0
आश्विन २९, २०७३- ब्रिक्स सम्मेलनमा भाग लिनुअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बंगलादेशको भ्रमण गरेका छन् । भ्रमणक्रममा चीनले बंगलादेशलाई २३ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने सम्झौतासमेत भएको छ ।
राष्ट्रपति सीको उपस्थितिमा दुई देशबीच २६ बुँदे सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा उनले छिमेकी बंगलादेशको औपचारिक भ्रमण गरेका हुन् । चिनियाँ राष्ट्रपतिको बंगलादेश भ्रमण तीन दशकपछि भएको हो । ढाकामा बंगलादेशी समकक्षीबाट स्वागत पाए लगत्तै राष्ट्रपति सी र प्रधानमन्त्री शेख हसिनाबीच ‘वान टु वान’ बैठक भएको थियो । बैठकलगत्तै सी र हसिनाको उपस्थितिमा चीनले बंगलादेशमा लगानी बढाउन र उत्पादन क्षमता सहयोग वृद्धि गर्न पाँच वर्षका लागि २३ अर्ब अमेरिकी डलर दिने सम्झौता भएको हो । उक्त रकम पूर्वाधार निर्माण र ऊर्जा विकास लगायतमा लगानी हुनेछ । सम्झौतामा बंगलादेशी अर्थमन्त्री र चिनियाँ वाणिज्यमन्त्रीले हस्ताक्षर गरेका थिए ।
चिनियाँ सहायक विदेशमन्त्री कोङ जुनयुले दक्षिण एसियामा बंगलादेश चीनको एक महत्त्वपूर्ण साझेदार भएको बताए । चिनियाँ निर्माण कम्पनीहरूले बंगलादेशमा पुल र राजमार्ग बनाउँदै आएका छन् भने बंगलादेशले अधिकांश सैन्य सामग्री चीनबाटै किन्ने गरेको छ । बंगलादेशी राष्ट्रपतिको निम्तामा सी चीनबाट कम्बोडिया हुँदै शुक्रबार बंगलादेश पुगेका हुन् । बंगलादेशले पनि सीको यो भ्रमणलाई ‘ल्यान्डमार्क भिजिट’ को संज्ञा दिएको छ ।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top