0
आश्विन २८, २०७३- नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आईसीसी महिला विश्व कप २०१७ को एसियाली छनोटमा शुक्रबार रोमाञ्चक प्रतिस्पर्धाबीच थाइल्यान्डसँग एक विकेटले पराजित भएको छ । यससँगै नेपाल विश्व कपको एसियाली छनोटबाटै बाहिरियो ।
चार देश सहभागी एसियाली छनोटको शीर्षस्थानमा रहने टिम ‘ग्लोबल क्वालिफाइर’ का लागि छनोट हुनेछ । हङकङ यात्राको तेस्रो हारले एसियाली छनोटको शीर्षस्थानमा रहने नेपालको सम्भावना समाप्त भएको हो । नेपालले ५ खेलमध्ये २ खेल मात्र जितेर ४ अंक बनाएको छ । हङकङ र चीनले पनि ४(४ अंक बनाएका छन् ।

एक खेल मात्र हारेको थाइल्यान्डले ८ अंक जोडै शीर्षस्थानमा रहने निश्चित गरेर विश्वव्यापी छनोटमा स्थान सुरक्षित गर्‍यो । हङकङ क्रिकेट क्लबमा शुक्रबार भएको दोस्रो खेलमा चीनले घरेलु टिम हङकङमाथि १८ रनको जित दर्ता गरेपछि एक खेलअगावै थाइल्यान्ड एसियाली छनोटको शीर्षस्थानमा रहने पक्का भएको हो ।
सन् २०१६ को अन्त्यतिर थाइल्यान्डमा वुमन्स एसिया कप क्रिकेट पनि हुँदै छ । आयोजकको हैसियतामा थाइल्यान्डले उक्त प्रतियोगिता खेल्नेछ । विश्व कपको एसियाली छनोटमा उसले शीर्षस्थान हात पारे दोस्रो स्थानमा रहने टिमले एसिया कप खेल्न पाउने आईसीसीले जनाएको छ । यसमा भने नेपालको सम्भावना कायमै छ । एसिया कपमा टेस्ट खेल्ने चारसहित ६ टिम सहभागी हुने बताइएको छ ।
डबल लिगका आधारमा सञ्चालित विश्व कपको एसियाली छनोटमा नेपालले अन्तिम खेलमा शनिबार चीनसँग मोङकोकमा प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा थाइल्यान्ड र चीन भिड्नेछन् । यी दुई खेलको नतिजाले एसिया कप खेल्ने एक टिमको टुंगो लगाउनेछ ।
विश्व कपको एसियाली छनोटमा लगातार पाँचौं पल्ट टस जितेको नेपालले ब्याटिङ रोज्ने क्रमलाई निरन्तर राख्यो । नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन जोड्यो, जुन यस छनोटमा नेपालले बनाएको सबभन्दा ठूलो स्कोर हो । त्यसलाई जोगाउन भने सकेन । थाइल्यान्डले आठ बल बाँकी छँदै लक्ष्य पूरा गरी छनोटमा चौथो जित निकाल्यो ।
अघिल्ला खेलमा नेपालको ब्याटिङ निक्कै कमजोर देखिएको थियो । हङकङ क्रिकेट क्लबमा थाइल्यान्डविरुद्ध नेपाली खेलाडीको प्रदर्शन केही सुधारिएको देखियो । एकै खेलाडीले मात्र राम्रो खेल प्रदर्शन गर्दै आएकोमा शुक्रबार ५ खेलाडीले रनको दोहोरो अंक बनाए । नेपालको स्कोर ५ रन छँदा बोल्ड भएकी रोशनी बोहरा (२ रन) मात्र क्रिजमा कमजोर देखिइन् ।
ओपनिङमा फेरि ल्याइएका ज्योति पाण्डे २६ बलमा १३ रन जोडेपछि रनआउट भइन् । उनी ८.२ ओभरमा आउट हुँदा नेपालको स्कोर ३८ रन पुगेको थियो । निर्मला शाही २० बलमा २० रन जोडेपछि एलबीडब्लू धरापमा पर्दा नेपाल ४८(२ को अवस्थामा पुगेको थियो । इन्दु बर्माले ३६ बलको सामना गर्दै २६ रन बटुलेर नेरी थापासँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरिन् ।
त्यसपछि नेरी र कप्तान रुविना क्षेत्रीले नेपालको इनिङ्स सम्हाले । नेरीले २५ बल खेल्दै एक छक्का र २ चौका प्रहार गरेर नेपालको इनिङ्समा सर्वाधिक ३२ रन जोडिन् । एक छक्का प्रहार गरेकी रुविनाले पनि आक्रमक रूपमा ६ बलमा १० रन बनाएपछि नेपालको स्कोर १०८/४ को सम्मानजनक अवस्थामा पुगेको थियो ।
रोमाञ्चक खेल
नेपाली ओपनर बलर रुविनाको पहिलो बलमा नटाकम चान्तमले छक्का प्रहार गर्दै थाइल्यान्डलाई आक्रामक सुरुवात दिलाएकी थिइन् । एक छक्का, दुई चौकासहित पहिलो ओभरमा रुविनाले १९ रन दिएकी थिइन् । लगत्तै नेपालले स्पिनरलाई ल्यायो । स्पिनमा थाई खेलाडी बल रोक्न संघर्षरत देखिए ।
आक्रामक देखिएकी चान्तमलाई ११ बलमा २३ रन बनाएको अवस्थामा निर्मलाले एलबीडब्लू आउट गरिन् । ३ ओभरमा २९/१ मा रहेको थाइल्यान्डले आठौं ओभरमा ५० रन जोडा दोस्रो विकेट गुमाएको थियो । नताथा बुचाथम (७ रन) लाई बोल्ड गरेलगत्तै अर्को बलमा रानानापर्न पादुङलार्डलाई पनि बोल्ड गरेर करुणा भण्डारी हयाट्रिक नजिक पुगेकी थिइन् । आठौं ओभरको पाँचौं बलमा १ रन दिएपछि उनी हयाट्रिबाट चुकिन् तर ओभरको अन्त्यमा सिरिन्ता साएङ्साकरोत (१८ बलमा १६ रन) लाई एलबीडब्लूमा पार्दै चार बलको अन्तरमा तीन विकेट लिइन् ।
सीता रानामगरले नारुमोल चाईवाईलाई निर्मलामार्फत क्याच गराएर थाइल्यान्डलाई ११ ओभरमा ५८/४ को अवस्थामा पुर्‍याएकी थिइन् । सीताले ११ औं ओभरको अन्तिम बलमा कप्तान सोरनाम टिपोचलाई एलबीडब्लूमा पारेर थाइल्यान्डलाई ६१/६ को अवस्थामा पुर्‍याएर नेपालको आस वृद्धि गरेकी थिइन् । नान्नपात कोचारोएन्कालाई खाता नखोल्दै करुणाले एलबीडब्लूमा पारेपछि थाई टिम ११.४ ओभरमा ६२/७ को अवस्थामा पुगेको थियो । त्यसबेला खेलमा नेपाली टिम हाबी भइसकेको थियो ।
तर, चानिदा सुथिरुआङ र वोङपाका लिएङप्रासेतले आठौं विकेटका लागि ३४ रनको साझेदारी गरेपछि खेल नेपालको हातबाट फुत्किएको थियो । वोङपाकालाई रुविनाले ११ रनमा आउट गरे पनि त्यो निक्कै ढिला भइसकेको थियो । उनले ७ बलमा ९ रन जोडेकी सुलीपर्न लाओनीलाई पनि पिचबाट हटाइन् । त्यसबेला थाइल्यान्ड १०८/९ को अवस्थामा पुगेको थियो र, उसले १९ औंं ओभरको चौथो बलमा १ रन थप्दै रोमाञ्चक जित हात पार्‍यो ।
सुथिरुआङले नटआउट रहँदै २७ रन जोडिन् । उनले २ चौका र १ छक्का प्रहार गर्दै थाई टिमको जितको आधार तय गरेकी थिइन् । उनी वुमन अफ द म्याच पनि चुनिइन् । फेरि प्रभावशाली बलिङ गरेकी करुणाले १५ रन दिएर चार विकेट लिइन् । सीता र रुविनाले २(२ तथा निर्मलाले १ विकेट हात पारे ।
‘पहिलो बलमा अनपक्षेति रूपमा छक्का प्रहार गरे । त्यसपछि खेलाडी दबाबमा आउँदा गाह्रो भयो,’ नेपाली टिमका मुख्य प्रशिक्षक राजु बस्न्यातले भने, ‘त्यो दबाब सम्हाल्न सकेन । कति बेला कस्तो खेल्नुपर्छ भन्ने अनुभवको कमजोरी खेलाडीमा देखियो । त्यसैले एक समय हातमा आइसकेको खेल पनि गुमाउनुपर्‍यो ।’ उनले थपे, ‘एसिया कपमा छनोट हुन प्रयास गर्नेछौं ।’ नेपालको फिल्डिङमा पनि समस्या देखिएको थियो ।
सन् २०११ मा भएको एसीसी वुमन्स ट्वान्टी ट्वान्टी प्रतियोगितामा २१ रनको जित हात पारेयता नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । थाइल्यान्डसँगको पहिलो खेलमा पनि नेपालले ३ विकेटको हार बेहोरेको थियो । पछिल्लो हार नेपालको लागि थाइल्यान्डसँग लगातार छैटौं असफलता हो । नेपालले थाई टिमसँग खेलेका १० मध्ये दुई खेल मात्र जितेको छ ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top