काठमाडौँ
— प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस
नियन्त्रणका बारे पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५
बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कांग्रेसले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
कोभिड-
१९ महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई
नियन्त्रण गर्न सरकार चुकेको कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ । सीमा
नाकाहरूको व्यवस्थापनमा सरकार सुरुमै चुकेको भन्दै कांग्रेसले त्यसमा सरकार
गम्भीर नभएको पनि लेखेको छ ।
मुलुकको स्वास्थ्य संरचनाले धान्नै
नकस्ने गरी संक्रमित बढेका र त्यसले जनताको अवस्था नाजुक बनाएको कांग्रेसको
भनाइ छ । बढ्दो बिरामीको चापसँगै विशेष गरेर अक्सिजन र आइसीयु बेडको अभाव
देखिन थालेको कांग्रेसको भनाइ छ । निषेधाज्ञाको व्यवस्थापन सही ढंगले
नगर्दा संक्रमण फैलिएको पनि कांग्रेसको भनाइ छ ।
'सरकारको
नेतृत्वपंक्तिको अगुवाइमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटन
कार्यक्रमहरूले संक्रमण द्रूत गतिमा बढ्न मद्दत गरेको छ,' विज्ञप्तिमा
लेखिएको छ ।
प्रधानमन्त्री
ओलीलाई ज्ञापनपत्र बुझाउन सभापति देउवा, महामन्त्रीहरू डा. शशांक कोइराला र
पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशसरण महत, कांग्रेस प्रमुख सचेतक
बालकृष्ण खाँण, नेताहरू कृष्णप्रसाद सिटौला, रामशरण महतलगायत सिंहदरबार
पुगेका थिए ।
प्रधानमन्त्रीलाई कांग्रेसले बुझाएको ध्यानाकर्षणपत्रः
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।
विषयः ज्ञापन-पत्र ।
कोभिड—१९
महामारीको पहिलेको चरण भन्दा यो चरण कयौं गुणा भयावहसिद्ध भएको छ । सीमा
नाकाहरूको समयमा नै समुचित व्यवस्थापन गर्ने तर्फ सरकार गम्भीर नुहँदा पनि
यो अवस्था सिर्जना भएको हो । संक्रमण दर र मृत्यु दर उच्च गतिमा बढेको छ ।
जेठ ५ गते अपरान्हसम्म ५,६५७ जनाको दुःखद् मृत्यु भैसकेको छ । कोरोना
भाइरसको अझ बढी घातक नयाँ नयाँ भेरियन्ट देखा परिरहेका छन् । युवाहरूमा
देखिएको बढ्दो संक्रमण र मृत्युदर थप चिन्ताको विषय भएको छ । संक्रमित
संख्या ४,८०,४१८ (परीक्षण भएका मध्ये ३९ प्रतिशत) पुगिसकेको छ । पीसीआर
परिक्षणको न्यून संख्याको कारण यस्तो संक्रमण उल्लेखित संख्या भन्दा धेरै
बढी हुन सक्ने अनुमान गरिएको छ । अहिले कोभिड—१९ को संक्रमण समुदाय स्तरमा र
छोटो समयमा देशको दुर्गम गाउँहरूमा समेत फैलिएको छ ।
संक्रमितहरूको
उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ ।
बढ्दो संक्रमणसँगै स्वास्थ्य सुविधा नभएका ठाउँहरूको स्थिति नाजुक बनेको छ
भने केही स्वास्थ्य सुविधा भएका ठाउँहरूमा पनि बाहिरबाट आउने बिरामीहरूको
अत्याधिक चापले सेवा पुर्याउन असम्भव भएको छ । बढ्दो बिरामीको चापसँगै
विशेष गरेर अक्सिजन र आइसीयू बेडको तड्कारो अभाव देखिन थालेको छ । सीमा
नाकाहरूमा यथेष्ट परिक्षणको अभाव, होल्डिड सेन्टर र क्वारेन्टाइन
केन्द्रहरूको समुचित व्यवस्था नहुँदा देशभित्र द्रुत गतिमा संक्रमण प्रवेश
गरेको छ । निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि
संक्रमित क्षेत्रहरूबाट संक्रमण नभएका क्षेत्रहरूमा चाँडो संक्रमण फैलदो
छ । सरकारको नेतृत्वपंक्तिको अगुवाईमा गत समयमा भएका भीडभाड, तडकभडक र
उद्घाटन कार्यक्रमहरूले संक्रमण दु्रत गतिमा बढ्न मद्दत गरेको छ ।
संक्रमित
बिरामीहरूलाई टाढा—टाढाबाट सीमित सहरी क्षेत्रहरूमा रहेका अस्पतालहरूमा
पुर्याउन यातायात सुविधाको समस्यासँगै हेलिकोप्टर लगायतका यातायातका
साधनको चर्को मूल्यले सामान्य नागरिकलाई अस्पतालमा पुग्न असम्भव भएको छ भने
अस्पतालमा पुगेका बिरामीहरूले चर्को अस्पताल खर्च व्यहोर्न पर्ने स्थितिले
आम नागरिकहरू स्वास्थ्य सेवा पहुँच भन्दा बाहिर भएको छ । गत सालको बजेटमा
देशको स्वास्थ्य संरचनालाई व्यापक विस्तार गर्ने घोषणा भएता पनि नगन्य
सुधार भएको कारण उपचारको आवश्यकताको तुलनामा आपूर्ति अत्यन्त न्यून देखिएको
छ । स्वास्थ्य मानव संसाधन आवश्यकता भन्दा कम हुँदा स्वास्थ्य सेवा गम्भीर
रुपमा प्रभावित भएको छ । स्वास्थ्यकर्मीहरूलाई घोषणा गरिएको वीमा र जोखिम
भत्ताको समयमा सुनिश्चितता नहुँदा सेवामा अहोरात्र खट्ने स्वास्थ्यकर्मी,
सफाईकर्मीहरूमा उत्साह थप्न सकिएको छैन ।
ट्रेसिङ र त्यसका
आधारमा लक्षित पीसीआर परीक्षणको अभावमा संक्रमितहरूको संख्या निकै बढी भएको
सहजै अनुमान गर्न सकिन्छ । उपचार पहुँचको अभावमा मृत्यु हुनेहरूको संख्या
पनि सार्वजनिक गरिएको संख्या भन्दा बढी छ । उचित मनोवैज्ञानिक परामर्श,
रोकथाम र उपचारका प्राथमिक सूचना र सल्लाहले धेरै संक्रमितहरूलाई गम्भीर
बिरामी भएर अस्पताल जानु पर्ने अवस्थाबाट रोक्न सक्छ । तर त्यस्तो परामर्श र
हटलाइनको समुचित व्यवस्था सरकारले नगर्दा समस्या झन विकराल बनेको छ ।
अहिलेको दोस्रो चरणको संक्रमण मात्र होइन देशले तेस्रो चरणको संक्रमण
ब्यहोर्न पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । यस्तो अवस्थामा आम
नागरिकहरूलाई कोभिड—१९ महामारीबाट छुटकारा दिलाउन भ्याक्सिनको चाँडो भन्दा
चाँडो व्यवस्था मिलाउन आवश्यक छ । तर यस्तो संवेदनशील काममा पनि कमिशनको
चक्करले ढिलासुस्ति आउनु अत्यन्त दुःखद कुरा हो ।
देशको
अधिकांश ठाउँहरूमा गरिएको निषेधाज्ञाले नागरिकहरूको आर्थिक—सामाजिक जीवन
कष्टकर हुँदैछ । निषेधाज्ञाको समय बढाउँदै जाने अवस्था आयो भने श्रमिक
वर्ग, साना व्यवसायी र न्यून आय भएका नागरिकहरू ठूलो आर्थिक—सामाजिक संकटमा
पर्ने निश्चित छ । पहिलो चरणको संक्रमणमा लामो लकडाउन ब्यहोरेको देशको
अर्थतन्त्र यसपालाको निषेधाज्ञाले झन् कमजोर बनेको छ । विश्व स्वास्थ्य
संगठन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ—संस्था र नागरिक समाजले नेपाल
सरकारलाई प्रभावकारी रोकथाम र उपचारका उपायहरू अवलम्बन गर्न सुझाउँदै आएका
छन् । नेपाली कांग्रेसले पहिलो चरणको संक्रमणदेखि नै सरकारलाई कोभिड—१९ को
महामारीलाई हल्का रुपमा नलिन र आवश्यक समाधानका उपाय अवलम्वन गर्न सचेत
गराउँदै आएको हो । तर सरकारको नेतृत्वपंक्ति स्थितिको वास्तविकतालाई
आत्मसात गर्नुको सट्टा आत्मप्रशंसामै मग्न रहेको हाम्रो निष्कर्ष छ ।
यस्तो
परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, संवेदनहीनता र अर्कमण्यता
जिम्मेवार छ । सरकार न विगतका गल्तीबाट सिक्छ, न नेपाली कांग्रेस तथा अन्य
सरोकारवालाहरूले दिएको सुझाव र सल्लाहलाई आत्मसात गर्छ । स्वास्थ्य
मन्त्रालयमा पूर्वाग्रही किसिमले प्राविधिक स्वास्थ्य सचिवको स्थान खाली
राखिएको छ र स्वास्थ्य मन्त्रालयको प्रभावकारितालाई कमजोर गरिएको छ । कोभिड
संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको
छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको
पुनरावृत्ति अहिले पनि देखिन थालेको छ ।
नेपाली कांग्रेस
जनताको दुःख कम गर्न पहिलो चरणको संक्रमणको बेलामा जस्तै अहिले पनि सक्रिय
छ । तर सरकारसँग राज्यको साधन, स्रोत र संयन्त्र छ । हामीले त्यसको पूर्ति
गर्न सक्ने कुरा भएन । यो अवस्थामा हामी फेरि पनि सरकारलाई यो संकटलाई
रोक्न गम्भीर भएर काम गर्न माग गर्दछौं । नेपाली कांग्रेस कोभिड—१९ को
संक्रमण रोकथाम र उपचारका लागि वृहत कार्ययोजना सहित निम्न कार्य गर्न
सम्माननीय प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गर्दछ ।
१.
हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको
संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आम जनतालाई खोपको
सुनिश्चितता गरियोस् । यसका लागि कुटनैतिक पहल तीव्र पारियोस् । खोप
आपूर्ति गर्ने व्यवस्था विचौलिया रहित र पारदर्शी ढंगबाट गरियोस् ।
२.
पहिलो चरणमा स्वास्थ्य सामाग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार
तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिशनतन्त्रको सम्बन्धित
निकायहरूबाट स्वतन्त्र रुपमा छानविन गर्ने वातावरण सुनिश्चित गरियोस् ।
३.
हाल देखिएको अक्सिजनको चरम अभावलाई हटाउन अक्सिजन कन्सेनट्रेटर, अक्सिजन
प्लान्ट र अक्सिजन सिलिण्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी
वितरणको व्यवस्था मिलाइयोस् ।
४. देशका हरेक जिल्लाहरूमा
आवश्यकता अनुसार अस्पताल बेड, अक्सिजन, आइसियु र भेन्टिलेटर सहितको अस्पताल
र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरियोस् ।
५.
संक्रमणको तेश्रो लहरले बालबालिकाहरू समेत गम्भीर रुपमा प्रभावित हुने
विज्ञहरूले प्रक्षेपण गरिरहेको स्थितिमा बालबालिकाहरूलाई संक्रमणबाट
जोगाउने विशेष सचेतना अभियान चलाइयोस् । साथै संक्रममित हुने सम्भावनालाई
ध्यानमा राखी छुट्टै आई.सि.यू. बेड लगायत आवश्यक उपचार पूर्वाधार तयार
गरियोस् ।
६. कन्ट्याक्ट ट्रेसिङको आधारमा बढी भन्दा बढी
पीसीआर परिक्षणको व्यवस्था गरियोस् । यस्तो परिक्षण हरेक जिल्लाहरूमा गर्ने
व्यवस्था मिलाइयोस् । स्वाब संकलनका लागि घुम्ति टोलीको व्यवस्था गरी छिटो
परिक्षणको नतिजा दिने व्यवस्था मिलाइयोस् ।
७. निजी
अस्पतालहरूले उपचार शुल्क र हेलिकोप्टर कम्पनीहरूले रेस्क्यू सेवा शुल्क
अत्याधिक लिने गरेको गुनासो व्याप्त छ । यसले गर्दा निम्न आय भएका दूरदराज
क्षेत्रका कोरोना संक्रमित नागरिकहरूको उपचार अत्यधिक महँगो हुन गई अकालमा
मृत्यु हुने स्थितिलाई दृष्टिगत गर्दै यस्ता शुल्कहरूलाई न्यायोचित गर्न
सरकारले नियमन र सहुलियतको व्यवस्था लागू गरियोस् । निम्न आय भएकाहरूलाई
निःशुल्क उपचारको व्यवस्था गरियोस् ।
८. अक्सिजन लगायत अन्य आवश्यक औषधीहरूको आपूर्तिमा देखिएको कार्टेलिङ, कालाबजारी र जम्माखोरीलाई तत्काल रोकियोस् ।
९.
कोभिड—१९ रोकथाम र उपचारका साथै कोभिड प्रभावित निम्न आय भएका आम नागरिक,
श्रमिक वर्ग र श्रमजीवी पत्रकार, साना र मध्यम स्तरका व्यवसायीहरूको जीवन
निर्वाहको आवश्यकताहरूलाई लक्षित गरी आर्थिक राहत प्याकेजको व्यवस्था
गरियोस् । उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुर्नकर्जा
सुविधा र व्याजमा सहुलियत दिने व्यवस्था मिलाइयोस् ।
१०.
गत बजेटमा स्वास्थ्य पूर्वाधारको व्यापक विस्तार गर्ने घोषणा भए पनि
उपलब्धी नगन्य भएकोले हरेक प्रदेशमा सुविधा सम्पन्न अस्पताल र देशको हरेक
जिल्लामा न्यूनतम सुविधायुक्त स्वास्थ्य पूर्वाधारको सुनिश्चितता गरियोस् ।
११.
आइसोलेसनमा रहेका संक्रमितहरूको मनोबल उच्च राख्न स्वास्थ्य तथा
मनोवैज्ञानिक परामर्श दिने र उनीहरूको जिज्ञासाहरूलाई सम्बोधन गर्न हरेक
जिल्लामा स्वास्थ्य परामर्श सेवा हटलाइनको व्यवस्था गरियोस् ।
१२.
प्राविधिक स्वास्थ्य सचिवको तत्काल नियुक्ति गरियोस् । कोभिड—१९ संकट
व्यवस्थापन केन्द्रको वर्तमान संरचना असफल भएकोले प्रभावकारी संयन्त्रको
व्यवस्था मिलाइयोस् । प्रदेश सरकारहरूको कोभिड—१९ संक्रमण रोकथाम र उपचार
संरचनालाई मजवुत गरियोस् ।
१३ स्थानीय निकायहरूलाई आवश्यक
साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट
ट्रेसिङ, संक्रमितहरूको आइसोलेसन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको
पहुँचमा पुर्याउने व्यवस्थाका लागि जिम्मेवारी दिइयोस् ।
१४.
सीमा नाका र अन्तर्राष्ट्रिय हवाई अड्डाबाट आवत—जावतलाई पीसीआर परिक्षण र
अन्य कोभिड—१९ मापदण्डको सुदृढ व्यवस्थापनका आधारमा नियमन गरियोस् ।
विदेशमा जाने श्रमिकहरूको पीसीआर परिक्षणमा गरिएको कार्टेलिङको अन्त्य
गरियोस् ।
१५. थप संक्रमण फैलिन नदिन र नागरिकहरूलाई
संक्रमणबाट बचाउन मास्क अनिवार्य लगाउने, सावुन पानीले हाँत धुने, भौतिक
दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरूलाई कडाईका साथ लागू
गर्न अनुगमन संयन्त्र मजवुत गरियोस् ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति
प्रकाशित : जेष्ठ ६, २०७८ १२:२४