0
आश्विन २०, २०७३- बाजुरामा दसैं मनाउने फरक परम्परा छ । धेरैजसो गाउँमा महाअष्टमीको दिन घरघरमा र शक्तिपीठहरुमा बली पुजा गरेर मनाउने चलन रहेकोछ । विजया दसैंको टीका जमरा भन्दापनि कतिपय गाउँमा महाअष्टमीको महत्व बढी मान्ने परम्परा छ । पछिल्ला वर्षहरुमा गाउँतिर विजया दशमी, टीका, जमराको महत्व समेत विस्तार हुन थालेपनि घटस्थापनाबाट सुरु हुने दसैं मंसिरसम्म चलिरहन्छ ।

अझ विदेश गएकाहरु आफ्नो जन्मथलो फर्कन्छन् । यहाँ दसैंको रौनक नै बेग्लै हुन्छ । घरपरिवार, टोल छिमेक जताततै हर्ष, उमंग छाउँछ । बाजुरा मार्तडीका बीरबहादुर अयडी भन्छन्, 'घरबाहिर गएकाहरु गाउँ आउँदै गाउँ नै रमाइलो हुन्छ ।'

महाअष्टमीको दिन कैलाशमाण्डौको नाटेश्वरी, मार्तडीको बडीमालिका लगायतका शक्तिपीठहरुमा सयौंको संख्यामा बली पुजा गर्ने चलन छ । ‘नाटेश्वरीमा पाँच सयको हाराहारीमा बोकाको बली दिइन्छ,’ मार्तडीका अयडीले भने ।

दसैंलाई डडेल्धुरामा पुरानो र नयाँ पुस्ताले आ-आफ्नैं ढंगले मनाउन थालेका छन् । पुरानो पुस्ताले देवीदेवता र कुल पुजा गरि मनाउने गरेका छन् । उनीहरु घटस्थापनादेखि सुरु भएको कुल देवता पुजामा सहभागी हुने गरेका छन् । मन्दिरको सरसफाई र लिपपोत गरेर बृद्धबृद्धाहरु घटस्थापनाको दिनदेखि नौं दिनसम्म मन्दिर परिसरमा पुजारी तथा धामीहरुका साथमा नवरात्री बस्ने गरेका छन । रतेडी पनि मनाउँछन् ।

घटस्थापना देखि नै बैतडीका मन्दिरहरु श्रद्धालुले भरिभराउ भएका छन् । गाउँ-गाउँमा मन्दिरहरुमा पूजापाठ र जात्रा चलेको छ । शक्तिपीठहरुसँगै अन्य मन्दिरहरुमा पूजाआजा र जात्रा लाग्ने गरेको हो । सदरमुकामको जगन्नाथ, त्रिपुरासुन्दरी, देहिमाण्डौंस्थित निगलासैनी, पाटनको उदयदेव, मेलौली, शिवनाथ, उदयदेव, पुरचौडी क्षेत्रको गिरेगाडा, रौलेश्वर भगवती, सन्शेर, महारुद्र, दोगाडा भूमिराज लगायतका मन्दिर श्रद्धालुले भरिएका छन् । पूजाआजा र भाकल पुरा गर्न पुर्ख्यौली थलो छाडेर गएकाहरु आएका छन् । सीमापारिको भारतीय गाउँबाट श्रद्धालुहरु आएका छन् । मन्दिरहरुमा नवरात्रीभर पूजापाठ चल्ने गरेको छ ।

‘कुल देवता र भगवती माताको श्रद्धापूर्वक नवरात्री बसेर पुजा गर्नु पर्छ,’ डडेलधुराका स्थानीय लालबहादुर ऐरले भने, ‘दशौं दिनमा देवताको स्थानमा राखिएको जमरा र फूललाई प्रसाद स्वरुप ग्रहण गर्ने चलन हो, यस अवसरमा मान्यजनबाट टीका थाप्ने र आर्शिवाद लिने चलन पनि छ ।’ उनले दसैं रमाइलो भन्दा पुजाआजाको पर्व भएको बताए ।

मेला जात्राको सुरुवात
 दसैंसँगै सुदूरपश्चिमका शक्तिपीठहरुमा लाग्नेमेला जात्राको सुरुवात पनि हुन्छ । बैतडीको त्रिपुरासुन्दरी र मैलौली भगवती, डडेल्धुराको उग्रतार, डोटीको शैलेश्वरी र दार्चुलाको मालिकार्जुन लगायतका शक्तिपीठहरुमा नवरात्रीका बेला भक्तजनहरुको ठुलो घुइँचो लाग्ने गर्छ । यी शक्तिपीठहरुमा विभिन्न तिथिमा मेला जात्रा समेत लाग्दछ । मेला जात्रामा रातभरि सुदूरपश्चिमको प्रमुख आकर्षण मानिने देउडा खेलिन्छ । अहिलेदेखि सुरु भएको मेलाजात्रा रौनकता पहाडी जिल्लाहरुमा मंसिरसम्म चल्ने गर्छ ।

बाजुराका ग्रामीण भेगमा समथर फाँटमा राँगा दौडाएर पछाडिबाट लखेटै निश्चित ठाउँसम्म पुर्‍याएर राँगो मार्छन् । दिउँसो बली पुजा गरेर रातभर भब्य जात्रा लाग्छ । रातभर देउडा खेल चल्छ । महिला र पुरुषबीच देउडामा घम्साघम्सी हुन्छ । बार्जुकोटको भुक्तोली, तोलीको पुर्वता र बाह्रविसको सेरालाबाडामा हजारौंको संख्यामा मेला हेर्न पुग्छन् । यी स्थानमा अछाम र बाझांगबाट समेत देउडा हेर्न युवायुवतीहरु आउने गरेका छन् । ‘द्वन्द्वकालमा सुस्ताएको भुक्तोलीको दसैं जात्रा अहिले फेरी पुरानै अवस्थामा पुगेको छ,’ बाजुरा गुदुखातीका वीरबहादुर रावतले भने ।

अछाम मार्कुको सान्नीकोट, ढकारीको बाझेकोट, बारलाको तिखा पातल, ओलिगाउँको कालिका मन्दिर, घुघुरकोटको नवदुर्गा मन्दिर लगायत अनेकौं देवी देवताका मन्दिरहरूमा नवरात्रभर भीड लाग्छ । देवी भगवतीका रूपमा जिल्लाभरि मातृसत्ता र स्त्री शक्ति पुजिन्छ । यी मन्दिरहरुमा राँगा, बोकाको बलि दिएर दसैं मनाउने गरिएको छ । घटस्थापना, फुलपाती, महाअष्टमी, महानवमी, विजयादशमी र पूर्णिमा सहितका दसैंका प्रमुख तिथिहरूमा यी मन्दिरहरुमा भव्य पुजा अर्चना हुने मंगलसैन नगरपालिका ५ का पुजारी ताराप्रसाद ढुंगानाले बताए । दसैंका बेला अछाम तिमिल्सैनको सैने गडा, गांज्राको डौंठेगडामा भव्य मेला लाग्ने गर्छ ।

अष्टमीका दिन ठूलो जात्राका लागि बैतडीको देहिमाण्डौंस्थित निगंलासैनी मन्दिरमा भक्तजन भरिन थालेका छन् । यहाँ घटस्थापनादेखि दैनिक पूजा हुने र अष्टमीमा राँगा र बोकाको बलि दिने चलन छ । दसैंको अष्टमीमा यो मन्दिरमा ३ सय हाराहारीमा राँगाको बलि हुन्छन् । निगंलासैनीमा कम्तीमा ६८ राँगा हुनुपर्ने मान्यता छ । निंगलासैनी लगत्तै नवमीको दिन पाटन स्थित उदयदेव मन्दिरमा ठूलो मेला लाग्छ । नवरात्रीमा ८ दिन मन्दिर बसेर पूजाआजा पछि नवमीको दिन बलि दिने चलन छ । बिजयादमशीसंगै समुदाय अनुसार अन्य मन्दिरहरुमा पूजाआजा चल्छ । खानपिन र रमाईलाको सट्टामा पूजापाठ र भाकल पुरा गर्ने चलन छ । तिहारलगत्तै त्रिपुरा सुन्दरी, मेलौली, रौलेश्वर लगायतका शक्तिपीठमा जात्रा लाग्छ ।

डडेल्धुराका दुर्गा बिष्टले अहिलेको समाजमा दसैंलाई तडक भडकको रुपमा मनाउन लागेको बताए । ‘यो तडकभडको चाड होइन’ उनले भने, ‘पुजाआजा र बलि प्रधान चाड हो ।’ उनका अनुसार यसबेला यहाका देवीदेवताका मठमन्दिरहरुमा ठुलो संख्यामा बोका र रांगाको बलि दिने चलन उहिलेदेखि नै चल्दै आएको हो ।
 
बझाङमा पनि दसैंका दिन विभिन्न ठाउमा मेलाहरु लाग्ने गर्दछन । स्थानिय भाषामा जात भनिने मेलाहरुलाई अझै दर्शनिय वनाउनका लागी पनि खेलकुद र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको स्थानियहरुले बताएका छन । तल्कोट, घचाया लगायतका ठाँउमा लाग्ने मेला हेर्नका लागी जिल्लाका विभिन्न ठाउबाट दर्शकहरु आउने गर्दछन ।
 बैतडीको निगलासैनी, उदयदेव र त्रिपुरासुन्दरीको जात्रामा भारतीय श्रद्धालुपनि धेरै आउने गरेका छन् । सीमापारि बसाई सरेकाहरु भाकल पुरा गर्न आउने गरेका हुन । अन्य समयमा मन्दिर आउन नसकेपनि दसैंमा टाढाबाट समेत आउने गरेका छन् । लामो बिदाका कारण पनि श्रद्धालुको संख्या बढी हुने गरेको छ ।

गाउँ गाउँमा खेलकुद र सांस्कृतिक कार्यक्रम
 दसैंको अवसर पारेर बझाङका विभिन्न विद्यालय र संघ संस्थाले जिल्ला भरी सास्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजनाको तयारी थालेका छन । दसैंको दिनमा देश विदेशमा रहेका सबै जना घर फर्किने भएकोले त्यहि मौकामा रमाइलो संगै चेतनामुलक सन्देश दिने हिसावले यस्ता कार्यक्रमहरु आयोजना गरिएको आयोजकहरुको भनाई छ । 
 
दसैंको दिनमा प्रर्दशन हुने सांस्कृतिक कार्यक्रमको लागी असोज दोस्रो हप्ता देखि नै गाउँ गाउँमा तयारी सुरु भएको छ । विभिन्न विद्यालय, स्थानिय युवा क्लव, बाल क्लव र सामुदायिक वनहरुले यस्ता कार्यक्रमको तयारी गरिरहेको स्थानियहरु बताउँछन । ६ वटा गाविस रहेको थलारा क्षेत्रमा मात्र १५ भन्दा बढी संघसंस्थाले यस्ता कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको पाराकाट्नेका विण्णु भण्डारीले बताए ।
 
बाल विबाह, छाउपढीप्रथा, कुलत जस्ता सामाजिक विकृतीहरु अझै पनि समाजमा व्याप्त रहेकोले सांस्कृतिक कार्यक्रम मार्फत जनचेतना फैलाउन आफ्नो विद्यालयले कार्यक्रमको तयारी गरेको मालुमेलाको भवानी निम्न माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र विस्टले बताए ।

‘गाउँभरीका मानिसहरुलाई एकै ठाँउमा जम्मा भएर भेटघाट र शुभकामना आदान प्रदान गर्ने मेसो पनि मिल्छ,’ उनले भने ‘आफ्ना ससाना नानीहरुले गित, नृत्य तथा लद्युनाटकका मार्फत दिएको सन्देशले अभिभावकको मन परिर्वतन गर्न पनि सहयोग पुग्छ । सामाजिक जागरण पैदा गर्ने यो राम्रो अवसर हो,’ यस्ता कार्यक्रमले बालबालिकाको अतिरिक्त क्षमता विकास गर्न पनि सहयोग पुग्ने उनको भनाइ छ ।

यसैगरी बाजुरामा दसैंको अवसर पारेर राँगा जुधाएर रमाइलो गर्ने अर्को रोचक चलन समेत कायमै छ । वल्लो पल्लो गाउँका थुप्रै जोडी राँगोहरु एक आपसमा जुधाएर हाराजित गराइन्छ । जित्ने राँगो र गाउँवासीको सान बेग्लै हुन्छ । जित्ने राँगाको मूल्य बृद्धिसँगै राँगा मालिक र उनको गाउँका सबैको इज्जत बढेको मानिन्छ । हार्ने राँगाको मूल्य घट्छ ।
Source: http://kantipur.ekantipur.com
 
 

Post a Comment

 
Top