0
कार्तिक १, २०७३- गएको शुक्रबारदेखि प्रदर्शन भएको सनी लियोनी अभिनीत ‘बेइमान लभ’ ले निकै आलोचना खेपिरहेको छ । झुर अभिनय र गन्जागोल प्लटका कारण फिल्म गतिलो नभएको समीक्षा आइरहेका छन् ।

सनीको हृष्टपुष्ट जिउडाल देखाउनमै फिल्म केन्द्रित भएको बताइएको छ । हुन त यसअघिका फिल्ममा पनि सन्नीलाई ‘सो पिस’ बनाइएको प्रतिक्रिया आएका थिए । ‘जिश्म २’, ‘रागिनी एमएमएस टु’, ‘एक पहेली लीला’ जस्ता फिल्ममा उनलाई हट एन्ड सेक्सी देखाएर फिल्म बिकाउन खोजेको आरोप निर्देशकहरूलाई लागेको थियो । राजीव चौधरी निर्देशित ‘बेइमान लभ’ ले पनि बरोबर निन्दा सहिरहेका बेला केहीले भने फिल्ममा बदलाको खण्ड निकै राम्रो भएको बताएका छन् ।

फिल्ममा सुनैनाको भूमिकामा देखिएकी सनीले राज (रजनीश दुग्गल) सँग बदला लिन्छिन् । बाजी पूरा गर्न आफूसँग शारीरिक सम्बन्ध राखेको चाल पाएपछि सुनैनाले राजविरुद्ध जाल बुन्न थाल्छे । राजकै बाबुका कारण आफ्नी आमाले आत्महत्या गरेको थाहा पाएपछि उसको बदलाको भाव अझ बलियो भएर आउँछ । उद्यमी महिलाका रूपमा प्रस्तुत सन्नीको अभिनयले तारिफ भने पाएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा बदला लिने दृश्यहरू गज्जब भए पनि अरू नै घिसिपिटी दृश्यले फिल्मको मूल मर्म फिका बनाइदिएका छन् ।

‘फिल्म हेर्दै जाँदा दर्शकले यसको मुख्य प्रसंग नै बिर्सिन्छन्,’ एक मिडियाले लेखेको छ, ‘तर, राज र सुनैनाको अन्तिम द्वन्द्व हेर्नलायक छ ।’ पत्रिकाले सनीको भूमिका सन् १९८८ को ‘खून भरी मांग’ मा रेखाजत्तिकै सशक्त भएको समेत दाबी गरेको छ ।
Source:  http://kantipur.ekantipur.com

Post a Comment

 
Top