले सक्रियता देखाएका थिए । दिनेश बानियाँ र मञ्जु तुलाधरको उपचार खर्चको
जोहो उनैले गरेका थिए । उनले सम्झाइरहँदा मैले थोरै भए पनि राहतको महसुस
गरेँ ।
भोलिपल्ट फागुन ९ मा संघले मेरो स्वास्थ्यबारे जानकारी दिन
पत्रकार सम्मेलन गर्ने भयो । त्रिपुरेश्वरस्थित नेपाल भारोत्तोलन संघको
केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट गरियो । थुप्रै खेल पत्रकार आएका थिए ।
लगत्तै, नेपाल ओलम्पियन संघ, खेलाडी संघका पदाधिकारीसहित राष्ट्रिय खेलकुद
परिषदका सदस्य–सचिव युवराज लामालाई भेट्न गयौँ । उनले सान्त्वना र आश्वासन
दिए,–‘उपचारमा कुनै कमी हुन दिन्नँ । सक्दो सहयोग गर्छु ।’ मलाई केही ढाडस
मिल्यो ।
टिभी र रेडियोमा समाचार बज्न थाले । भोलिपल्टका
पत्रपत्रिकाका खेल पेजहरूमा मेरो स्वास्थ्य अवस्थाको समाचार छापिए ।
त्यसपछि चिन्ता, चासो र दु:ख व्यक्त गर्दै थामिनसक्नु फोन बज्न थाल्यो । अब
यति भए मलाई पुग्यो । मनमनै सोचे,–‘सुनिलले भनेझै ज्यानै गएछ भने पनि चरो
मुसोझैं कसैले थाह नपाउने अब हुन्न ।’
.........
मनभरि चिन्ता भए पनि उच्च मनोबल लिएर म लखनउ हुइँकिएको थिएँ । बिदाइका बेला मुठ्ठी कसेको थिएँ रे, अहिले भन्छन् धेरैले ।
भारत
उत्तरप्रदेशको राजधानी लखनउ विदेशी भूमि पक्कै हो । तर, मेरा लागि नौलो
भने हैन । नेपालगन्जीया मात्र हैन, मध्य तथा सुदूरपश्चिमका हिमाल, पहाड र
तरार्इंका बासिन्दाका लागि औषधी उपचारका दृष्टिले काठमाडौंभन्दा नजिक छ यो
सहर । लखनउ पुग्नासाथ सबैभन्दा पहिले चाँद भाइलाई सम्झिएँ । उनलाई फोन गरेँ
। भारोत्तोलनका सहयात्री समसुद्दिन सिद्धिकीका कान्छा भाई हुन् चाँद ।
समसुद्दिन र मैले करिअर करीव–करीव सँगै सुरु गरेका थियाँै । उनले दक्षिण
एशियाली खेलकुदमा धेरै पदक जितेका छन् । म जस्तै खेलजीवनपछि उनले पनि
राजनैतिक करिअरलाई अघि बढाए । दुबै उपमेयर भयौँ । उच्च शिक्षाका लागि लखनउ
गएका चाँद उनै समसुद्दिनका भाइ हुन् । जो, त्यहाँ रामै्र जमेर बसेका छन् ।
मलाई क्यान्सर भएको सुनेपछि उनी पनि दु:खी भए । पीजीआई वा सहारा अस्पताल कहाँ ठिक होला ? मैले सल्लाह मागेँ ।
‘सहारा अलिक महँगो छ दाइ, पीजीआई ठिक हुन्छ’– उनले भने ।
दाइको
साथी भएकाले उनी मलाई आदर र माया गर्छन् । बिहानै पीजीआई पुगेर जाँच सुरु
गर्यौँ । सिटी स्क्यानपछि अपरेशनको मिति तोकियो, २५ फागुन । त्यसका लागि
दुई साता पर्खनुपर्ने भयो । अब के गर्ने ? जतिसुकै हतार गरेर आए पनि
डाक्टरको समय नमिले उपचारै रोक्नुपर्ने हुँदोरहेछ । ‘क्यान्सर दिन दुई
गुना, रात चौगुना फैलिन्छ’ धेरैले भनेको सुनेको थिएँ । त्यसैले आफूलाई
जतिसक्दो चाँडो क्यान्सर फाल्नुपर्छ भन्ने लागिरहेको बेला डाक्टर भने दुई
सातापछि बोलाउँछन् । हामी आत्तिएका थियौँ । त्यसैले पीजीआई प्रशासनमा
पुगेरै अनुरोध गऱ्यौं । तर, उनीहरूले तालिका देखाएरै असमर्थता जनाए । अब
के गर्ने ? सहारामा गएर सोधी हेर्ने कि ? अनिता र भाइ कैलाशले सहारा गएर
डा. पुनित गुप्तालाई भेटेछन् । उनले बिरामी बोलाउन भनेपछि म पनि गएँ ।
रिपोर्ट हेरेपछि डा. गुप्ताले फ्याट्ट भने– ‘कल एडमिट किजिए, पर्सौं अपरेशन
होगा ।’
हामीले चाहेकै त्यही थियो, जतिसक्दो चाँडो अपरेशन ।
बेलुका
भइसकेको थियो । त्यो दिन अमिनावादस्थित छेदीलाल धर्मशालामा बास बस्यौं ।
भोलिपल्ट बिहानै सहारा अस्पताल पुगेर डा. पुनितसँग भेट भयो ।
शल्यक्रियाबारे मैले सोधें । उनले विधि खुलस्त पारे,—‘आन्द्रा काट्नुपर्छ,
घाउ फालेपछि सिउनुपर्छ ।’ मैले अर्को जिज्ञासा राखेँ, हातले सिउने कि गन
(मेसिन)ले ? उनले हाँस्दै आश्वस्त पारे,—हातले सिउने त पुरानो विधि हो ।
अचेल त मेसिनले नै हो गर्ने ।
डा पुनितले मेरा आँखामा हेरे । सायद,
जिज्ञासा र त्रास धेरै देखे कि ? सम्झाउन पो थाले,– सिटीस्क्यान राम्रो छ ।
क्यान्सर मौरीको चाकाजस्तै एक ठाउँमा झोलिएर बसेको छ । घाउ सन्चो हुने
कुरा घाउको साइज कत्रो छ भन्नेमा निर्भर हुन्छ । घाउले धेरै ठाउँ लिएको
रहेछ भने काट्दै जाँदा घाउ त निको होला, जिन्दगी भने आधा हुनसक्छ,
अपाङ्गजस्तै । त्यो भनेको के ? मलद्वार कृत्रिम तयार गरिनेछ । कृत्रिम
नलीबाट मल निकाल्ने प्रविधि जडान गर्नुपर्नेछ ।’
अब खासै धेरै
जिज्ञासा बाँकी रहेनन् । जति सोध्यो, उति मन जिरिङजिरिङ मात्र भयो । तर,
मैले डरको भाव अनुहारमा आउन दिइनँ । किनभने अनिता त्यहीँ थिइन् । डा.
पुनितलाई भनँे,– ठिक छ । म तयार छु । जसरी हुन्छ, क्यान्सर फाल्नुस् ।
सकेसम्म कृत्रिम दिसा गराउने अवस्थामा पुग्न नदिनुहोला ।’
घाउ ठुलो
आन्द्रामा थियो । त्यसको कनेक्सन गुदद्वारसँग हुँदो रहेछ । घाउ फैलिएर
गुदद्वारसम्मै पुगे कृत्रिम दिसाको अवस्था आउन सक्थ्यो । त्यसले चिन्ता झन्
बढाएको थियो ।
डाक्टरलाई प्रभावित पार्न सके विशेष सावधानी गर्लान्
भन्ने मैले सोचेँ । त्यसैले आफ्नो परिचय दिएँ । मेरा बारेमा प्रकाशित
समाचारहरु देखाएँ । ओलम्पियन भएको र एशियाली पदक जितेको भन्न भ्याएँ ।
दक्षिण एशियाली खेलकुदमा जितेका पदकबारे पनि सुनाए । उनले निकै चाख दिएर
सुने । त्यसपछि बल्ल रिपोर्ट ओल्टाईपल्टाई हेर्न थाले । अनि, ढाडस दिने
भावमा भने,– ‘गुड, घबराइए मत । आप पहले ओलम्पियन हो, जिसका इस हस्पिटलमे
आपरेशन हो रहा है ।’
फागुन १३ गते अपरेशन गर्ने टुंगोपछि ११ गते
भर्ना गरियो । अपरेशनको दिन बिहानै ओ.टी. लैजाने तयारी भयो । इमरजेन्सी केस
आएको भन्दै डाक्टरले ढिला गरे । डा. पुनितले संकेत गरेपछि मलाई अपरेशन
कक्षमा लगियो । उनको थाकेको अनुहार देखेपछि मलाई डर लाग्यो । यति जटिल
अपरेशन छ, डाक्टर घण्टौं इमरजेन्सी केस हेरेर थाकेर आएका छन् । भोलिलाई
सार्न पाए हुन्थ्यो भन्ने लाग्यो । भनौँ कि नभनौँ हुँदाहुँदै मैले अर्को
दिन बिहान गर्ने कि भनेँ । मुसुक्क हाँसेर उनले हुन्छ भने ।
१४
फागुन, बिहान नौ बजे डा. पुनित आए । शल्यक्रियाको दिन गजेन्द्र दाइ, महेश
मल्ल, भतिज जोगीन्द्र पुगेका थिए । लगत्तै मलाई अपरेशन कक्षमा लगियो ।
उनीसँग अरू दुई डाक्टर थिए, क्यान्सर सर्जन अरुण चतुर्वेदी र उनका सहायक
डा. विजय पाण्डे । झण्डै सात घण्टा लागेछ । ओटीबाट बाहिर निस्कदा ४ बजेको
थियो भन्छिन् अनिता । त्यसपछि सोझै आईसीयुमा लगिएछ । पुनित आन्द्राको
सर्जन, आन्द्रा काट्ने र सिउने । डा.अरुण क्यान्सर सर्जन, क्यान्सरको
फैलावट हेर्ने र घाउ देखाउने । क्यान्सर जति छिटो फैलिन्थ्यो, त्यति नै
छिटो काट्दै जानुपथ्र्यो, जुन डा. पुनितले गरे । निकै होशियारीपूर्वक, सायद
। अलिकति मात्र तलमााथि गरेको भए सदाका लागि प्राकृतिक मलद्वार
गुमाउनुपथ्र्यो । अपाङ्गसरि जिन्दगीभर थैलो झुण्डाएर हिंड्नुपथ्र्यो ।
सम्झँदा पनि कहाली लाग्छ ।
Source:
http://kantipur.ekantipur.com