0
आश्विन २७, २०७३- नोबल पाउने भनी चर्चामा रहेका आधा दर्जन उपन्यासकार, कवि, कथाकारलाई छक्याउँदै नोबेल कमिटीले ७५ वर्षे अमेरिकी गायक, गीतकार बब डेलनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको छ । अरु साहित्यिक विधाका लेखकले पाउँदै आएको इतिहास तोडै गीततर्फ नोबेल पाउने डेलन पहिलो कलाकार/गीतकार हुन सक्ने आँकलन गरिएको छ । १८ जनाको छनोट टोलीले बिहीबार डेलनको नाम अनुमोदन गरेको थियो ।अमेरिकी संगीत परम्परामा काव्यिक अभिव्यक्ति भित्र्याएको योगदानस्वरुप डेलनलाई साहित्यतर्फको पुरस्कार दिइएको नोबेल कमिटीको वक्तव्यमा उल्लेख छ । साहित्यतर्फ नोबेल दाबेदारका रुपमा केन्याली लेखक नुगी वा थोङ, अमेरिकी आख्यानकार फिलिप रोथ, जापानी लेखक हारुकी मुराकामी, सिरियाली कवि अनुवादक एडोनिसलाई हेरिएको थियो । नोबल कमिटीको नियमानुसार ‘सर्टलिस्ट’मा को(को परेका थिए भनी ५० वर्षपछि मात्रै नाम सार्वजनिक गर्ने परम्परा छ ।
स्कटिस कवि डेलन थोमसबाट प्रभावित डेलनले आफ्नो नाम उनैबाट अनुकरण गरेका थिए । डेलनले लेखेका र गाएका गीतमध्ये ‘ब्लोइङ इन् द विन्ड’, मास्टर्स अफ् वार, अ हार्ड रेन इज् अ गन्ना फल, द टाइम्स दे आर चेन्जिङ, सब्टेरेनियन् होमसिक ब्लुज्, लाइक अ रोलिङ स्टोन लोकप्रिय छन् । तीमध्ये लाइक अ रोलिङ स्टोन सर्वाधिक चर्चित मानिएको छ ।
डेलनका गीत विद्रोह, फरक स्वर र स्वतन्त्रताको प्रतीक मानिन्छन् । मानवता, धर्म, राजनीति र प्रेम उनका मूल स्वर हुन् । आफ्नो देश अमेरिकाले भियतनाममा छेडेको युद्धको विरोधमा उनले थुपै्र गीत लेखे, गाए । रंगभेदविरोधी गीतका सर्जक डेलनले निमूखाको मानव अधिकारको पक्षमा गाएर विश्वको ध्यान आफूतिर तानेको बताउँछन् उनका फ्यान लेखक अभि सुवेदी । ‘मै हुँ भन्ने लेखकभन्दा यिनको छोटो गीत बढी शक्तिशाली छ, डेलनको कवितामै गीत, गीतमै कविता छ,’ सुवेदी भन्छन्, ‘विम्बमा औधी खेल्छन्, गाउले जीवन उनको गीतको विषय हो । साधारण मानिसको आवाज यिनको गीतमा हुन्छ । पात्रहरु निर्माण गर्ने, तिनैमार्फत् आफ्नो भन्नुपर्ने कुरा व्यक्त गर्छन् ।’
सुवेदीले एमए पढाताका २०२७ सालमा डेलनका गीत पहिलोपल्ट सुनेका थिए । स्वयम्भुको बिजेश्वरीमा फुल मुन नाइट गर्ने हिप्पीसँग मिलेर सुवेदीले डेलन सुनेका थिए । ‘धर्मरत्न यमीको घरमा गोपाल योन्जनको रिहर्सल चल्दै गर्दा हिप्पीहरु बब डेलन गाउँथे,’ सुवेदी सम्झन्छन्, ‘हामी डेलनको हाउ मेनी रोड्स गाउँदै हिड्थ्यौं ।’
डेलनले ११ वटा ग्रामी अवार्ड पाइसकेका छन् भने ओस्कर अवार्ड पनि हात पारिसकेका छन् । उनको गीतमा दार्शनिक, राजनीतिक, सामाजिक चेत पाइने भन्दै सन् २००८ मा पुलित्जर अवार्ड जुरीले उनलाई पुरस्कृत गरिसकेको छ । डेलनले पाएसँगै नोबल पुरस्कार शृंखला घोषणा यस वर्षलाई सकिएको छ । टोनी मोरिसनले सन् १९९३ को नोबेल साहित्य पाएको २३ वर्षपछि कुनै अमेरिकीले साहित्यतर्फको नोबेल पाएका थिएनन् ।
आधा दर्जन पुस्तक लेखेका डेलन चित्रकार पनि हुन् । हिपहप, रेग्गी, ब्लुजदेखि हेभी मेटल जस्ता अधिकांश जनरामा यिनको जादू चल्यो । डेलनको वर्चस्व नेपालसम्मै छ । गत मेमा उनी ७५ वर्ष पुगेको अवसरमा राजधानीको पुल्चोकमा डेलनको सम्मानमा संगीत साँझ आयोजना गरिएको थियो ।
Source: http://kantipur.ekantipur.com

Post a Comment

 
Top