0
आश्विन २७, २०७३- रामेछाप जिल्लाको भित्री गाउँ गोठगाउँ–६ मा ज्यालादारी दैनिकी बिताउँदै आएका एक दम्पत्तिको जीवनमा बितेको आठ वर्षयताको एउटै चिन्ताको विषय छ— छोरीको दायाँ खुट्टो ।
 
जन्मेको ६ महिनामै घरभित्रको अँगेनामा परेर घुँडादेखि मुनि पैतालासम्मै डढेकी छोरी रोश्नाको उपचार गराउन कृष्णाकुमारी सार्की घटनालगत्तै मन्थलीसम्म पुगिन् । मन्थली अस्पतालमा आगाले पोलेको खुट्टाको सामान्य उपचार गरेपछि भनिएछ— घरमैं लगेर राम्ररी सेकताप गर ।
 
छोरी हुर्कदैं गई । नजिकको सरकारी स्कुल जान सक्ने पनि भई । तर, दायाँ खुट्टोको तल्लो भाग एउटा सिधा लठ्ठी जस्तो भैदिएपछि हुर्कदों उमेरसँगै हिंडडुल गर्न अहिले निकै मुश्किल पर्न थालेको छ ।
  ‘मैंले एकैपटक मन्थलीसम्म लगेकी हुँ । बनेपा अथवा काठमाडौं लैजानुपर्छ भन्ने पनि थाहा भएन,’
 
आमा कृष्णाकुमारीले भनिन्, ‘फेरि अगेनामा परेर डढेको खुट्टो बनाउँदा बन्छ भन्ने पनि भएन । अरुतिर गएर बुझ्न खर्चको जोहो पनि भएन ।’ गाउँमा मेलापर्म गर्दै र ८ वर्षीया छोरी रोश्नापछि ४ वर्षे छोरा दिपेश हुर्काउनमैं तल्लीन रहेकी कृष्णाका श्रीमान देवबहादुर मन्थलीतिर सडक ज्यामीको काम गर्छन् । ‘अहिले भर्खरै सदरमुकामतिर सुनेको हुँ,’ दसैं चाडवाड परिवारसँगै मनाउन मंगलबार मात्रै गाउँ फिरेका देवबहादुरले सुनाए, ‘एउटा प्लास्टिक सर्जरी भन्ने चिज हुन्छ रे, त्यो गर्न पाएमा छोरीले खुट्टा टेक्न सक्छे कि (?) भन्ने लागेको छ ।’
 
 तर, दसैं–तिहार जस्ता पर्वसमेत बनिबुतो वा माँगजुँगका भरमा मनाउने तयारीमा रहेका सार्की दम्पत्तिका निम्ति विशेष अर्थको प्लास्टिक सर्जरी उपचार गर्ने अथवा काठमाडौंसम्म गएर कुरो बुझ्नै पनि हम्मे देखिएको छ । ‘कहींकतै दाता भेटिएमा छोरीको उपचार सम्भव होला,’ आमा कृष्णामायाले भनिन्, ‘नभए जे त होला भन्ने छ ।’ 
 
 बनेपास्थित रामेछापमा रहेका बिकलाङ्ग समुदायको स्वास्थ्य परीक्षण एवं परामर्श सेवाका लागि खुलेको हस्पिटल एण्ड रिह्याबिटेसन सेन्टर फर डिस्एबल्ड चिल्ड्रेनले रोश्नाको खुट्टाको सर्जरी गर्न सक्ने भएपनि त्यहाँसम्म ‘रिफर’ गरिदिने पनि कोही नभएको स्थानीय रामहरी खत्रीले बताए । ‘अब कुनै दाता भेटिएमा बनेपासम्म लगेर रोश्नाको प्लास्टिक सर्जरी गराउनमा पहल गर्नेछौं,’ खत्रीले भने । 

Post a Comment

 
Top