0
कार्तिक ९, २०७३- सांस्कृतिक संस्थान (नाचघर) शनिबार साँझ पश्चिमा शास्त्रीय बाजा, भायोलिन, भोइला, चेलो र डबल बेसको तालमा तरंगित बन्यो । ‘द थर्ड नर्वेजियन–नेप्लिज अर्केस्ट्रा कन्सर्ट’ मा ४० वाद्यवादकले मोजार्टदेखि अम्बर गुरुङसम्मका धुन सुनाए ।
तुरोड विगमले कन्डक्ट गरेको अर्केस्ट्रामा नर्वेको क्वार्ता क्वार्तेतेन समूह र नेपाली अर्केस्टा टोलीले एकसाथ प्रस्तुति दिएको थियो । जीएफ हयान्डलको ‘कन्सर्टो ग्रोसो...’ बाट सुरु भएको कन्सर्टमा इडभार्ड ग्रिगको फोक ट्युन, मोजार्टको ‘आइने क्लाइने...’ गोपाल योञ्जनको ‘मेलोडिज फ्रम एभरेस्ट’, अम्बर गुरुङको ‘रातो र चन्द्र सूर्य...’ नारायण गोपालको ‘जाग लम्क चम्क हे...’ गरी करिब एक दर्जन गीत प्रस्तुत गरिए ।
कार्यक्रममा अर्केस्ट्रा कन्डक्टर विगमले आठ दिनको नेपाल बसाइ र यहाँका युवा संगीतकर्मीसँगको सहकार्य आफूहरूका लागि प्रेरणादायी रहेको बताए । ‘संगीतको कुनै सिमा हुँदैन, यसलाई कुनै भाषा, धर्मले छेक्दैन’, उनले भने, ‘यसले हामी सबैलाई समानताको सूत्रमा बाँध्छ । नेपालमा कार्यक्रम गर्न पाएकोमा आभारी छौं ।’ आफूले कन्डक्ट गरेको टोलीले आगामी दिनमा पनि कन्सर्ट गरोस् भन्ने कामना उनले गरे ।
विश्व संगीतमा स्ट्रिङ अर्केस्ट्राको इतिहास चार सय वर्ष लामो भए पनि हामीकहाँ पछिल्ला केही वर्षदेखि मात्रै अर्केस्ट्रा आयोजना हुन थालेको कन्सर्टका संयोजक राजकुमार श्रेष्ठले बताए ।
‘स्वरसम्राट नारायण गोपालको इच्छाअनुरुप उहाँकी श्रीमती पेमला गुरुवार्चाले २०५२ सालमा नारायणगोपाल कोष स्थापना गरी अर्केस्टा सुरु गर्नुभएको थियो,’ श्रेष्ठले भने, ‘त्यसैलाई निरन्तरता दिने क्रममा सन् २०१५ देखि नर्वेली युथ अर्केस्ट्रा सोसाइटीसँग जोडिन पुग्यौं । ’
श्रेष्ठका अनुसार दुई देशको सांगीतिक सहकार्यपश्चात् स्ट्रिङ्ग अर्केस्टाको माहोल अलि जम्दै गएको छ । उनले सुरुका दिनमा अर्केस्ट्रा आयोजना गर्दाका कठिनाइहरू सुनाए थिए । ‘चेलो बजाउने मान्छे नपाएर किबोर्ड बजाएर कार्यक्रम गरेका थियौं,’ उनले भने, ‘अम्बर गुरुङले सन् २०१३ मा प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दा १६/१७ जनाको टोली जुटाउन पनि गाह्रो भएको थियो ।’
नारायणगोपाल कोष र नाचघरले आयोजना गरेको कार्यक्रममा कोषका तर्फबाट दीपक केसीले भनाइ राखेका थिए । उनका अनुसार सरकारी स्तरबाट सहयोग पाए कोषले अर्केस्ट्रा थिएटर नै निर्माण गर्ने लक्ष्य लिएको छ ।
‘भवनको डिजाइन तयार छ,’ उनले भने, ‘सहयोग जुट्नसाथ भवन निर्माण सुरु गर्छौं।’
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top