0
आश्विन २३, २०७३- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दुई वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । न त घरेलु प्रतियोगिता नै नियमित हुन सक्यो । वर्षायाममा गरिएको तीनदिने छनोट प्रतियोगितामार्फत् यसपालि राष्ट्रिय टिम तयार गरिएको छ, जसले आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोट खेल्दैछ ।
आयोजक हङकङसहित नेपाल, चीन र थाइल्यान्ड एसियाली छनोटमा सहभागी छन् । उनीहरूले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् र त्यसमा पहिलो स्थानमा रहने टिमले ‘ग्लोबल क्वालिफाइर’ खेल्नेछ । ट्वान्टी ट्वान्टी विश्वकपको प्रारम्भिक छनोटका रूपमा रहेको प्रतियोगितामा नेपालले पहिलो खेलमा आइतबार तिन क्वोङ रोड रिक्रिएसनमा हङकङको सामना गर्दैछ ।
सन् २००७ को एसीसी वुमेन्स च्याम्पियनसिपमा फाइनल पुगेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सनसनीपूर्ण रूपमा डेब्यू गरे पनि नेपाली महिला टिमको प्रदर्शन पछिल्लो समय निराशाजनक छ । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुद नै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले खेलेको पछिल्लो प्रतियोगिता हो । त्यसयता खेलाडीहरू स्वदेशमै पनि लगभग प्रतियोगिताविहीन भएका थिए । त्यसैले हङकङ यात्रामा नेपालको गतिलो प्रदर्शन अपेक्षा गर्न अलि बढी नै महत्त्वाकांक्षी हुन सक्छ ।
कप्तान रुविना क्षत्रीले भने ठूलै लक्ष्य लिएकी छन् । ‘पछिल्ला खेलमा हामी तीनै प्रतिद्वन्द्वीसँग हारेका छौं । तर, यो छनोटका लागि हामीले राम्रो तयारी गरेका छौं । ३७ दिन अभ्यास गर्‍यौं । सबैले मिहिनेत गरेका छन् । त्यसैले शीर्षस्थानमा रहँदै विश्वव्यापी छनोटमा पुग्ने लक्ष्य छ र यसका लागि हामी योग्य पनि छौं । किनभने हामी प्रतियोगिता नहँुदा पनि कहिल्यै खाली बसेनौं, सधंै प्रशिक्षण गरिरहेका थियौं ।’ उनी एसियाली खेलकुदमा पनि नेपाली टिमका कप्तान थिए ।
यसपालि प्रशिक्षकको जिम्मेवारी राजु बस्न्यातले पाएका छन् । उनले पनि एसियाली छनोटको शीर्षस्थानमा रहने योजना बनाएका छन् ।
‘हामीले निकै मिहिनेत गरेका छौं । खेलाडीहरू राम्रो लयमा छन् । नयाँ खेलाडी पनि उत्कृष्ट छन् । त्यसैले सबैलाई हराएर अघि बढ्ने विश्वास छ,’ उनले भने । इन्चोन एसियाडको १४ सदस्यीय टिममा यसपालि पाँच खेलाडी फेरिएका छन् ।
भारतमा खेल्दै आएकी निर्मला शाही पहिलो प्रयासमै राष्ट्रिय टिममा छनोट भएकी छन् । यी अलराउन्डर उच्चस्तरको क्रिकेटर भएकी कप्तान क्षत्रीले बताइन् । ‘भारतमा खेलेको उनको अनुभवले टिमलाई सहयोग पुर्‍याउनेछ,’ उनले भनिन् । निर्मला अफस्पिनर हुन् । उनलाई तेस्रो नम्बरमा ब्याटिङ गराउने प्रशिक्षक बस्न्यातले योजना बनाएका छन् । ज्योति पाण्डे र शवनम राईले पनि पहिलोपल्ट राष्ट्रिय टिममा स्थान पाएका छन् भने रोशनी बोहरा र रश्मी शर्माले पुनरागमन गरेका छन् ।
नियमित रूपमा राम्रो प्रदर्शन गर्दै आएकी सीता रानामगरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । नेरी थापा, सरिता मगर, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरस्वती चौधरी र इन्दु बर्मा टिममा यथावत् छन् । नेरी, नीरा र सीताले २००७ मा भएको एसीसी वुमेन्स च्याम्पियनसिप पनि खेलेका थिए । अरू नौ खेलाडी भने त्यसयताका आठ प्रतियोगितामार्फत् टिममा परेका हुन् । नेपाली महिला टिमको नवौं प्रतियोगितामा आएर थप पाँच खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्ने अवसर पाएका छन् ।
विश्वकपको छनोटका रूपमा रहेको प्रतियोगिता नेपाली महिला टिमले यसअघि पनि खेलेको थियो । तर, त्यसमा नेपालको प्रदर्शन गतिलो भएन । ४८ खेलाडीबाट छानिएका १४ जनाको नेपाली टिमलाई यसपालि त्यसक्रमलाई चिर्ने अवसर छ । महिला क्रिकेटमा थाइल्यान्ड, चीन र हङकङ निखारिंदै आएका छन् । त्यसैले नेपाललाई एसियाली छनोटको लक्ष्यमा पुग्न भने सजिलो छैन ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top