0
 
आश्विन २९, २०७३- संयुक्त राष्ट्र संघको महासचिवमा पहिलोपटक ८ वर्ष सरकार प्रमुख र एक दशक संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग प्रमुख भइसकेका पोर्चुगलका एन्टोनियो गुटरेसलाई संयुक्त राष्ट्र संघको साधारण सभाले चुनेको छ । गुटरेस छनोट हुनुपूर्व त्यो पदको दाबेदारीमा पूर्वी युरोपीय राष्ट्रका उम्मेदवारहरू पनि थिए । अर्कातिर त्यो पदमा महिला उम्मेदवार चयन गर्नुपर्छ भन्ने गैरसरकारी संस्था र प्रमुख संयुक्त राष्ट्र संघको दातृराष्ट्र अमेरिकाको पनि ‘लबिङ’ भएका कारणले पूर्व युरोपेली पक्षधरहरू ओझेलमा परेका थिए । बहुसंख्यक विश्व मत र माग पनि महिला उम्मेदवारीतिर चुलिँंदै थियो । तर यसपालि महासचिव छनोट प्रक्रिया विगतजस्तो सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र प्रतिनिधिहरूले सर्वसम्मतिले छान्ने पद्धति त्यागेर अधिकतम पारदर्शी अर्थात् उम्मेदवारहरूबीच अनेक चरणका ‘डिबेट’का आधारमा निर्णय लिइयो । अन्ततोगत्वा सुरक्षा परिषद्का १५ सदस्ययहरूले गुटरेसको विरोधमा कुनै मत नखसालेको कारण अक्टोबर ६ मा गुटरेसलाई महासचिवको निम्ति महासभासामु सिफारिस गरेको छ । उक्त प्रस्ताव १३ अक्टोबरमा महासभाले अनुमोदन गरेपछि गुटरेस संयुक्त राष्ट्र संघको नवौं महासचिव हुनेछन् ।गुटरेस २५ अप्रिल १९७४ मा भएको ‘कार्नेसन रिभोलुसन’ जसले पोर्चुगलबाट फासिष्ट शासनको अन्त्य गरेपछि समाजवादी पार्टीमा प्रवेश गरी राजनीतिमा होमिएका थिए । हाम्रोमा एसएलसी परीक्षामा ‘बोर्ड फस्ट’ भएजस्तै सन् १९६५ मा पोर्चुगलको राष्ट्रव्यापी हाइस्कुल परीक्षामा प्रथम भएर ‘प्रिमिओ नेसनल डोक लिसिउस’ पदक प्राप्त गर्ने विद्यार्थी हुन्, गुटरेस । भौतिकशास्त्र र दूरसञ्चार प्रणालीमा स्नातक गुटरेसले तिनै विषयहरूको तीन वर्ष (सन् १९७१–१९७४) सहायक अध्यापकका हैसियतले अध्यापनमा संलग्न भए । तिनको राजनीतिक यात्रा समाजवादी पार्टीको संसदीय सदस्य (सन् १९७६–१९९५) हुँदै १९९५ मा भएको आमचुनावमा विजयी समाजवादी दलको संसदीय दलका नेता र पोर्चुगलको प्रधानमन्त्री पद प्राप्तिमा चुलिएको हो । तिनको प्रथम प्रधानमन्त्रीकाल (१९९५–१९९९) अत्यधिक सफल मानियो । तर दोस्रो कालखण्ड (१९९९–२००२) त्यति उत्साहबद्र्धक हुनसकेन । २००२ को संसदीय चुनावमा पराजय भोगेका गुटरेसले प्रधानमन्त्री र समाजवादी पार्टीको संसदीय दलका नेता दुवै पद त्यागेर पोर्चुगलको राजनीतिबाट संन्यास लिए । आन्तरिक राजनीतिबाट संन्यास लिए पनि तिनले अन्तर्राष्ट्रिय समाजवादी संगठन सोसलिष्ट इन्टरनेसनल र एमनेष्टी इन्टरनेसनलको आफ्नो संलग्नतालाई भने निरन्तरता नै दिएका थिए । १९९२ मा सोसलिष्ट इन्टरनेसनलको उपाध्यक्ष चुनिएका गुटरेस २००५ मा उक्त संगठनको अध्यक्षमा चुनिएका थिए । त्यही वर्ष तिनलाई युएनएचसीआरको हाइकमिसनर पदमा संयुक्त राष्ट्र संघको साधारणसभाले चयन गर्‍यो ।
दुई पटक नोबेल शान्ति पुरस्कार (१९५४ र १९८१) विजेता संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग (युएनएचसीआर) मा गुटरेस प्रवेश पूर्वको अवस्था अन्योलपूर्ण र कहालिलाग्दो थियो । प्रथम हाइकमिसनर कार्यकाल सफलतासाथ सम्पन्न गरेका नेदरल्यान्डका रुड लुब्बर (जसले युएनएचसीआरको हाइकमिसनर पद प्राप्त गर्नुपूर्व त्यस देशको प्रधानमन्त्री पदमा ३ कार्यकाल सफलतासाथ पुरा गरेका थिए) लाई दोस्रो कार्यकालको सुरुवातमा नै उक्त संस्थामा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार (सेक्सुअल ह्यारेसमेन्ट) को आरोप लागेर पदत्याग गर्नुपरेको थियो । उक्त घटनापश्चात् युएनएचसीआरमा कार्यरत कर्मचारीहरूको मनोबल पिँधमा पुगेको थियो । शरणार्थीहरूको संख्या घट्दै ८० लाखभन्दा कम भइसकेको र दातृराष्ट्रहरू शरणार्थी सहयोगलाई निरन्तरता दिन कन्जुस्याइँ (डोनोर फटिक) गर्न थालेको अवस्थामा रुड लुब्बरको बहिर्गमन शरणार्थीको रक्षा गर्न गठित उक्त संस्थाका निम्ति ऐतिहासिक दुर्घटना थियो । बृहत शरणार्थी सहयोग र कर्मचारी दुवैमा कटौती हुने प्राय: निश्चित अवस्था सिर्जेको थियो । गुटरेसको प्रवेशसँगै इराक, लिबिया, दक्षिण सुडान, युक्रेन र सिरियाको राजनीतिक स्थिति दु्रतगतिमा बिग्रन थाल्यो । यसले गर्दा शरणार्थी संख्या घट्नुको साटो अकासिन थाल्यो । शरणार्थीलाई भरणपोषण सहयोगमा वृद्धि गरी तिनको न्युनतम आवश्यकता परिपूर्ति गर्ने कार्यलाई गुटरेसले दातृ समुदायको प्राथमिकतामा पर्ने अभूतपूर्व सफलता मिल्यो । विश्व शरणार्थी संख्या प्रत्येक वर्ष बढ्दै जाँदा गुटरेसले युएनएचसीआर छाड्नु पूर्व युएनएचसीआरको सहयोग पाउने शरणार्थी संख्या दुई करोड आधा नाघिसकेको र उक्त संस्थाको बजेट ३ अर्ब डलर पुगिसकेको थियो । युएनएचसीआरको कर्मचारी संख्या पनि १० हजारभन्दा बढी थियो ।
दुई पटक नोबेल शान्ति पुरस्कार प्राप्त युएनएचसीआरको हाइकमिसनरहरूको पृष्ठभूमि राजनीतिक वा कानुनविदहरू हुने परम्परा छ । गैरराजनीतिक संस्था भए पनि युएनएचसीआरको निर्माण राजनीतिक र धार्मिक कारणले गर्दा जीवनरक्षाका निम्ति विस्थापित भएर जन्मभूमि त्याग्न बाध्य भएकाहरूको मानवीय अधिकारको संरक्षण, भरणपोषण सहयोग उपलव्ध गराउनु र तिनको दूरगामी समस्या समाधान हो । संस्थाको प्रमुख राजनीतिक विषयमा दख्खल भएका व्यक्ति हुनु सान्दर्भिकमात्र नभएर अत्यावश्यक हुने नै भयो । गुटरेसको हाइकमिसनर नियुक्तिलाई कानुनविदहरूको बर्चस्व भएको उक्त संस्था र दातृ निकायका कर्मचारीहरूबीच तिनले दुई त परैजाओस्, एक कार्यकाल पनि समापन गर्न मुस्किल पर्ने अड्कल काटिएको थियो । पोर्चुगल युरोपको सबैभन्दा पछाडि परेको राष्ट्र भएको हुनाले उनीभन्दा पहिलेका हाइकमिसनर नेदरल्यान्डका पूर्वप्रधानमन्त्री रुड लुब्बर वा उनी अघिका जापानका प्रोफेसर सागतो वोगाताले जस्तोगरी जापान तथा युरोपबाट युएनएचसीआरका निम्ति सहयोग रकम बढ्ने आकांक्षा धेरैले राखेका थिएनन् । त्यसैगरी अत्यधिक विविधताले भरिपूर्ण उक्त संस्था हाँक्ने क्षमता पनि तिनमा होला भन्ने विश्वास धेरैमा थिएन । होचा कदका पोर्चुगली नागरिकको व्यक्तित्वमा न सागतो वोगाताको जस्तो चमक थियो, नत अग्लो कदका लुब्बरको जस्तो नै । बहुभाषी गुटरेसको प्रजातान्त्रिक समाजवादी पृष्ठभूमिले गर्दा प्रमुख दातृराष्ट्र अमेरिकाबाट तिनले सहयोग जुटाउन सफल होलान् भन्ने विश्वास पर्यवेक्षकहरूमा पटक्कै थिएन ।
युएनएचसीआरका हाइकमिसनरमध्ये धेरैको नजर संयुक्त राष्ट्र संघको महासचिव पदमा नभएको होइन । विशेषगरी शत्रुद्दीन आगाखानको दृष्टि, उक्त पदमा भएको घोषणा सार्वजनिकसमेत भएको थियो । तिनले आफ्ना प्रमुख कर्मचारीहरूलाई उक्त पद प्राप्तिका निम्ति लबिङ गर्न न्युयोर्क खटाएका थिए । त्यसैगरी कम्बोडियामा थाइल्यान्डको सिमानामा भएका शरणार्थी शिविरबाट १५ वर्षपछि ४ लाख कम्बोडियन शरणार्थीहरूको आफ्नो बासस्थान फर्केर नवजीवनको सुरुवात गर्ने कार्यमा युएनएचसीआरलाई मिलेको सफलता र बाल्कन मुलुकहरूमा भएको भीषण नरसंहारबाट लाखौं विस्थापित पूर्व युगोस्लाभियन नागरिकहरूलाई सहयोग पुर्‍याउने कार्यमा मिलेको सफलताका कारणले गर्दा सादागो वोगाता पनि पदको प्रत्यासी नै थिइन् । युएन संस्थाभित्र एकमात्र सेलिब्रेटी मानिने युएनएचसीआरका पूर्वकर्मचारी र युएन हाइकमिसनर फर ह्युमन राइट्स पदमा नियुक्ति पाइसकेका सर्जु दिभेरा मेलोको सन् २००५ को बग्दाद बमकाण्डमा देहावसान नभएको भए उक्त पदको दाबेदार हुने प्राय: निश्चित थियो । त्यसो त पूर्व महासचिव कोफी अन्नान पनि युएनएचसीआरकै कर्मचारी थिए । छोटोमा भन्नुपर्दा गुटरेस प्रथम युनएचसीआरको हाइकमिसनर होइनन्, जसले आफूलाई महासचिव पदको प्रत्यासीका रूपमा प्रस्तुत गरेका थिए, तर उक्त पद प्राप्ति गर्ने प्रथम हाइकमिसनर भने उनी नै भए ।
गुटरेस नेपालका निम्ति पनि परिचित व्यक्ति हुन् । तिनले भुटानी सरणार्थी समस्याको समाधान गर्न सन् २००७ मा भुटान प्रस्थान गर्नुपूर्व नेपाल भ्रमण गरेका थिए । भ्रमणको अन्त्यमा तिनले भुटानी शरणार्थीहरूको आफ्नो मुलुक फर्कने नैसर्गिक अधिकारको समर्थनमा वक्तव्य दिएका थिए । एक लाखभन्दा बढी भुटानी शरणार्थीहरू अमेरिका, क्यानाडा, अस्ट्रेलिया र युरोपका विभिन्न मुलुकमा बसोबास गर्न नेपालबाट प्रस्थान त भए, तर आफ्नो मुलुक फर्कने उनीहरूको अधिकार अझैसम्म पुरा हुनसकेको छैन । नेपालमा अझै १२ हजारभन्दा बढी भुटानबाट लखेटिएका भुटानीहरूले शरण लिइराखेका छन् । तिनको नियुक्तिले भुटानलाई आफ्नो नागरिकहरूको ससम्मान स्वदेश फर्कने अधिकारबाट बञ्चित राख्ने कार्यलाई निरन्तरता दिने छुट मिल्ने छैन । त्यसैगरी विश्व समुदायको नजरमा चीनको बढ्दो प्रभावका कारणले गर्दा ओझेलमा परेको हाम्रो मुलुकमा रहेका २५ हजारभन्दा बढी तिब्बती शरणार्थीहरूको समस्या समाधानको पहलकदमीले पनि कुनै न कुनै रूपमा प्राथमिकता पाउने विश्वास राख्न सकिन्छ ।
नेपाली कांग्रेसको सोसलिष्ट इन्टरनेसनलसँग ज्यादै लामो र घनिष्ट सम्बन्ध छ । कांग्रेसका सभापति शेरबहादुर देउवा त्यो संगठनको उपाध्यक्षमा आसिन छन् । अनि परराष्ट्र मन्त्रालय त्यही पार्टीका नेताले सम्हालेका छन् । दु:खको विषय गुटरेसलाई बधाई दिन भने हाम्रो मुलुकले लोभ गरेको देखिन्छ । महासचिव गुटरेसको नेपालप्रतिको धारणा के कस्तो हुनसक्छ भन्ने चासोको विषय हो । प्रथमत: विगतदेखि हामीले गलैंचामुनि लुकाउँदै आएको युद्ध अपराधका घटनाहरूबाट तिनी अनभिज्ञ छैनन् । एमनेष्टी इन्टरनेसनलका हर्ताकर्ता भइसकेका गुटरेसले नेपालमा भएको १० वर्षको माओवादी हिंसाकालका १७ हजारभन्दा बढी नरसंहार, यातना र विस्थापनजस्ता घटना त्यत्तिकै भुल्ने छैनन् । त्यसैगरी संयुक्त राष्ट्र संघको मानवअधिकार सम्बन्धी संस्थाले बेपत्ता पारिएकाहरूको विषयमा पनि उनी अनभिज्ञ छैनन् । तिनको महासचिव पदार्पणसँगै पुन: मानवता विरोधी हत्या—हिंसामा मुछिएका माओवादी र सुरक्षा अंगका खलनायकहरूले हालसम्म पाएको दण्डहीनताको सुविधाबाट बञ्चित हुनुपर्ने निश्चित छ ।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top