0
आश्विन २९, २०७३- बैंक तथा वित्तीय संस्थाहरूले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरूले गत वर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन् । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्दती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् ।
बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सुरुमा मुद्दती र त्यसपछि बचतको पनि ब्याज बढ्दै जाने संकेत देखिएको बताए । गत वर्षको असोजमा मुद्दतीको ब्याजदर ४ प्रतिशत हाराहारी झरेको थियो । केहीअघि नागरिक लगानी कोषले ठूलो रकम ८ प्रतिशत ब्याज पाउने गरी वाणिज्य बैंकमा राखेको छ । स्रोतका अनुसार गत वर्ष सोही रकम ४ देखि साढे ४ प्रतिशत ब्याजदरमा निक्षेप गरिएको थियो । ‘व्याजदर बढेकाले केही राहत मिलेको छ,’ कोषका एक अधिकारीले भने, ‘न्यून ब्याजदर कारण गत वर्ष अवस्था नाजुक थियो ।’

कर्मचारी सञ्चय कोष, बिमा संस्थान, नागरिक लगानी कोष ठूला संस्थागत निक्षेपकर्ता हुन् । यी संस्थाहरूले आफूसँग भएको रकम वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा जम्मा गर्नुपर्छ । ठूला निक्षेपकर्ता भएकै कारण बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा यी संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ ।
तरलतामा आएको कमीसँगै कर्जा प्रवाह उच्च दरले बढेको र त्यसको तुलनामा निक्षेप दर बढ्न नसकेकाले ब्याजदर उकालो लागेको हो । गत भदौसम्म सरकारी ढुकुटीमा करिब २ खर्ब रुपैयाँ थुप्रिएको छ । सरकारी खातामा बढी जम्मा हुँदा बजारमा रकम अभाव हुने गर्छ । सरकारले विकास लक्षित पुँजीगत खर्च गर्न नसकेका कारण रकम थुप्रिएको हो । यससँगै रेमिट्यान्स पनि घट्न थालेको छ । साउनमा रेमिट्यान्स २ अर्ब रुपैयाँले घटेको थियो । यसले शोधनान्तर अवस्थालाई पनि ऋणात्मक बनायो ।
कर्जा प्रवाह वृद्धिको तुलनामा निक्षेपको वृद्धिदर कम रहेको र सरकारी खर्च नबढेकाले बैंक तथा वित्तीय संस्थामा तरलता कम भएको र बैंकहरू ब्याज बढाउन बाध्य भएको बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘अहिले बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन्,’ उनले भने, ‘कात्तिकपछि कर्जाको ब्याजदर पनि बढ्छ ।’
एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले अहिले बैंकहरूमा प्रतिस्पर्धी तबरले निक्षेपको ब्याजदर बढेको बताए । ‘अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका छन्,’ उनले भने, ‘अब विस्तारै कर्जाको दर पनि बढ्छ ।’
रकम कम हुन थालेपछि बैंकहरूले एकअर्काबाट सापटी लिने क्रम पनि बढेको छ । दसैंअघि अन्तर बैंक ब्याजदर करिब ५ प्रतिशतसम्म पुगेको थियो । पछिल्ला दुई वर्ष अत्यधिक तरलता भएका कारण यो दर एक प्रतिशत वा सोभन्दा तल थियो । पौडेलका अनुसार अन्तर बैंकदर शून्य दशमलव १ प्रतिशत पनि थियो । अन्तर बैंकको भारित ब्याजदर पछिल्लो कारोबार दिनमा ३ प्रतिशत छ । अन्तर बैंक ब्याजदर बढ्दै जानु अन्य ब्याजदर पनि बढदै जाने संकेत हो । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाबीचको यस्तो ब्याजदर झनै बढी छ । यसको अर्थ विकास बैंक र वित्त कम्पनी अझ बढी ब्याज दिएर रकम संकलन गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थामा तरलता कम हुँदै गएकाले अब सर्वसाधारणसँगै राष्ट्र बैंकलाई केही राहत पुग्नेछ । अध्यक्ष पौडेलका अनुसार सुरुमा मुद्दती त्यसपछि बचतको ब्याज बढ्ने क्रम हुन्छ । त्यसले विस्तारै कर्जाको पनि ब्याज बढाउँछ ।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top