0

 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो । 

निर्वाचन आयोगमा प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार एक उजुरीको निवेदन प्राप्त भएको जानकारी दिए । उनले भने, 'एउटा उजुरीको निवेदन दर्ता भएको । त्यसको अध्ययन हुन्छ । उजुरीमा उल्लेख भएका विषयको अध्ययन गरेपछि अन्य कार्य अघि बढ्छ ।'

प्रधानमन्त्री र शिक्षामन्त्रीले वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको लागि जारी गरिएको मौन अवधिमा प्रचार गरेर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै कांग्रेसले आयोगमा उजुरी दर्ता गराएको हो ।

'प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) पार्टीको अध्यक्षको हैसियतले र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको छ,' उजुरीमा भनिएको छ, 'निर्वाचन आचार संहिता पालना गर्नु हामी सबैको साझा कर्तव्य हो र स्वतन्त्र स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । आचारसंहिताविपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजय गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्तविपरीत भएको छ ।'

वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त रहेको एक सिटमा आज मतदान भइरहेको छ । 

Source: https://ekantipur.com/news

Post a Comment

 
Top