हाम्रा परम्परागत खानेकुराले बजारका फेन्सी
परिकारलाई विस्थापित गर्न सक्छन् रु रिसर्च, इनोभेसन अनि सही मार्केटिङ भए,
त्यो असम्भव होइन ।
मंसिर १०, २०७३- फापरको चाउचाउ, कोदोको केक,
मकैको बिस्कुट, सख्खरखण्डको चिप्स, सिस्नोको मस्यौरा अनि भटमासको मिठाई ।
यी कुनै मल्टिनेसनल कम्पनीले बजारमा ल्याएका उत्पादन होइनन् । न त कुनै नाम
चलेको फुड इन्डस्ट्रीको प्रोडक्ट लिस्ट । यो हो राजधानीका विभिन्न कलेजमा
अध्ययनरत केही तन्नेरीको जाँगरले सिर्जित अनि नेपालमै हेला गरिएका
अन्नबालीबाट बनाइएका मीठा परिकारको लिस्ट ।
‘फुड टेक्नोलोजी पढेपछि प्राक्टिकल त गर्नैपर्छ, त्यसका लागि हामीले आफ्नै
मुलुकका परम्परागत अन्नबालीलाई चुज गर्यौं,’ कलेज अफ एप्लाइड फुड एन्ड
डेरी टेक्नोलोजीका विनय तिमल्सिना भन्छन्, ‘अरू नै चीज बनाएर पनि
प्राक्टिकल त हुन्थ्यो तर वी वान्टेड टु डु समथिङ डिफिरेन्ट ।’
तिमल्सिनाको
समूहले फापरको पिठोबाट चाउचाउ, कोदोको पिठोबाट केक र मकैको बिस्कुट बनाउन
सफल भएको छ । उनीहरूले सख्खरखण्डको चिप्स पनि बनाइसकेका छन् ।
टेस्ट र न्युट्रिसनको मात्रा मिलाएर बनाइएका यी परिकारलाई व्यावसायिक रूपमा
समेत उत्पादन गर्न सम्भव हुने तिमल्सिना र उनका साथीहरूको दाबी छ । ‘चामल र
मैदाबाट बन्ने फुड अरूबाट पनि बन्छ कि भनेर ट्राई गरेको नसोचेको सफलता
पायौं,’ फापरको चाउचाउ बनाउने समूहकै अर्का सदस्य निराकर खरेल भन्छन्,
‘हाम्रा परम्परागत खानाको महत्त्व बढाउन पनि हामीले यी परिकार बनाएका हौं
।’
तिमल्सिना र खरेल मात्र होइन, अरू क्षेत्रका नेपाली युवायुवतीले जस्तै फुड
टेक्नोलोजी पढ्नेले पनि अन्वेषण गरिरहेका छन् । ‘अरू क्षेत्रकाले जस्तै
हामीले पनि इनोभेसन गर्ने हो, फुड सेक्युरिटीका लागि नयाँ र टेस्टी फुडको
आइडिया त ल्याउनुपर्यो नि,’ ललितपुर भ्याली कलेजकी पार्वती श्रेष्ठ
भन्छिन्, ‘त्यसैले हामीले प्राक्टिकल गर्दा पनि फरक गर्न खोज्छौं ।’
श्रेष्ठको समूहले सिस्नोको मस्यौरा, ओरेन्ज पाई, ओरेन्ज केक र कर्न चिप्स
बनाएको छ । ‘पढेर जानेको ज्ञानबाट लोकल फुडको युटिलाइजेसन गर्न खोजिरहेका
छौं,’ श्रेष्ठले भनिन्, ‘गर्ने त योङ जेनेरेसनले नै त हो नि ।’
अहिले हरेक दिन करिब १५ सय नेपाली युवायुवती कामको खोजीमा विदेश उड्छन् ।
तिनैले पठाएको पैसाबाट परिवारवालाचाहिँ महँगा विदेशी खानेकुरा किनेर
खान्छन् ।
हाम्रै गाउँघरमा फल्ने कोदो, फापरजस्ता अन्नलाई धेरैले कुअन्न
भन्दै महत्त्व दिंदैनन् । पद्मश्री इन्टरनेसनलमा पढ्ने प्रकृति ढकाललाई यो
प्रवृत्ति साह्रै मन पर्दैन । ‘हामीले कोदो, फापरको न्युट्रेसन भ्यालु
बुझेकै छैनांै,’ उनी भन्छिन्, ‘त्यसैलाई बुझाउने प्रयासमा हामी लागेका छौं,
एक हदसम्म सफल पनि भइसक्यौं ।’
ढकाल र उनको समूहले विभिन्न खाले ‘हाइब्रिड’ परिकार विकास गर्न
सुदूरपश्चिमबाट कोदो र फापर झिकायो । ‘हामीले मुगुबाट अर्गानिक कोदो र फापर
ल्याएका हौं,’ ढकालले भनिन् । मुगुबाट ल्याएको कोदो, फापर र विभिन्न
जिल्लाका ग्रामीण भेगबाटै ल्याइएको मकैबाट उनीहरूले कुकिज बनाएका छन् ।
‘फापरको चिउरासमेत बनाएका छौं,’ ढकालकै समूहका आभास रायले भने, ‘यो हाई
न्युट्रिसियस फुड हो ।’
बिटेक पढ्ने यही समूहका विद्यार्थीले भटमासबाट ‘सोया मिल्क’ समेत बनाएको छ ।
बजारमा पाइने खाले तोफुका लागि उनीहरूले सोया मिल्क उत्पादन गरेका हैनन् ।
किन त रु ‘मिठाई बनाउन,’ समूहका अर्का सदस्य महेश घिमिरे भन्छन्, ‘हामीले
सोयाबिनबाट मिठाई बनाएका छौं ।’ उनीहरूले बनाएको मिठाईमा डेरी प्रोडक्ट
मिसाइएको छैन । जसले गर्दा यो भेगनले समेत खान सक्छन् । ‘धेरैजसो मिठाईमा
दूध कुनै न कुनै रूपमा मिसाइएको हुन्छ,’ घिमिरेले भने, ‘यसमा छैन, भेगनका
लागि पनि हुन्छ ।’
उनीहरूले त प्राकृतिक तरिकाबाटै फर्मेन्टेसन गरी नेपालमै पाइने विभिन्न
कच्च पदार्थबाट रम र वाइन बनाएका छन् । जिन्जर क्यान्डी उनीहरूले विकास
गरेको अर्को नेपाली परिकार हो । ‘हामी भन्नचाहिँ कृषिप्रधान देश भन्छौं,’
ढकालले भनिन्, ‘तर आफ्नै बारीमा उब्जने अन्नबालीबाट समेत इनोभेटिभ फुड
बनाउँदैनौं ।’
उता गोल्डेनगेट इन्टरनेसनल कलेजका विद्यार्थीको समूहले काभ्रेबाट चुत्रो
ल्याएर वाइन बनाएको छ । उनीहरूले गाउँबाटै ल्याएको भटमासलगायत चीज मिसाएर
किनेमा समेत बनाएका छन् । त्यत्ति मात्र होइन, उनीहरूले सुन्तलालाई लामो
समयसम्म जस्ताको जस्तै राख्न सकिने ‘प्रिजरभेटिभ’ को विकास पनि गरेका छन् ।
‘हामी सुन्तलालाई लामो समयसम्म राख्न सक्दैनौं,’ गोल्डेन गेटकी प्रतिभा
पराजुलीले भनिन्, ‘कोल्ड स्टोर र रेफ्रिजेरेटर नभएको स्थानमा समेत
सुन्तलालाई लामो समय राख्न सकियोस् भनेर हामीले यस्तो प्रिजरभेटिभ बनाएका
हौं ।’
प्राक्टिकलका साथमा थ्योरी पढाइ हुने फुड टेक्नोलोजीका धेरै विद्यार्थीले
यस्तै इनोभेटिभ आइडिया निकाल्ने गरेका छन् । वेस्टर्न फुडलाई हाम्रै बारीमा
फल्ने हेला गरिएको अन्नबालीलाई कच्चा पदार्थका रूपमा कसरी प्रयोग गर्न
सकिन्छ भनेर धेरैले नयाँ–नयाँ प्रयोग गरेका छन् ।
समूहमा गरिने यस्तो काममा
धेरैले सफलता पाएका छन् । तर, युवा युवतीले विकास गरेका यी रेसिपीको
आधारमा फुड प्रोडक्सन गर्न खासै कसैले चासो दिएका छैनन् ।
केही महिनाअघि राजधानीमा भएको फुड एक्जिबिसनमा धेरै युवायुवतीले आफ्ना
उत्पादन प्रदर्शनमा समेत राखे । यसले स्थानीय उत्पादनबाटै विश्व बजारमा जान
सक्ने रेसिपी विकास गर्न सक्ने सम्भावना देखाएको बताउँछिन पद्मश्री कलेजकी
ढकाल । ‘हामीले भृकुटीमण्डपमा भएको एक्जिबिसनमा सबै फुड देखायौं,’ उनले
भनिन्, ‘कृषि मन्त्रीले समेत आएर हौसला बढाइदिनुभयो, तर हामीले डेभलप गरेको
रेसिपी कुनै इन्डस्ट्रीले उत्पादन नगरुञ्जेल व्यावसायिक रूपमा यी फुड
पुग्न गाह्रो छ ।’
Post a Comment